२८ दिनसम्म सीएमसीबाट कुनै प्रतिक्रिया नआए सम्झौता अनुसार ठेक्का तोडिने तनहुँका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले बताए । फागुन ४ गतेभित्र काममा नफर्किए सम्झौताअनुसार ठेक्का तोड्ने प्रक्रिया अघि बढ्ने उनले स्पष्टपारे ।
काठमाडौं । तनहुँ हाइड्रो लिमिटेडले इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमसी) को जवाफ पर्खिरहेको छ । १४० मेगावाट क्षमताको आयोजनाको प्रवद्र्धक तनहुँले सीएमसीलाई २८ दिनभित्र काममा फर्कन समय दिएको छ । समय सीमा फागुन ४ गते सकिने छ ।
तनहुँले माघ ४ गते सीएमसीलाई पत्राचार गरी २८ दिनभित्र आयोजनाको काम सुरु गर्न भनेको छ । २८ दिनसम्म सीएमसीबाट कुनै प्रतिक्रिया नआए सम्झौता अनुसार ठेक्का तोडिने तनहुँका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले बताए । फागुन ४ गतेभित्र काममा नफर्किए सम्झौताअनुसार ठेक्का तोड्ने प्रक्रिया अघि बढ्ने उनले स्पष्टपारे । ‘ऊ काममा फर्किएन भने फेब्रुअरी भित्र ठेक्का तोडेर पुनः विश्वव्यापी बोलपत्र आह्वान ग्लोबल टेन्डर काम सुरु हुनेछ,’ थिकेले क्यापिटल नेपालसँग भने । मेलम्चीसंग ठेक्का तोडिएपछि उसले सुरक्षाको कारण देखाउदै काममा फर्कन नमानेको उनले बताए ।
मेलम्ची खानेपानी विकास समितिले सीएमसीसंग भएको ठेक्का बिहीबार तोडेको छ । मेलम्चीले स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा उसले राखेको २ अर्ब ५६ करोड रुपैयाँ जमानत समेत जफत गरेको छ ।
सीएमसीले तनहुँसँग आयोजनाको नदी फर्काउन अस्थायी बाँध, मूल बाँध र पहुँच सडक निर्माणका लागि २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ ठेक्का सम्झौता गरेको हो । ठेक्का सम्झौता भए पनि तनहले उसलाई परिचालन रकम (मोबिलाइजेसन पेस्की) दिएको छैन ।
दोस्रो लटको काम गर्न चीनको सिनो हाइड्रो कर्पोरेशनले आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान, सञ्चालनलगायत दोस्रो प्याकेजका लागि झन्डै १७ अर्ब रुपैयाँ अर्थात ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता लिएको छ ।
दुवै प्याकेजको सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएकोमा यो कार्यतालिका पनि प्रभावित हुने भएको छ । लट ३ अन्तर्गत विद्युत गृहदेखि भरतपुरसम्म विद्युत प्रसारणका लागि आवश्यक २२० केभी क्षमताको प्रसारणलाइनको कामको ठेक्का भारतको केइसी इन्टरनेसनल लिमिटेडले जिम्मा पाइसकेको छ ।