चिज बनाउन दूधको अभाव

ढुवानीसँगै दूधमा हुने मिसावटका कारण गाईको शुद्ध दूध अभावमा छथर जोरपाटीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्थामा चिज उत्पादनमा समस्या भएको छ ।

धनकुटा जिल्लाका पकेट क्षेत्रमा खोलिएका उद्योगमा दूध अभावका कारण चिज उत्पादनमा समस्या भएको छ । ढुवानीसँगै दूधमा हुने मिसावटका कारण गाईको शुद्ध दूध अभावमा छथर जोरपाटीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्थामा चिज उत्पादनमा समस्या भएको छ ।

जिल्लाका विभिन्न २३ व्यावसायिक गाईपालन केन्द्र र घर घरमा पालेका गाईभैँसीबाट मासिक एक लाख लिटरभन्दा बढी दूध उत्पादन हुने सहकारी संस्थाको अनुमान छ । कुल उत्पादनको ४० प्रतिशत दूध जिल्लामा खपत भए पनि बाँकी ६० प्रतिशत दूध बाहिरी जिल्ला निकासी हुने गरेको पशु विकास कार्यालय धनकुटाले जनाएको छ । चिज उत्पादनका लागि अवाश्यक गाईको शुद्ध दूध अभावमा दैनिक एक हजार ६०० लिटरबाट मात्र चिज उत्पादन हुने संस्थाका प्रमुख योगेन्द्रबहादुर भट्टराईले बताए । एक सय ८० किलोभन्दा बढी चिज बनाउने क्षमता भएको उद्योगमा गाईको दूध अभाव भए पनि हाल ११५ किलो चिज उत्पादन हुने गरेको भट्टराई बताउँछन् ।

दुई वर्षअघि ३० लाख रुपैयाँको लागतमा सञ्चालन भएको महालक्ष्मी नगरपालिकाको चित्रेमा रहेको महालक्ष्मी डेरी उद्योगमा गाईको शुद्ध दूधको अभावका कारण चिज उत्पादनमा समस्या भएको उद्योगी रामबहादुर पौडेलले बताए । चिज उद्योगले गाईको शुद्ध दूध नपाउँदा कम गुणस्तरको चिज उत्पादन हुने भएकाले उत्पादन क्षमता भएर पनि कम उत्पादनमा नै चित्त बुझाउनुपरेको पौडेल बताउँछन् । घर घरबाट दूध ढुवानी गर्न नसकेका कारण मिसावटका कारण सङ्कलित दूधबाट चिज बनाउन नसकेपछि छुर्पी बनाएर बेच्नुपर्ने बाध्यता भएको पौडेलको भनाइ छ । किसानको घरसम्म ढुवानी खर्च प्रतिलिटर तीन रुपैयाँभन्दा बढी हुने भएकाले समस्या बनेको छ । दूध सङ्कलन केन्द्रमा शुद्ध दूध नपाउँदा चिज उत्पादनमा समस्या भएको हो ।

उद्योगका लागि दैनिक चाहिने २ हजार ५ सय लिटर शुद्ध दूध सङ्कलन गर्न चुनौती व्यहोर्नु परेको छ । स्थानीय बजारमा प्रतिलिटर ६० रुपैयाँ पर्ने दूधको मूल्य किसानले ३२ देखि ३५ रुपैयाँ पाउने गरेका छन् । चिज उत्पादनमा कम चिल्लो पदार्थ भएको दूधमात्र उपयुक्त मानिने जिल्ला पशु कार्यालयका निमिक्त प्रमुख झवीन्द्र मरासिनीले बताए । मरासिनीका अनुसार गाईको शुद्ध दूधमा ३.५ देखि ४ प्रतिशतसम्म चिल्लो पदार्थ चिजका लागि उपयुक्त मानिन्छ । भँैसीको दूधमा सातदेखि आठ प्रतिशतसम्म चिल्लो पदार्थ हुने भएकाले कम गुणस्तरको मानिने मरासिनीको भनाइ छ । गुणस्तरीय चिज उत्पादन गर्न सामान्यतया एक महिनादेखि ४५ दिनसम्म लाग्छ । ढुवानी अभावमा किसानको घरबाट दूध ल्याउन नसकेपछि दर्जनौँ सङ्कलन केन्द्रबाट दूध ल्याउनुपरेका कारण शुद्ध दूध पाउन निकै समस्या भएको उद्योगी बताउँछन् ।

जिल्लाका दुग्धजन्य उद्योगबाट १३ मेट्रिक टन चिज, १६ मेट्रिक टन छुर्पी, १२ मेट्रिक टन घ्यू र २० मेट्रिक टन पनिर गरी दुई करोड ८९ लाख रुपैयाँ बराबरको दुग्धजन्य परिकार निकासी हुने गरेको कार्यालयको तथ्याङ्क छ ।