तस्करको हराएको सुन प्रहरीको ससुरालीमा

गाडीमा भएको सुनमध्ये ५ किलो ६ सय ग्राम सुन तिरुवाले आफ्नै घरको गोठमा खाल्डो खनेर लुकाए त्यसपछि १८ किलो सुन सुरजले ससुरालीमा लुकाए भने बाँकी सुन गाडीमै छाडिदिए । त्यसको केही दिनपछि केही भारतीय व्यक्ति आएर तिरुवाले नेपाल ल्याएको गाडी लिएर गए । भारत पुगेपछि सुन नदेखेपछि ती भारतीय फेरि आएर तिरुवाको खोजी थाले ।

काठमाडौं । बिहीबार कन्चनपुरको पुनर्वासबाट बरामद भएको २४ किलो सुन भारतीय सुन तस्करको भएको पुष्टि भएको छ । साथै उक्त सुन भरियाले गायब बनाएर नेपाल ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, सीआईबी, महानगरीय अपराध महाशाखा र स्थानीय प्रहरीको संयुक्त टोलीले बिहीबार पुनर्वासबाट लक्ष्मण तिरुवा र सुरज तिरुवालाई २४ किलो सुनसहित पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।

अनुसन्धान अधिकारीका अनुसार भारतको राजधानी नयाँ दिल्लीबाट तस्करीको ३२ किलोभन्दा बढी सुन बोकेर तिरुवा मङ्सिर पहिलो साता अयोध्या हान्निए । भारतीय सुन तस्करका भरिया तिरुवाले सुन भएको गाडी अयोध्या लिएर छाड्नुपर्ने थियो । तस्करीले तिरुवालाई सो कामको जिम्मेवारी दिएर अयोध्या पठाए ।

तिरुवा अयोध्या त पुगे । तर सुन छाडेनन्, सुनले भरिएको गाडी लिएर नेपाल फर्किए । अनुसन्धान अधिकारीका अनुसार तिरुवा गएको मङ्सिर ७ गते रुपन्देहीको सुनौली नाका हँुदै तिरुवा कैलाली पुगे ।

अनुसन्धान अधिकारीका अनुसार तिरुवा पहिल्यैदेखि भारतीय सुन तस्करीका भरिया थिए, गाडीको विभिन्न भागमा सुन राखिएको हुन्थ्यो, सुन तस्करले यो गाडी फलानो ठाउँमा छाडेर आउनू भन्थे, तिरुवा सोहीअनुरुप गाडी भनेको ठाउँमा छाड्दै आएका थिए ।

पछि गाडीमा सुन हुने गरेको तिरुवालाई मेसो भयो र अयोध्या पुर्याउने ३२ किलो सुन नेपाल ल्याएर आए । र तिरुवाले आफ्ना दाजु सुरज तिरुवालाई जानकारी गराए । सुरज नेपाल प्रहरीका जवान हुन् ।

गाडीमा भएको सुनमध्ये ५ किलो ६ सय ग्राम सुन तिरुवाले आफ्नै घरको गोठमा खाल्डो खनेर लुकाए त्यसपछि १८ किलो सुन सुरजले ससुरालीमा लुकाए भने बाँकी सुन गाडीमै छाडिदिए । त्यसको केही दिनपछि केही भारतीय व्यक्ति आएर तिरुवाले नेपाल ल्याएको गाडी लिएर गए । भारत पुगेपछि सुन नदेखेपछि ती भारतीय फेरि आएर तिरुवाको खोजी थाले ।

त्यसपछि उनका दाजु सुरजले आफ्नो भाइ हराएको भन्दै महानगरीय प्रहरी वृत्त सोहखुट्टेमा उजुरी दिए । सुरजकै उजुरीका आधारमा प्रहरीले अनुसन्धान थाल्यो । त्यसअघि नै भारतीय सुन तस्करको सुन लुटेर तिरुवा नेपाल आएको प्रहरीले सुइँको पायो र प्रहरीले तिरुवाको खोजी तीव्र पारेको थियो ।

सुन भारतीयहरुको भन्ने कुरा खुल्यो, नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक डीआईजी नीरज शाहीले भने, ‘सुन हामीले राजस्वमा बुझाएका छौं, बाँकी अनुसन्धान हँुदै छ । हामीलाई सुरुमा मान्छे हराएको खबर थियो, मान्छे खोजी गर्दै जाँदा सुन भेटियो,’ डीआईजी शाहीले भने ।