डन गोरखालीको अन्तरकथा– पशुपतिको बालुवा, डिस्कोमा खुकुरी प्रहारदेखि काठमाडौं मलसम्मको यात्रा

लामो समयसम्म बालुवाखानी चलाएर गोरखालीले मनग्य सम्पत्ति आर्जन गरे । उनैको बालुवाखानीको सिको गर्दै पछि अन्य गुन्डाहरु पनि बालुवाखानीतर्फ लागे । बालुवाखानीबाट मनग्य सम्पत्ति कमाएका गोरखालीले पछि आएर याक एन्ड यति होटलमा रहेको रोयल क्लब भाडामा लिएर चलाए ।

काठमाडौं । लामो समयदेखि गुन्डागर्दीमा सक्रिय राजु गोरखालीको सम्बन्ध प्रहरी प्रशासन र राजनीति क्षेत्रमा बलियो छ । जसका कारण गोरखालीले आफ्नो अवैध धन्दालाई दिन दुईगुणा रात चौगुणा बढाउँदै आएका छन् ।

दुई दशकदेखि काठमाडौंको चाबहिल क्षेत्रलाई आधार इलाका बनाएर गुन्डागर्दीमा उदय भएका ५१ वर्षीय राजेन्द्रबहादुर गोरखाली उर्फ राजु गोरखालीले सुरुमा पशुपतिक्षेत्र विकास कोषको जग्गा भाडामा लिएर बालुवाखानी सञ्चालन गरे ।

लामो समयसम्म बालुवाखानी चलाएर गोरखालीले मनग्य सम्पत्ति आर्जन गरे । उनैको बालुवाखानीको सिको गर्दै पछि अन्य गुन्डाहरु पनि बालुवाखानीतर्फ लागे । बालुवाखानीबाट मनग्य सम्पत्ति कमाएका गोरखालीले पछि आएर याक एन्ड यति होटलमा रहेको रोयल क्लब भाडामा लिएर चलाए ।

२०५९ सालमा दरबारमार्गमा रहेको तत्कालीन बेबीलोन डिस्को सञ्चालक राजन लिम्बुलाई रोयल डिस्कोमा तरबार हानेर गोरखालीले हत्या गरे । लिम्बुको हत्याको अभियोगमा अदालतमा मुद्दा चलिरहेको थियो, गोरखाली जेलमै थिए । जेलबाट छुट्न गोरखालीले लिम्बुको हत्या भएका बेला आफू अस्पतालमा रहेको भन्दै अस्पतालको कागजपत्र पेस गरे । त्यसपछि अदालतले उनलाई रिहा गर्यो ।

गोरखालीले नै लिम्बुलाई खुकुरी हानेको प्रहरीमा बलियो प्रमाण हुँदाहुँदै सो समयमा आफू अस्पतालमा भएको भन्दै अस्पतालको कागजपत्र देखिएपछि प्रहरीले फेरि अनुसन्धान थाल्यो र अन्ततः नक्कली कागजपत्र बनाएको तथ्य फेला पर्यो । गोरखाली फेरि जेल परे ।

प्रहरीले गोरखालीलाई फेरि किर्ते कारोबारमा मुद्दा चलायो । लिम्बुको हत्या अभियोगमा कैद भुक्तान गरी गोरखाली जेलमुक्त भए । गोरखाली जेलभित्रैबाट पनि आफ्नो समूहमार्फत व्यवसाय चलाउँदै आएका थिए । जेलबाट छुटेलगत्तै गोरखालीले आफ्नो पुरानै आधार इलाकामै रहेर गुन्डागर्दीमा सक्रिय हुन थाले ।

गोरखालीलाई नजिकबाट चिन्ने र उनको अनुसन्धान गरेका एक प्रहरी अधिकृतका अनुसार उनी जेलबाट छुटेलगत्तै चाबहिल क्षेत्रका ठूला भवनमा भएका पार्किङ र व्यापारिक केन्द्रहरुलाई आफ्नो काबुमा राख्न थाले । यसबीचमा उनी चाबहिलमा रहेको हेल्पिङह्यान्ड अस्पताल, ओम अस्पताल, चाबहिलस्थित चुच्चेपाटीमा रहेको केएल टावरमा प्रवेश गरे । दुइटा अस्पतालमा गोरखालीको सेयरसमेत छ ।

स्रोतका अनुसार हेल्पिङह्यान्ड तथा ओम अस्पतालमा भएका मेडिकल पसलमा उनको केही लगानी छ । त्यहाँ उनले पार्किङ् पनि चलाउन थाले । त्यसैगरी केएल टावरको पार्किङ चलाए । चाबहिल क्षेत्रमा जरा गाडेका गोरखालीको बिस्तारै अन्त पनि कार्यक्षेत्र फैलिँदै गयो ।

गोरखालीले केही वर्षअघि काठमाडौंको हात्तीसारक्षेत्रमा जयनेपाल हलनजिकै एक रेस्टुरेन्ट चलाए । त्यसपछि गोरखालीको आँखा कर्मचारी सञ्चय कोषको भवन सुनधारास्थित काठमाडौं मलमा पर्यो । केही मारवाडी व्यापारी र केही पूर्वप्रहरीका उच्च अधिकारीको आर्थिक सहयोग र तत्कालीन माओवादी तथा हालका नेकपाका प्रभावशाली नेताको सहयोगमा उनले काठमाडौं मलको ठेक्का आफ्नो पक्षमा पारे ।

काठमाडौं मलको व्यापार राम्रै चलेको थियो । जब गोरखाली त्यहाँ छिरे अहिले काठमाडौं मलको हाल बेहाल भएको छ । व्यापारीको बिल्लीबाठ भएको छ । सोही काण्डले अहिले गोरखालीलाई प्रहरी थुनामा पुर्याएको छ ।

राजधानीका व्यापारीलाई धम्क्याएर विगत तीन महिनादेखि अवैध असुली गरिरहेको आरोपमा महाशाखाले गोरखालीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहका अनुसार उनले राजधानीका मलहरूमा व्यापार गर्ने ६ जना व्यापारीको पसलमा जबरजस्ती ताला लगाउने, खाली गर्न लगाउने र अन्यलाई भाडामा उपलब्ध गराइरहेका थिए ।

विभिन्न अपराधमा जेल परेका गोरखालीका दाहिना
प्रहरी अधिकारीका अनुसार गोरखालीले आफ्ना सहयोगीमार्फत काठमाडौं मलका ब्यापारीलाई धम्क्याउँदै रकम असुल गर्दै आएका थिए । देवेन्द्र खत्री उर्फ गुरुभाई, विजेन्द्र शर्मा उर्फ बब, सन्तोष मल्ल तथा कैलाश भण्डारी गोरखालीका मुख्य सहयोगी हुन् ।

गोरखालीको निर्देशनमा उनीहरुले नै काठमाडौं मलका व्यापारीबाट मनलाग्दी भाडा असुल्ने र नदिए सटरमा ताला लगाउने जस्ता कार्य गर्दै आएका थिए । गोरखालीको इन्ट्री हुनुअघि मलभित्र एक व्यापारीले एउटा सटर सटरको प्रति महिना ३० हजार भाडामा लिएर फेन्सी पसल सञ्चालन गर्दै आएका थिए । गोरखालीले ३० हजारबाट बढाएर ९० हजार बनाए । ६ महिनासम्म प्रति महिना ९० हजारका दरले भाडा तिरेपछि उनले सकेनन् । पसल बेच्न खोजे तर गोरखालीका सहयोगीले बेच्न दिएनन् । पसलै हड्पेर ताला लगाए । अहिले ती व्यापारी प्रहरीमा उजुरी दिने तयारीमा छन् ।

पक्राउ गर्दा जब एसएसपीनै गोरखालीको गाडीमा
प्रहरी स्रोतका अनुसार राजु गोरखाली एक पटक पक्राउ पर्दा नेपाल प्रहरीका तत्कालीन एक एसएसपी सोही गाडीमा सवार थिए । गोरखालीलाई पक्राउ गर्न गएका प्रहरीले बहालवाला एसएसपीलाई सँगै देखेपछि प्रहरीमै त्यतिबेला तरङ्ग छाएको थियो । शर्मासँग मात्र हैन, गोरखालीको नेपाल प्रहरीमा राम्रै पकड छ । प्रहरीका एक डीआईजीका अनुसार नेपाल प्रहरीमा तल्लो तहदेखि माथिल्लो तहसम्म गोरखालीको च्यानल बलियो छ ।

ती अधिकारीका अनुसार गोरखालीका विरुद्ध यसअघि पनि पटक पटक उजुरी पर्ने गरे पनि पहुँचका कारण उनलाई समाउने प्रहरीले आँट गरेको थिएन । बालुवाखानी चलाउँदा प्रहरीमा जमेको गोरखालीको दोस्ती पछि आएर झनै बलियो भएको ती डीआईजीले बताए ।

गोरखालीको राजनीतिक शक्ति
प्रहरी प्रशासन मात्र हैन गोरखालीको राजनीतिक क्षेत्रमा पनि उत्तिकै पहुँच छ । तत्कालीन माओवादीका नेता हालका नेकपाका नेता कृष्णबहादुर महरा र नेकपाका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि गोरखालीको बाक्लै उठबस रहेको स्रोतले जानकारी दियो । त्यसैगरी नेकपाका अन्य नेताहरुसँग पनि उनको सम्बन्ध बलियो छ ।

स्रोतका अनुसार गोरखालीले कर्मचारी सञ्चय कोषको भवन आफ्नो पक्षमा पार्न महराको सहयोग लिएका थिए । महराले सिफारिस गरेकै कारण उनले सो ठेक्का हात पारेको स्रोतले क्यापिटल नेपाललाई जानकारी दियो ।