आत्महत्या गर्नेहरुको कारण खोज्दै प्रहरी

काठमाडौं प्रहरीको तथ्याङ्कअनुसार गएको साउनयता मात्र १ सय ५९ वटा आत्महत्या भएका घटना प्रहरीमा दर्ता भएका छन् । गएको वर्षको यो अवधि ६ महिनामा ३ सय ४९ ओटा आत्महत्या भएको प्रहरीको तथ्याङ्कले देखाउँछ । यसअनुसार गएको वर्षभन्दा चालू आर्थिक वर्षको ६ महिनामा आत्महत्याका घटना बढी भएका छन् ।

गत असोज १३ गते काठमाडौंको कपनमा डेरा गरी बस्ने ओखलढुङ्गा लिखुबृन्दा गाउँपालिकी २६ वर्षीया प्रकृति राईले कोठामै झुन्डिएर आत्महत्या गरिन् ।

प्रकृतिले आत्महत्या गरेको खबर श्रीमान् प्रकाश खत्रीले प्रहरीलाई खबर गरे, प्रहरी टोली आयो आत्महत्या नै गरेको मुचुल्का उठायो र प्रकृतिको पोस्टमार्टम रिपोर्टमा समेत आत्महत्या नै देखियो ।

नेपालको पुरानो कानुनअनुसार प्रकृतिका श्रीमान्लाई कुनै कारबाही हँुदैनथ्यो, किनभने उनको पोस्टमार्टम रिपोर्टमा आत्महत्या नै देखिएको थियो ।

तर गएको भदौ १ गतेबाट लागु भएको नयाँ कानुनअनुसार कुनै व्यक्तिले आत्महत्या गर्यो भने त्यसको कारक खोजेर प्रहरीले कारबाही थालेको छ । नयाँ कानुनअनुसार प्रहरीले प्रकृतिका श्रीमान्लाई केरकार थाल्यो र अन्त्यमा उनकै कारण प्रकृतिले आत्महत्या गरेको सावित भयो, श्रीमान् प्रकाशलाई प्रहरीले पक्राउ गरी कारबाही थाल्यो ।

प्रहरीका अनुसार प्रकाश र प्रकृतीको बिहे भएको ५ वर्ष भयो, त्यो बीचमा उनीहरुको बच्चा जन्मेन, प्रकाशले अर्को बिहे गरे, पेन्टको काम गर्ने प्रकाशले गाउँकै अर्की युवती चमेलीसँग बिहे गरे, ती युवतीलाई काठमाडौं ल्याएर प्रकृतिसँगै राखे, दुई जना श्रीमती र आफु एउटै बेडमा सुत्न थाले, त्यो कुरा प्रकृतिलाई सहन हुन सकेन र उनले आत्महत्या गरेकी थिइन् ।

त्यसपछि प्रकाश भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐनको नयाँ नियमको फन्दामा परे । प्रहरीले सोही ऐनको दफा १८५ अनुसार मुद्दा चलायो र उनी असोजमै ५० हजार धरौटीमा छुटे, मुद्दा भने विचाराधीन छ ।

कात्तिकमा धादिङका धनबहादुर र रसुवा धारापानीकी रोशनीबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो । कात्तिक दोस्रो साता उनीहरु काठमाडौंको गोंगबुस्थित एक गेस्टहाउसमा बास बस्न गए । बिहे गर्ने विषयमा उनीहरूबीच विवाद भयो । भोलिपल्ट रोशनी कोठामा झुन्डिएको अवस्थामा फेला परिन् । घटनास्थलको मुचुल्का उठाएर प्रहरीले अनुसन्धान थाल्यो । र प्रेमी धनबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनैले हत्या गरी झुन्ड्याएको तथ्य खुल्यो । प्रेमी वनबहादुरलाई प्रहरीले ज्यान मुद्दा चलायो र उनी अहिले जेलमा छन् ।

प्रहरीका अनुसार धनबहादुर पनि नयाँ कानुनको फन्दामा परेका हुन् । पुरानो कानुनअनुसार धनबहादुर कानुनी फन्दाबाट उम्किन्थे, किनभने रोशनीको पोस्टमार्टम रिपोर्टले आत्महत्या नै देखाएको थियो ।

त्यस्तै बाहिरी युवतीसँग लागेर मदिरा सेवन गर्दै दिनहुँ श्रीमतीलाई कुट्ने गरेपछि गएको भदै ७ गते काठमाडौंको बालाजुमा २५ वर्षीया रिता ठकुरीले आत्महत्या गरिन् । ठकुरीको पेटमा ७ महिनाको बच्चा थियो, श्रीमान रोजन ठकुरीले मदिरा सेवन गरी दिनहुँ कुटपिट गर्ने र पेटमा भएको बच्चालाई समेत फाल्न दबाब दिने गरेका कारण ठकुरीले आत्महत्या गरिन्, पेटमा भएको बच्चाको समेत मृत्यु भयो ।

रिताको आत्महत्याको कारक श्रीमान् नै भएको प्रहरी अनुसन्धानबाट खुल्यो र नयाँ कानुनअनुसार श्रीमान् रोजन पनि प्रहरी थुनामा पुगे । प्रहरीले रोजनलाई ज्यान मुद्दामा कारबाही अघि बढायो । सो मुद्दामा उनी ४५ हजार धरौटीमा छुटेका छन्, मुद्दा भने जारी छ ।

काठमाडौं प्रहरीको तथ्याङ्कअनुसार गएको साउनयता मात्र १ सय ५९ वटा आत्महत्या भएका घटना प्रहरीमा दर्ता भएका छन् । गएको वर्षको यो अवधि ६ महिनामा ३ सय ४९ ओटा आत्महत्या भएको प्रहरीको तथ्याङ्कले देखाउँछ । यसअनुसार गएको वर्षभन्दा चालू आर्थिक वर्षको ६ महिनामा आत्महत्याका घटना बढी भएका छन् ।

‘आत्महत्याका घटनामा पहिला प्रहरीले केही गर्न सक्दैनथ्यो,’ काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होवीन्द्र बोगटीले भने, ‘गत भदौदेखि सुरु भएको नयाँ मुलुकी ऐनले भने आत्महत्याका कारकलाई पनि कानुनले छाड्दैन । त्यसका पछिल्ला उदारण यी घटनामा कारबारहीमा परेका उदाहरण हुन् ।’

यसअघि आत्महत्या गर्नेहरुको पोस्टमार्टम रिपोर्टमा (ह्यागिङ) देखिए प्रहरीले कारबाही गर्ने ठाउँ थिएन ।