ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस !

काभ्रेका टिपर चालक बेनाबहादुर लामाले कागजपत्रको साटो ट्राफिक प्रहरीको हातमा एक सय रुपैयाँ थमाए, त्यसपछि लामालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त ठिमीको जिम्मा लगायो ।

काठमाडौं : गत पुस १३ गते काठमाडौंको पेप्सिकोलास्थित मनहरा पुलमा ट्राफिक प्रहरीको जाँच चलिरहेको थियो । जाँचकै क्रममा बा ४ ख ६६१९ नम्बरको टिपरलाई ट्राफिक प्रहरीले रोक्यो र कागजपत्र माग्यो । काभ्रेका टिपर चालक बेनाबहादुर लामाले कागजपत्रको साटो ट्राफिक प्रहरीको हातमा एक सय रुपैयाँ थमाए, त्यसपछि लामालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त ठिमीको जिम्मा लगायो ।

त्यसैगरी गएको पुस १६ गते बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ख ९४६९ नम्बरको यात्रुवाहक बस नियमित जाँचका क्रममा नागढुङ्गाबाट रोकियो । बसको पछाडिको डिक्कीभित्र ठूलो परिमाणमा भन्सार छलीका विभिन्न सामग्री भेटिए । ट्राफिक प्रहरीले भन्सार छलीका सामग्रीसहित चालकलाई नियन्त्रणमा लिन खोज्यो, अनि चालक बुटवलका रामबहादुर सुवेदीले ट्राफिकलाई खल्तीबाट १५ सय रुपैयाँ निकालेर ट्राफिक प्रहरीलाई थमाए, त्यसपछि ट्राफिकले सुवेदीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगायो ।

यी त केही उदारण मात्र हुन्
सडक ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई घुस दिने २० जना सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कअनुसार गएको साउनयता मात्र ट्राफिक प्रहरीलाई घुस दिने २० जना सवारी चालक पक्राउ परेका छन् ।

सडक जाँचका क्रममा चालकसँग सवारीसाधनको कागजपत्र माग्दा ट्राफिक प्रहरीलाई घुस लिएर उम्कन खोज्ने त्यस्ता चालकलाई नियन्त्रणमा लिएर कारबाहीका लागि प्रहरीको जिम्मा लगाउने गरेको महानगरीय ट्राफिक प्रमुख एसएसपी वसन्त पन्तले बताए ।

‘चेकिङमा रहेका ट्राफिक प्रहरीले सवारीसाधनको कागजपत्र माग्छन्, चालकले बोकेका हुँदैनन् कारबाही गर्न खोज्यो, मिलाऊ भन्दै सय रुपैयाँ निकालेर ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्न खोज्छन्,’ एसएसपी पन्तले भने ।

आर्थिक चलखेलमा लाग्ने प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्ने सँगठनको नीति छ, त्यहीअनुसार कारबाही पनि भएको छ । एसएसपी पन्तले भने, ‘ड्युटीमा रहेका प्रहरीलाई घुस दिन खोज्ने पनि कानुनी दायरामा आउनुपर्छ, त्यस्ता चालकलाई कारबाही थालेपछि केही सुधार आएको छ’, उनले भने, ‘घुस खाने ट्राफिकलाई कारबाही गर्छौं । तर घुस दिनेलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाउने ट्राफिक प्रहरीलाई त्यसको विगत हेरेर पुरस्कृत गर्छौं,’ एसएसपी पन्तले भने ।

उनका अनुुसार चालकले ट्राफिक प्रहरीलाई सयदेखि एक हजार रुपैयाँसम्म घुस दिन खोज्छन् । त्यसमा कारबाहीमा पर्ने अधिकांश टिपर चालक, लामो दूरीका यात्रुवाहक बस चालक र मोटरसाइकल चालक छन् ।