लागुऔषध तस्करीको सदाबहार ट्रान्जिट

प्रहरीले नेपालको विमानस्थलबाट बेलाबेलामा बरामद गरेको लागुऔषधले पनि लागुऔषधका अन्तर्राष्ट्रिय तस्करहरुले काठमाडौंलाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएको पुष्टि गर्छन् । दक्षिण एसियामा उत्पादन हुने अधिकांश लागुऔषध भारतबाट काठमाडौंको बाटो हुँदै युरोप र अमेरिकी मुलुकसम्म पुग्ने गर्छ ।

विश्वव्यापी समस्याका रुपमा रहेको लागुऔषध कारोबार र त्यसको प्रयोग नेपालमा पनि जटिल बन्दै गएको छ । जसरी मुलुकमा लागुऔषधको कारोबार फस्टाइरहेको छ, त्यसैगरी लागुऔषधको कुलतमा फस्ने युवाहरुको सङ्ख्या पनि बढ्दो छ । बढ्दो लागुऔषध दुव्यर्सनीका कारण समाजमा नकारात्मक प्रभाव बढ्दै जान थालेको यससँग सम्बन्धित विज्ञहरु बताउँछन् ।

लागुऔषधको कारोबार र ओसारपसार नियन्त्रणका लागि सरकारी तथा गैरकारी निकाय क्रियाशील रहे पनि अन्तर्राष्ट्रिय तस्करी समूहले नेपाललाई ‘ट्रान्जिट’का रुपमा प्रयोग गर्दै आएका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको तथ्याङ्कअनुसार सन् २०१३ देखि १०१८ को अन्त्यसम्म ६ वर्षमा १९ हजार १ सय ५३ जना लागुऔषध कारोबारी नेपालबाट पक्राउ परेका छन् । त्यसमध्ये १८ हजार ३ सय ११ जना नेपाली नागरिक छन् भने ८ सय ४२ जना विदेशी नागरिक छन् । पक्राउ परेका विदेशीमध्ये पनि ७ सय ४४ जना भारतीय लागुऔषध कारोबारी छन् ।

लागुऔषध कारोबारमा संलग्नहरु भारतबाहेक पाकिस्तान, चीन, मलेसिया, सोमालिया, बोलिभिया, पोल्यान्ड, टर्की, रसियालगायत ३३ देशका नागरिक रहेको ब्युरोको तथ्याङ्क छ । ब्युरोको तथ्याङ्कअनुसार प्रत्येक वर्ष लागुऔषध कारोबार गर्नेहरु बढ्दै गएका छन् । पछिल्ला वर्षहरुमा लागुऔषध कारोबारमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको तथ्याङ्क हेर्दा पनि लागुऔषध कारोबारी बढ्दै गएको आशङ्का पुष्टि हुन्छ ।

ब्युरोका एसएसपी विश्वराज पोखरेलले प्रहरी सक्रियताका कारण लागुऔषध नियन्त्रणमा सफलता हात लागेको बताए । प्रहरी सक्रियताकै कारण बर्सेनि लागुऔषध कारोबारी पक्राउ पर्नेको सङ्ख्या बढ्न थालेको पोखरेलले बताए । ‘नेपालमा लागुऔषध प्रयोतकर्ताहरु बढ्दै गएका कारण यसको नियन्त्रण गर्न चुनौती थपिँदै गएको छ,’ उनले भने, ‘लागुऔषधलाई समाजबाट टाढा बनाउन ब्युरो सक्रिय भएको लागेको छ ।’ लागुऔषधको कारोबारलाई रोकथाम गर्न र नेपालमा उत्पादन हुने लागुऔषध बन्द गर्न ब्युरोले उचित कदम चाल्दै आएको पोखरेलले बताए ।

ट्रान्जिट बन्दै नेपाल
लागुऔषध ओसारपसारका लागि तस्करहरुले नेपाललाई ट्रान्जिट बनाएको विश्लेषकहरुको ठहर छ । विज्ञहरुका अनुसार खुला सिमानाका कारण नेपाल र भारतको स्थलमार्ग हुदै ठूलो परिमाणामा लागुऔषध ओसारपसार हुने गर्छ । भारतबाट ब्राउन सुगर, औषधिजन्य लागुऔषध, हेरोइन आउने गर्छ ।त्यसैगरी अफ्रिकामा बनेको कोकिनलगायत लागुऔषध नेपाल आउँछ । अनि, नेपालबाट गाँजा, चरेस र अफिम भारततर्फ जाने गर्छ ।

नेपालमा उत्पादन हुने गाँजा, चरेस र अफिम भारततर्फ निकासी हुने र ब्राउन सुगर, हेरोइन, औषधिजन्य लागुऔषध भारतबाट नेपाल भित्रिने लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख डीआईजी दिनेश अमात्यले बताए ।

लागुऔषधका अन्तर्राष्ट्रिय तस्करहरुले काठमाडौंलाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएको बेलाबेलामा प्रहरीले नेपालको विमानस्थलबाट बरामद गरेको लागुऔषधले पनि पुष्टि गर्छ । दक्षिण एसियामा उत्पादन हुने अधिकांश लागुऔषध भारतबाट काठमाडौंको बाटो हुँदै युरोप र अमेरिकी मुलुकसम्म पुग्ने गर्छ । त्यसैगरी अफ्रिकामा उत्पादन हुने कोकिनलगायत लागुऔषध नेपाल भएर भारत हँुदै युरोप, चीन, हङकङलगायतका मुलुकमा जाने गर्छ ।

अनुसन्धान अधिकारीका अनुसार नेपाल भित्रिने सबै औषधिजन्य लागुऔषध भारतबाट आउँछ । खुला सिमानाका कारण भारतको जोगवनी, पानीट्याङ्की, लखनऊ, गोरखपुर, सोहरातगढ, बढनी, अलिगढवाबाट सीमा नाका सुनौली, कृष्णनगर, दचिडी, भादगङ्गा, रङ्गपुर, बिम्ली हुँदै लागुऔषध नेपाल भित्रिन्छ ।

ब्यूरोका अधिकारीका अनुसार भारतका लागुऔषध डिलरहरूले लागुऔषध नेपालको सिमानासम्म ल्याइदिन्छन् भने नेपालका लागुऔषध डिलरहरुले स्थानीयस्तरमा पु¥याउँछन् । प्रहरीले पक्रने डरले नेपाली डिलरहरुले पेट्रोल ट्याङ्कर, भाडाका सवारी, सामान बोक्ने सवारीमा लुकाएर लागुऔषध नेपालका विभन्न स्थानमा पुर्याउने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

नेपालमै उत्पादन हुन्छ– चरेस, गाँजा र अफिम
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका अनुसार नेपालमा चरेस, गाँजा र अफिम गरी तीन प्रकारका लागुऔषधको उत्पादन हुन्छ । नेपालको बारा, पर्सा, मकवानपुर, धादिङ, गोरखा, सिन्धुली, नुवाकोट, रोल्पालगायत जिल्लामा गाँजा खेती नै गर्ने गरेको पाइन्छ । त्यसैगरी जाजरकोट, रुकुम, रोल्पालगायत जिल्लामा अफिम खेती हुन्छ । विज्ञहरुका अनुसार छिमेकी दुई ठूला राष्ट्र चीन र भारतमा लागुऔषधको माग पु¥याउन पनि नेपालमा गाँजा र अफिम उत्पादन हुन्छ । खासगरी गाँजाभन्दा अफिममा फाइदा (बढी मूल्य पाउन) हुन थालेपछि कृषकले लुकिछिपी भए पनि अफिम खेती गर्ने गरेका छन् ।

प्रहरी अधिकारीहरुका अनुसार भारतीय तस्करहरुले नेपालमा आएर कृषकहरुलाई गाँजा र अफिम खेती गर्न बीउ, मलदेखि पैसासम्म पहिले नै दिने गरेका छन् । हालका वर्षहरुमा जस्तै नेपालमा गाँजा र अफिम उत्पादन हुँदै जाने हो भने केही वर्षभित्रै नेपाल पनि अफगानिस्तानझैं लागुऔषध उत्पादनको केन्द्र बन्ने विश्लेषकहरुको ठम्याइ छ । तर अहिलेसम्म नेपालमा विश्वका अन्य मुलुकमा जस्तो पूर्ण नाफामुखी र सङ्गठित रुपमा लागुऔषध वितरण गर्ने सञ्जाल नभेटिएको प्रहरी दाबी छ ।

तर लागुऔषध कारोबारबाट थुप्रै युवा प्रभावित रहेको प्रहरीको ठम्याइ छ । नेपालमा लागुऔषधको उत्पादनमा विशेषगरी एकदमै दुर्गम स्थानका किसानहरुलाई प्रयोग गर्ने गरेको पाइन्छ, जहाँ प्रहरीको पहुँच एकदमै कम हुने गर्छ । अग्रिम रकम र मलबीउसमेत पाउने भएपछि दुर्गम क्षेत्रका गरिब किसानहरुले रोजीरोटीकै लागि लोगुऔषधको खेती गर्ने गरेका छन् । त्यसैले यसको नियन्त्रणका लागि सरकारले कृषकहरुलाई विकल्पका साथ योेजना ल्याउनुपर्ने प्रहरीको भनाइ छ ।

नेपाल प्रहरीले लागुऔषध नियन्त्रण गर्ने भन्दै आवश्यक जनशक्तिका साथ छुट्टै संयन्त्र बनाएर अघि बढेको छ । तर पनि प्रविधिको अभावमा उपलब्धिमूलक नतिजा निकाल्न नसकिएको प्रहरीको ठम्याइ छ । प्रहरीसँग अहलेसम्म लागुऔषध हो वा होइन भनेर छुट्याउने प्रविधिसमेत छैन । हुन त सरकारले लागुऔषध नियन्त्रणका लागि ठूलो रकम खर्च गर्दै विभन्न संयन्त्र परिचालन गरिरहेको छ । अर्कोतिर विभिन्न गैरसकारी संस्था पनि लागुऔषध नियन्त्रणका लागि भन्दै ठूलो धनराशि खर्च गरेर खटिएका छन् । तर पनि समस्या भने भने घटेको छैन ।

प्रहरीको तथ्याङ्कअनुसार सन् २०१३ यता ५० हजार किलो चरेस बरामद भएको छ । त्यसैगरी गाँजा १० हजार किलो, हिरोइन ३५ किलो, अफिम १ सय ९२ किलो र कोकिन ३५ किलो बरामद भएको छ । त्यसैगरी यस अवधिमा डाइजेपाम जस्ता औषधिजन्य लागुऔषध १४ लाख २५ हजार पिस बरामद भएको छ । प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा बढी औषधिजन्य लागुऔषध बरामद भएको छ । चरेस र गाँजाको बरामद पनि व्यापक देखिन्छ ।

लागुऔषध प्रयोगकर्ता बढे
केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा लागुऔषध दुव्र्यसनीको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । विभागले २०६३ सालमा गरेको अनुसन्धानअनुसार नेपालमा ४६ हजार व्यक्तिले लागुऔषध प्रयोग गर्थे । २०६९ सालमा आइपुग्दा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढेर ९१ हजार १ सय ५० पुगेको छ भने हाल मुलुकभर दुव्र्यसनीको सङख्या दुई लाखभन्दा बढी रहेको प्रहरी अनुमान छ ।

विभागको २०६९ को तथ्याङ्कअनुसार राजधानीमा मात्र ३६ हजार ९ सय लागुऔषध प्रयोगकर्ता थिए । यस्ता प्रयोगकर्तामध्ये १८ देखि २५ वर्ष उमेर समूहका युवापुस्ताको सङ्ख्या करिब ८० प्रतिशत रहेको अध्ययनमा देखिन्छ । तथ्याङ्कले लागुऔषध प्रयोगकर्तामध्ये पुरुषको सङ्ख्या बढी भए पनि महिला पनि उत्तिकै रहेको देखाएको छ । नेपाल प्रहरीको तथ्याङ्कमा हाल महिला दुव्र्यसनीको सङ्ख्या ६ हजार ३ सयभन्दा बढी छ । प्रहरीका अनुसार नेपालमा रहेका अधिकांश दुव्र्यसनीले डाइजेपाम, ब्रुपिनर्फिन, फेनार्गनलगायत औषधिजन्य लागुऔषध प्रयोग गर्छन् ।

नेपालमा लागुऔषधको सुरुवात
सन् १९६० ताका नेपालमा पर्यटकको ढोका खुलेको मानिन्छ । त्यति बेलादेखि नेपालमा धमाधम पर्यटक आउन थालेका हुन् । त्यतिबेलै पर्यटकसँगै छरिएको कपाल, भरिएको गाँजा, लथालिङ्गे लुगा अर्थात् हिप्पी संस्कृतिको प्रवेश भएको अनुमान छ । त्यति बेला कानुन पनि कडा थिएन । कानुन कडा नभएको फाइदा उठाउँदै सन् १९७१ मा आइपुग्दा नेपालमा लागुऔषधले भयावह रुप लिएको विज्ञहरुको ठम्याइ छ । यसले नेपाली संस्कृतिमाथि पनि निर्मम प्रहार गरेको कतिपयको बुझाइ छ ।

२०२५ सालमा गोरखापत्रमा प्रकाशित लागुऔषधसम्बन्धी बोलपत्र आह्वान गरेको विज्ञापनले पनि लागुऔषधको तत्कालीन अवस्था चित्रण गर्छ । त्यो समयमा पत्रिकामै गाँजा चरेसको ठेक्का लाग्थ्यो भने ‘गाँजा, चरेस यहाँ बिक्री हुन्छ’ भनेर खुलमखुला होर्डिङ बोर्ड राखिन्थ्यो । त्यस्तै रेस्टुरेन्टको नाम र मेनुमा समेत लागुऔषधको नाम राखिन्थ्यो । त्यही समयदेखि फस्टाउँदै गएको लागुऔषधले अहिले भयावह रुप लिएको छ ।

लागुऔषधको कारोबारको समस्या कुनै एउटा मुलुक र क्षेत्रको मात्रै समस्या होइन । यसको नियन्त्रणमा सबै एक हुनुपर्छ ।

 

क्यापिटल बिजनेस म्यागजिनबाट