दाङमा ‘अटोभिलेज’ सञ्चालनमा

लमही । दाङको तुलसीपुर बसपार्कमा रहेका अटो व्यवसायीलाई नयाँ स्थानमा सारिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ र ९ को सिमानाअन्तर्गत पातुखोलामा निर्माण भएको ‘अटोभिलेज’मा व्यवसायी सरेका छन् ।

अहिले बसपार्कबाट अटो व्यवसायीलाई सारिएसँगै नमूना बसपार्क निर्माणको कामले पनि तीव्रता पाएको छ। पहिले बसपार्कमा रहेका सबै अटो व्यव्सायी नयाँ अटोभिलेजमा सरिसकेका छन्। अटो भिलेज व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर महताराका अनुसार ८५ अटो व्यवसायी नयाँ अटोभिलेजमा सरिसकेका छन् ।

एकसय २० कोठा निर्माण भएको अटोभिलेजमा करीब १५० व्यवसायीले नाम दर्ता गराएको अध्यक्ष महताराले बताए। गत वर्षको माघदेखि निर्माण शुरु भएको उक्त अटोभिलेजमा केही दिन अघि विद्युत्समेत जडान भइसकेको छ । अब तटबन्ध निर्माण र केही कोठा बनाउन बाँकी रहे पनि लगभग काम अन्तिम चरणमा पुगिसकेको महताराले बताए।

त्यहाँ निर्माण गरिएका एउटा कोठाको भाडा मासिक रु एक हजार कायम गरिएको छ ।

उपमहानगरपालिकाको करीब रु दुई करोड लगानीमा अटोभिलेज निर्माण भएको हो । खानेपानीको समस्या रहेको अटोभिलेजमा स्थानीय सरकारले खानेपानीको व्यवस्था गर्नुपर्ने महताराको भनाइ छ । महताराका अनुसार पश्चिममा १३० मिटर र पूर्वतिर बनेका कोठामा ७०/८० मिटर तटबन्ध निर्माण गर्नुपर्ने अवस्था रहेको छ। पूर्वतिर कुलोमा ‘कलभर्ट’ बनाउन र अटोभिलेजसम्म पुग्न सडकको पनि स्तरवृद्धि गर्न आवश्यक रहेको महताराले बताए।

तुलसीपुर–६ मा रहेको तीन बिघा र तुलसीपुर–९ मा रहेको दुई बिघा जग्गामा अटोभिलेज निर्माण गरिएको हो । खोलाको सतहदेखि साढे दुई मिटर अग्लो र जमीनमुनि एक मिटर गहिरो तटबन्ध निर्माण गरिएको छ । पातुखोलाको किनार बस्तीदेखि टाढा भएकाले पनि अटोभिलेजका लागि उचित स्थान भएको महताराको भनाइ थियो । “अटो व्यवसायबाट चर्को ध्वनि निस्कनुका साथै फलामजन्य किला काँटीले फोहर हुन्छ”, उनले भने, “त्यसैले अटोभिलेज बजार तथा बस्तीदेखि टाढा हुन जरुरी छ ।”