प्रणय दिवसमा ‘सौराहा खाना महोत्सव’

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) र रेवान महिला समूहको आयोजना तथा क्षेत्रीय होटल सङ्घ, युनाइटेड हात्ती सञ्चालन सहकारी, सौराहा पर्यटन व्यवसायी समूह र साना पर्यटन व्यवसायी समूहको सहआयोजनामा सो महोत्सव हुन लागेको आज सौराहामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रणय दिवसको अवसर पारेर यही माघ २८ गतेदेखि फागुन ३ गतेसम्म चितवनको रत्ननगरस्थित सौराहामा १२औँ सौराहा खाना महोत्सव (फुड फेस्टिबल) हुने भएको छ ।

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) र रेवान महिला समूहको आयोजना तथा क्षेत्रीय होटल सङ्घ, युनाइटेड हात्ती सञ्चालन सहकारी, सौराहा पर्यटन व्यवसायी समूह र साना पर्यटन व्यवसायी समूहको सहआयोजनामा सो महोत्सव हुन लागेको आज सौराहामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

माघ २८ देखि फागुन ३ गतेसम्म सञ्चालन हुने १२औँ संस्करणको महोत्सवको तयारी तीव्र पारिएको कार्यक्रम संयोजक कपिल रेग्मीले जानकारी दिनुभयो । महोत्सवमा स्वदेशी तथा विदेशी खानाका साथै थारुहरुको मौलिक खाना प्रदर्शन हुने आयोजकले जनाएको छ । महोत्सवमा आउने पर्यटकका लागि रेवानमा आबद्ध होटल तथा रेस्टुरेन्टमा खान र बस्नका लागि मेनुमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । सौराहामा यो समय पर्यटकको मौसम नहुने भएकाले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि खाना महोत्सव आयोजना हुँदै आएको छ ।

महोत्सवको टिकट बिक्रीबाट आएको आम्दानीमध्ये १० प्रतिशत वृद्धवृद्धा र अपाङ्गलाई तथा १० प्रतिशत रकम खेल मैदान व्यवस्थापनमा खर्च गरिने ४० प्रतिशत रकम घुम्ती शौचालय निर्माणका लागि, पाँच प्रतिशत सौराहाको सरसफाइ र केही रकम उज्यालो सौराहा कार्यक्रममा सहयोग गरिने रेवानका अध्यक्ष गोकर्ण गिरिले जानकारी दिए । महोत्सवमा कूल रु ७० लाख आम्दानी हुने र रु ५५ लाख खर्च हुने तथा दैनिक ३० हजारभन्दा बढी पर्यटक आउने अनुमान गरिएको रेवानका पूर्व अध्यक्ष लालबहादुर भट्ट, राजनले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय कलाकारसहित स्थानीय कला संस्कृति प्रदर्शन गरिने जनाइएको छ ।

महोत्सव अवधिभर साङ्गीतिक कार्यक्रमबाहेक वेटर रेस प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, महिलाबीच म्युजिकल चेयर, बालबालिकाबीच बेलुन फुटाउने प्रतियोगिता, उत्कृष्ट खाना प्रतियोगिता, घैला शृङ्गार प्रतियोगितालगायत कार्यक्रम राखिएको छ ।