कहाँ छन् ‘इन्टरपोल’ रेड नोटिसका ९७ नेपाली ?

देशभित्र अपराध गरेर देश छाडेर अन्य देशमा भागेका अपराधीलाई पक्राउ गर्न सम्बन्धित देशको प्रहरीले इन्टरपोलको सहयोग लिने गरेको छ । इन्टरपोल नेपालले २९ जना नेपाली र २ जना विदेशी गरी ३१ जनाको नाममा रेड नोटिस जारी गरेको छ । त्यसैगरी इन्टरपोल नेपालले ३४ जना नेपालीको नाममा डिफ्युजन नोटिस जारी गरेको छ ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)ले ९७ जना नेपालीको नाममा रेडकर्नर नोटिस जारी गरेको छ । इन्टरपोलको रेड नोटिसमा ९७ जना नेपाली १ सय ९४ देशका प्रहरीको मोस्ट वान्टेड सूचीमा छन् । उनीहरु जहाँ भए पनि एक दिन पक्राउ परेरै छाड्छन् ।

देशभित्र अपराध गरेर देश छाडेर अन्य देशमा भागेका अपराधीलाई पक्राउ गर्न सम्बन्धित देशको प्रहरीले इन्टरपोलको सहयोग लिने गरेको छ । इन्टरपोल नेपालले २९ जना नेपाली र २ जना विदेशी गरी ३१ जनाको नाममा रेड नोटिस जारी गरेको छ । त्यसैगरी इन्टरपोल नेपालले ३४ जना नेपालीको नाममा डिफ्युजन नोटिस जारी गरेको छ ।

विभिन्न अपराधमा संलग्न भएर प्रहरी कारवाहीबाट भागेका र अनुसन्धानको क्रममा देशबाहिर रहेकाहरु नेपालीलाई झिकाउन उनीहरुलाई नेपाल प्रहरीको एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल मुख्यालयले रेड नोटिसमा राखेको हो ।

इन्टरपोल नेपाल पछिल्लो सयममा निकै सक्रिय छ । केही अघिका वर्षमा इन्टरपोलबारे खासै कसैलाई जानकारी थिएन । प्रहरीले पनि इन्टरपोलको खासै फाइदा लिएको देखिँदैन, तर पछिल्ला वर्षहरुमा इन्टरपोल नेपालको सक्रियताका कारण देशमा अपराध गरेर भाग्नेहरुको मनोबल गिरेको छ ।

कुन अपराधमा कति ?
ठगी– ७ जना
हत्या– ९ जना
जबर्जस्ती करणी– १ जना
वन्यजन्तुसम्बन्धी– २ जना
अवैध सुन ओसारपसार– ११ जना
सरकारी कागजात किर्ते– १ जना
नक्कली मुद्रा– १ जना
भीओआईपी– १ जना
मानव ओसारपसार– ३ जना
अपहरण– १ जना

नेपाल प्रहरीको इन्टरपोल शाखाले ३४ जना नेपालीका नाममा डिफ्युजन नोटिस जारी गरेको छ । अनुसन्धानकैै क्रममा आरोपी देशबाहिर रहेको जानकारी प्रहरीलाई भयो भने त्यस्ता व्यक्तिको निगरानी राख्न डिफ्युजन नोटिस जारी गरिन्छ । प्रहरी तथ्याङ्कअनुसार नेपाल प्रहरीले जारी गरेको रेड नोटिसमा बसैभन्दा बढी अवैध सुन ओसारपसारमा छन् । त्यसैगरी विभिन्न व्यक्तिको हत्यामा संलग्न ९ जनाका नाममा रेड नोटिस जारी भएको छ । त्यसैगरी विभिन्न बैङ्क तथा वित्तीय अपराध र विभिन्न ठगीमा ७ जनाका नाममा जारी गरिएको छ ।

कोको छन् रेड नोटिसमा ?

पवनकुमार कार्की– नेपालको क्यापिटल मर्चेन्ट बैङ्किङ एण्ड फाइनान्स डुबाएर अमेरिका गएर डिपार्टमेन्ट स्टोर खोलेर बसेका छन् । नेपाल प्रहरीको आग्रहमा कार्कीलाई इन्टरपोलले २०१५ को डिसेम्बरमा रेडकर्नर नोटिसमा राखेको थियो ।

भूपेन्द्र खड्का– विभिन्न ६ जना व्यक्तिलाई विदेश पठाइदिने भन्दै ४५ लाख रुपैयाँ ठगी गरेर भागेका खड्काको नाममा २००६ अगस्टमा रेडकर्नर नोटिस जारी भएको हो ।

भक्तबहादुर लामा– विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट ३१ करोडभन्दा रकम उठाएर फरार भएपछि नेपाल प्रहरीको आग्रहमा लामालाई इन्टरपोल मुख्यालयले २००६ मा रेड नोटिसमा राखेको थियो ।

विष्णुबहादुर लामा– भक्तबहादुरसँग मिलेर ३१ करोडभन्दा बढी ठगी गरेकै मुद्दामा उनको नाममा २००७ मा रेडकर्नर नोटिस जारी भएको थियो ।

रामबहादुर तामाङ – वैदेशिक रोजगार ठगी । तामाङलाई इन्टरपोलले अगस्ट २००७ मा रेडकर्नर नोटिसमा राखेको थियो ।

केशव दर्लामी मगर– उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटाको अपरणमा संलग्न मगरलाई इन्टरपोलले २००८ को सेप्टेम्बरमा रेड कर्नर नोटिसमा राखेको थियो ।

फकिर रियाज– मे २००८ मा रुपन्देहीमा तीर्थ बोहराको हत्यामा संलग्न रियाजलाई इन्टरपोलले जुलाई ३०, २००८ मा रेड कर्नर नोटिसमा राखेको थियो ।

अङ्गबहादुर बोहोरा (वसन्त)– ६ वर्षीया बालिका बलात्कार गरी फरार बोहरालाई इन्टरपोलले २००९ मा रेडकर्नर नोटिसमा राखेको थियो ।

रामकुमार यादव– हत्या/अपहरण, सिरहाको अयोध्या नगरका गङ्गाप्रसाद यादवको हत्या तथा अपहरण काण्डमा फरार यादवलाई प्रहरीले २०११ मा रेडकर्नर नोटिस जारी गरेको हो ।

पशुपतिनाथ शुक्ला – बैङ्किङ ठगी

एमडी सकिल हुसेन– २०१३ मा सप्तरीमा हत्यापछि फरार रहेका हुसेनलाई इन्टरपोलले १९ जुन २०१५ मा रेडकर्नर नोटिसमा राखेको थियो ।

वकेन्द्रबहादुर सिंह– हत्या । काम्दा–८ बाजुराका शेरबहादुर रोकायालाई अगस्ट २९, २०१५ मा हत्या गरी फरार थिए । उनलाई इन्टरपोलले डिसेम्बर २०१५ मा रेड कर्नर नोटिसमा राखेको थियो ।

जीवनबहादुर अधिकारी– कास्कीको सिद्ध गाविसका शिवराज थापालाई हत्या गरी फरार थिए । उनलाई इन्टरपोलले २०१६ मा रेड कर्नर नोटिसमा राखेको थियो ।

त्यसैगरी पछिल्लो वर्षमा ११ जना अवैध सुनको ओसारपसारमा प्रहरीले हरिशरण खड्कालगायतलाई रेड नोटिसमा राखेको छ ।
त्यसो त नेपालीहरू स्वदेशमा मात्र होइन, विदेशमा समेत अपराध गरी अन्तर्राष्ट्रिय कुख्यातिको सूचीमा रहेको देखिएको छ ।
इन्टरपोलको वेबसाइटमा रहेको तथ्याङ्कअनुसार चोरी, ठगी, हत्या, वन्यजन्तुको चोरी सिकारी, बलात्कार जस्ता गम्भीर अपराधमा ६३ जना नेपाली छन् ।

कुन देशले कति नेपालीको नाममा जारी गर्यो ?

भारतबाट – २८ जना
अमेरिकाबाट – ५ जना
बेलारुसबाट – १ जना
यूएईबाट १६ जना
कतारबाट – ११ जना
साउदी अरेवियाबाट ३ जना
पोर्चुगलबाट – १ जना
बहराइनबाट १ जना

अमेरिकाले रेड नोटिसमा राखेको कुनै नेपाली नेपालमा पक्राउ परेमा अमेरिकालाई नै बुझाउनुपर्ने हुन्छ । तर त्यसका लागि देशको प्रचलित कानुनको भने ख्याल गर्नुपर्छ ।

सम्बन्धित देशको कानुनी प्रक्रिया पूरा गरी नोटिस जारी गर्ने देशलाई बुझाउनुपर्छ ।

इन्टरपोलको नोटिसमा रहेकाहरुको पासपोर्ट विवरण इन्टरपोल सदस्य राष्ट्रका प्रहरी अध्यागमनसँग हुन्छ । रेड नोटिस जारी गरेका व्यक्तिहरु कुनै एक देशबाट अन्य देशमा जाँदा र प्रहरीको सिस्टममा देखापरेका बेला प्रहरीले नियन्त्रणमा लिएर नोटिस जारी गर्ने देशलाई खबर गर्छ ।

के हो रेड नोटिस ? किन हुन्छ जारी ?

सूचना र प्रविधिको विकाससँगै अपराध पनि अन्तर्राष्ट्रियस्तरमा फैलिँदै गयो । अपराधीहरु एक देशमा अपराध गरेर अर्को देशमा सर्न थाले । यसरी बढेको अपराधको भौगोलीकरणसँगै समन्वय र सहकार्यका लागि इन्टरपोल गठन भएको हो । मुख्यगरी विभिन्न देशमा लुकेर बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरका प्रहरी संगठनभित्र सहकार्यका निम्ति अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलको सन् १९२३ मा गठन गरिएको हो ।

सन् १९९७ मा आबद्ध भएको नेपाल इन्टरपोलको सयौं सदस्य हो । इन्टरपोलमा हालसम्म १९० देश सदस्य छन् । इन्टरपोलले सम्बन्धित देशको प्रहरी सङ्गठनको सिफारिसमा रेड कर्नर नोटिस जारी गर्छ । अदालतबाट मुद्दा फैसला भई अपराधी लुकिछिपी भागे वा लामो समय फरार भए, त्यस देशले इन्टरपोललाई रेडकर्नर नोटिस जारी गर्न अनुरोध गर्छ ।

सोहीअनुसार इन्टरपोलका सदस्य राष्ट्रहरूलाई जहाँ भए पनि पक्राउ गरी कानुनी कारबाहीका लागि बुझाउन आग्रहसहितको फोटोसहित सूचना प्रवाह गरिन्छ । इन्टरपोलको आग्रहमा अपराधीलाई सम्बन्धित देशका प्रहरीले निगरानी गरिरहेका हुन्छन् । सोहीअनुरूप खोजी कार्य हुन्छ ।

कुन नोटिसको के काम ?

रेड नोटिस – नोटिस फरार अभियुक्त खोज्न, कुनै पनि अपराध गरेर देशबाहिर गएका र अदालतबाट दोषी ठहरिएका व्यक्तिलाई पक्राउ गर्न जारी गरिने नोटिसलाई रेड नोटिस भनिन्छ ।

एल्लो नोटिस – हराएका व्यक्तिको खोजी गर्न इन्टरपोलमार्फत जारी गरिने नोटिसलाई एल्लो नोटिस भनिन्छ । कुनै देशबाट हराएको व्यक्तिको विवरण उक्त नोटिसमार्फत सदस्य राष्ट्रका सबै प्रहरीलाई पुग्छ, फेला परेको खण्डमा खोजी गर्ने देशका प्रहरीलाई खबर गरिन्छ ।

डिफ्युजन नोटिस – प्रहरी अनुसन्धानका क्रममा देश यदि कोही व्यक्ति देश छाडेर भाग्यो अथवा अनुसन्धानमा बोलाउँदा अटेर गर्यो र मुलुक बाहिर छ, त्यस्ता व्यक्तिलाई निगरानी गर्न जारीप् गरिने नोटिसलाई डिफ्युजन नोटिस भनिन्छ ।

ब्लु नोटिस – कुनै अपराधीबारे जानकारी दिनुपरे जारी गरिने नोटिसलाई ब्लु नोटिस भनिन्छ । त्यस्ता व्यक्तिको पूर्ण विवरणसहित इन्टरपोल सदस्य राष्ट्रमा सर्कुलर गरिएको हुन्छ ।

ग्रिन नोटिस – अपराधीको कार्यशैली जानकारी दिन जारी गरिने नोटिसलाई ग्रिन नोटिस भनिन्छ । कुनै व्यक्ति अपराधी हो भन्ने प्रहरीलाई यकिन भयो । तर उसको अन्य सञ्जाल पक्राउ गर्नु छ भने त्यसलाई निगरानी गर्न यो नोटिस जारी गरिन्छ ।

ब्ल्याक नोटिस – सनाखत हुन नसकेको शवबारे जानकारी दिन जारी गरिने नोटिसलाई ब्ल्याक नोटिस जारी गरिन्छ । जस्तै कुनै अन्य देशका नागरिक नेपालमा आयो उसको मृत्यु भयो । तर सनाखत हुन सकेन भने त्यस्तो व्यक्तिको हुलियासहित विवरण राखेर नोटिस जारी गरिन्छ ।

अरेन्ज नोटिस – हतियारबारे जानकारी दिन परेमा इन्टरपोलले अरेन्ज नोटिस जारी गर्छ । कुनै देशबाट हतियार लिएर कुनै व्यक्ति अर्को देश जाँदै छ, त्यसको पछिल्लो सञ्जाललाई पक्राउ गर्न बाँकी छ, भने एक देशले अर्को देशलाई सोही नोटिसमार्फत जानकारी गराउछ ।

इन्टरपोल नेपालको सक्रियता बढ्यो

श्रीमती, सासुससुरासहित ७ जनाको हत्या गरी कतार पुगेका सप्तरीका मोहम्मद सकिल हुसेनलाई इन्टरपोलको सहयोगमा नेपाल झिकाइएको हो । त्यसैगरी सनम हत्या र ३८ सय किलो सुन काण्डका आरोपी बिनु श्रेष्ठलाई पनि इन्टरपोलको सहयोगमा प्रहरीले नेपाल ल्याइएको छ ।

२०७३ पुस ४ गते रुपन्देहीका युवासङ्घ अध्यक्ष दुर्गा तिवारी हत्यामा संलग्न तुलबहादुर सिँजालीलाई ७४ पुसमा कतारबाट नेपाल झिकाइयो । त्यस्तै ७४ फागुन २१ गते लोडु डिमेलाई भारतबाट नेपाल ल्याइयो, वन्यजन्तु तस्करीमा अदालतबाट सजाय तोकिएका डिमे भारतमा लुकिछिपी बस्दै आएका थिए ।

त्यसैगरी ६९ जेठ १८ गते ललितपुरको यूएन पार्कमा हत्या गरिएका सर्वोच्चका न्यायाधीश रणबहादुर बमलाई गोली हान्ने सुटर रामेछाप खनियापानीका सञ्जय स्माइली मगरलाई साउदीबाट नेपाल ल्याइयो । इन्टरपोलको सहयोगमा उनलाई ७२ भदौ ६ मा नेपाल ल्याइएको थियो ।

नेपालबाट भागेका अपराधीलाई पक्राउ गर्ने र नेपालमा आएका विभिन्न देशका अपराधीलाई पक्राउ गरी बुझाउने मात्र होइन, एनसीबीले सबै क्षेत्रमा आफ्नो सहभागिता जनाउँदै आएको छ । नेपालबाट हराएका वा चोरी भएका १ लाख ९० हजारभन्दा बढी नेपाली राहदानीदेखि विभिन्न कागजपत्रको खोजी गर्न अध्यागमनसँग एनसीबीले सहकार्य थालेको इन्टपोल शाखाका प्रमुख एसपी उमेश जोशी बताउँछन् । इन्टरपोल सदस्य राष्ट्रका सबै देशमा यो विवरण पठाइएको छ । माइन्ट डिभाइसमार्फत विभिन्न विमानस्थल र बोर्डरमा चेकजाँच गरिन्छ ।

त्यसैगरी पछिल्लो समयमा नेपालको समन्वयमा अपराध रोकथामबारे विभिन्न तालिम पनि सञ्चालन भएका छन् । केही महिनाअघि यूएईमा भएको इन्टरपोलको सभामा पनि नेपाल प्रहरीको कार्यको प्रशंसासमेत भएको थयो । इन्टरपोलको सहयोगमा पछिल्लो समयमा केही राम्रा काम भए, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने, ‘हामीले यसलाई बढाउँदै लग्यौं भोलीका दिनमा अपराध गरेर भाग्नेहरुको मनोबल गिर्नेछ । नेपालमा अपराध गरेर विभिन्न मुलुक पुगेका व्यक्तिलाई पक्राउ गरी नेपाल ल्याएका छौं । यत्ति हो भनेको बेला नहुन सक्छ, इन्टरपोलमा नोटिस भएका व्यक्ति उम्कन सक्दैनन् ।’

अन्तर्राष्ट्रिय आपराधिक प्रहरी सङ्गठन इन्टरपोल विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन हो । यसको स्थापना अस्ट्रियाको भियानामा सन् १९२३ मा भएको हो । यसले अन्तर्राष्ट्रिय अपराधलाई रोकथाम तथा प्रतिरोध गर्ने मिसनमा लागेका सम्पूर्ण संगठन, प्रशासन तथा सेवाप्रदायकलाई अन्तर सीमा प्रहरी सहकार्य, समर्थन र सहयोग उपलब्ध गराउँछ ।

नेपालसहित इन्टरपोलमा १९० राष्ट्र संलग्न छन् । यसको मुख्यालय १९८९ देखि फ्रान्सको ल्योनमा छ । यसका अङ्ग्रेजी, फ्रेन्च, स्पेनिस र अरबी गरी चार वटा आधिकारिक भाषा प्रयोगमा छन् । इन्टरपोलले आफ्ना सदस्य मुुलुकहरु तथा अभियोजन अधिकारीहरुलाई अनुसन्धानात्मक स्रोत संसाधन उपलब्ध गराउँदै आएको छ ।

राष्ट्रिय केन्द्रिय ब्युरो एनसीबी काठमाडौं नेपाललाई इन्टरपोलको एक सयौं सदस्यका रूपमा १९६७ सेप्टेम्बर २७ मा क्योटोमा आयोजना भएको ३६ औं साधारणसभा अधिवेशनले मनोनयन गरेको थियो ।