ग्यास उद्योगी आन्दोलित, फागुन ३० देखि खाना पकाउने ग्यास बिक्री नगर्ने

बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल एलपी ग्यास उद्योग सङ्घले फागुन १६ गतेसम्म मागको सम्बोधन नभए १७ गतेबाट आन्दोलनमा उत्रिने भएको हो ।

काठमाडौं : सरकारले आफ्नो मागहरु सम्बोधन नगरेको भन्दै ग्यास उद्योगीहरु आन्दोलित भएका छन् । उद्योगीहरुले चरणबद्ध आन्दोलनको घोषणा गर्दै फागुन ३० देखि खाना पकाउने ग्यास बिक्री नगर्ने चेतावनी दिएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल एलपी ग्यास उद्योग सङ्घले फागुन १६ गतेसम्म मागको सम्बोधन नभए १७ गतेबाट आन्दोलनमा उत्रिने भएको हो । सङ्घको निर्णयअनुसार १७ गतेदेखि एलपी ग्यासको पीडीओ खरिद नगर्ने, २२ गतेदेखि एलपी ग्यास आयात गर्ने सबै रिफाइनरीहरुबाट एलपी ग्यास लोडिङ पूर्ण रुपमा बन्द गर्ने, २५ देखि एलपी ग्यास लोड भएका बुलेटहरु सम्पूर्ण भन्सार नाकाबाट नछुटाउने र २८ गतेदेखि देशभरका सम्पूर्ण एलपी ग्यास उद्योगहरु पूर्ण रुपमा बन्द गर्ने छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ४५ दिनभित्र ग्यास उद्योगीको समस्या के हो पत्ता लगाउनका लागि बनाएको कमिटीले पाँच महिना बितिसक्दा पनि केही नगरेपछि उद्योगीहरु आन्दोलन गर्न बाध्य भएको नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

‘पाँच वर्षदेखि कमिसन बढ्न सकेको छैन, पाँच वर्षअघिको खर्च र आजको खर्चमा २ सय प्रतिशतभन्दा बढी बढिसकेको छ,’ उनले क्यापिटल नेपालसँग भने, ‘यस्तो अवस्थामा उद्योग कसरी सञ्चालन गर्ने ? हामी उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएपछि आन्दोलन गर्नुको विकल्प भएन ।’

याे पनि पढ्नुहाेस्

ग्यास उद्योगीको समस्या समाधान गर्न सरकार असफल, अन्तत उद्योगीले रोजे आन्दोलनको बाटो