‘महिन्द्रा अटो सो’मा सार्वजनिक आठ नयाँ प्रोडक्ट : यस्ता छन् फिचर

नेपालमा महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेट, एमभी दुगड, श्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयुक्तरुपमा मेलाको आयोजना गरेका हुन् ।

काठमाडौं । शुक्रबार भृकुटीमण्डपमा तीन दिने ‘महिन्द्रा उदय’ अटो मेलाको नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले उद्घाटन गरिन् । मेलामा महिन्द्राका नयाँ प्रोडक्टहरुको सोकेश गरिएको छ ।

नेपालमा महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेट, एमभी दुगड, श्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयुक्तरुपमा मेलाको आयोजना गरेका हुन् ।

मेलामा महिन्द्राका नयाँ आठ ओटा प्रोडक्ट सार्वजनिक गरिएको छ ।

उद्घाटन समारोहमा महिन्द्राको बहुप्रतीक्षित एक्सयूभी थ्री हन्ड्रेडसहित महिन्द्रा मार्राज्जो कार, महिन्द्राका नयाँ ट्रयाक्टर जिभो २४५ डीआई, महिन्द्रा स्वराज ९६३ एफई र यूभो ४१५ डीआई, हेभी भेइकलमा फ्युरियो १४ लोड क्यारियर, महिन्द्रा ब्लाजो एक्स २५ टिपर र महिन्द्रा जी ७५ मिनी ग्रेडर सार्वजनिक गरियो ।

मेलामा सोकेश गरिएका प्रमुख आठ प्रडक्टका नयाँ तथा प्रमुख फिचरः

१. महिन्द्रा एक्सयूभी थ्री हन्ड्रेड
एक्सयूभी थ्री हन्ड्रेड महिन्द्रा कम्पनीको बहुप्रतीक्षित नयाँ कार मोडल हो । सात ओटा एयर ब्याग, अल डिस्ब्रेक, डुयल टर्न एसी, इलेक्ट्रिक सनरुफ, एडप्टिभ गाइडलाइनसहित रियर तथा फ्रन्ट पार्किङ सेन्सर यसका प्रमुख फिचर हुन् । पाँच जनाको सिट क्षमता भएको यो कारमा १७ इन्चकोे एल्लो ह्विल छ ।

पेट्रोल र डिजल दुवै प्रयोग गर्न सकिने यस कारमा पेट्रोलमा १२ सीसी, ११० बीएचपी र २०० एनएम टक्र्यु छ भने डिजलमा १५ सीसी, ११५ बीएचपी र ३०० एनएम टक्र्यु छ । नेपालमा यसको मूल्य अहिलेसम्म तोकिएको छैन ।

२. महिन्द्रा मार्राज्जो
नेपालमा आजबाट लन्च भएको मार्राज्जो महिन्द्राको नयाँ कार मोडल हो । डुयल एयर ब्याग, फ्रन्ट र रियर डिस्क ब्रेक एबीएस विथ ईबीडी, ४३.१८ सेन्टी मिटरको एल्लो ह्विल्स, महिन्द्रा ब्ल्यु सेन्सर एप, १८ सीएमको कलर टचस्क्रिन इन्फोटेन्मेन्ट डिस्प्ले, की–लेस इन्ट्री यसका प्रमुख फिचर हुन् । मार्राज्जोमा १.५ लिटरको इन्जिन र चार सिलिन्डर छन् । यसको इन्जिन क्षमता १४९७ सीसी छ । यसमा ३५०० आरपीएममा १२१ बीएचपी पावर छ । आठ जनाको सिट क्षमता भएको यो कारको ट्रान्समिसन ६ स्पिड मेनुएल छ । गाडीको टर्क १७५० देखि २५०० को बीचमा ३०० एनएम छ । यो एउटा पारिवारिक प्रयोजनका लागि उपयुक्त कार हो । नेपालमा यसको मूल्य अहिले ५५ देखि ६३ लाखका बीचमा राखिएको छ ।

३. महिन्द्रा जीभो २४५ डीआई
महिन्द्रा जीभो ट्रयाक्टर आज महिन्द्रा अटो शोमा सार्वजनिक भएको नयाँ ट्रयाक्टर मोडल हो । २५ एचपी, फोर ह्विल ड्राइभ, १२ गियर आठ ओटा फर्वाड र चार रिभर्स गियर भएको यो ट्रयाक्टरमा पीटीओ लिभर प्रयोग भएको छ । यसको हाइड्रोलिक लिफ्टिङ क्षमता ७६० केजी छ । मेलाभरिका लागि यसको मूल्य छुटसहित आठ लाख ६५ हजार रहने छ ।

४. महिन्द्रा युभो ४१५ डीआई
महिन्द्रा युभो प्रिमियम लुक्ससहित ४० एचपीको ट्रयाक्टर हो । यसमा १५ ओटा गियर १३ फरवार्ड र तीन रिभर्स गियर छन् । यसमा हाई, लो र मिडियम सबै स्पिड छन् । यसको इन्जिन क्षमता २७३० सीसीको छ । साइड सिफ्ट गियर भएको यो ट्रयाक्टरको रेटेड आरपीएम १८०० छ । यसको हाइड्रोलिक लिफ्टिङ क्षमता १५०० केजी छ । यसको सर्भिसिङ इन्टरभल अन्यको तुलनामा धेरै छ । चार सय घण्टाको फरकमा यसको सर्भिसिङ गर्न सकिने हुँदा सर्भिसिङको झन्झटबाट यसले मुक्ति दिनेछ । मेलाका तीन दिनसम्म यसको मूल्य १४ लाख ९० हजारमा दुई लाख ५० हजारको छुट मिल्नेछ ।

५. स्वराज ९६३ एफई
६५ एचपी र १४ गियर १२ फरवार्ड र दुई रिभर्स गियर रहेको स्वराज ९६३ आज सार्वजनिक भएको नयाँ ट्रयाक्टर मोडल हो । यसमा तीन ओटा सिलिन्डर छन् भने ३४७८ सीसीको इन्जिन क्षमता छ । यसले तेल कम खपत गर्छ । यसको हाइड्रो लिफ्टिङ क्षमता २२ केजीएफ छ । यसमा पावर स्ट्रिङ, आयल ब्रेक र साइड गियर छन् । १७ लाख ५० हजार मूल्यको यो ट्रयाक्टरमा तीन दिनसम्मका लागि ५० हजार छुट छ ।

६. महिन्द्रा फ्युरियो १४
फ्युरियो सिरिजको पछिल्लो तेस्रो जेनेरेसन महिन्द्रा फ्युरियो आज नेपाली बजारमा सार्वजनिक भएको नयाँ लोड क्यारियरको मोडल हो । यसअघि फ्युरियो ११ तथा १२ भारतीय बजारमा लन्च भए पनि नेपालमा भने आएका थिएनन् । ९,२०० किलोको पे लोड क्षमता र १४० हर्जपावरको यो लोड क्यारियर एउटा उत्कृष्ट फ्युल स्मार्ट टेक्नोलजी हो । यसमा तीन ओटा इन्जिन टर्बो, लाइट र हेभी प्रयोग भएका छन् । अन्य लोड क्यारियरमा सिन्क्रोम क्लज प्रयोग हुँदा यसमा अर्गानिक क्लजको नयाँ फिचर छ जसले गाडीलाई थप लचिलो बनाउने काम गर्छ । यसको इन्जिन क्षमता ३५०० सीसीको छ । यसमा चार ओटा सिलिन्डर प्रयोग भएका छन् । नेपाली बजारमा यसको मूल्य हालसम्म तोकिएको छैन ।

७. महिन्द्रा ब्लेजो एक्स २५
आज सार्वजनिक भएको महिन्द्राको नयाँ टिपर मोडल ब्लेजो एक्स २५ मा २४७ एचपी इन्जिन सीआरडीई मोडल इन्जिन छ । ४४ ग्रेडिबिलिटी तान्ने क्षमता भएको यस गाडीको इंजिन क्षमता ७२०० सीसीको छ । यसमा इको मोड तीन बटम हेभी, लाइट र टर्बो छन् । यसमा सी गियरसहित ९ स्पिड गियर बक्स छ । यसको च्यासिसको स्वरुप ल्याडर खालको छ । नेपालमा यसको मूल्य ७१ लाख तोकिएको छ ।

८ महिन्द्रा जी ७५ मिनी ग्रेडर
महिन्द्राको डीआई प्रविधि प्रयोग भएको यो नयाँ ग्रेडर मोडलमा ८० एचपी इन्जिन र चार ब्लेड छन् । ग्रेडरको पूर्ण लम्बाई तीन मिटर छ जसमा दुई ओटा ब्लेड १.२ मिटरका छन् भने अर्का दुइटा ०.३ मिटरका छन् । यसमा टर्बो चार्ज इन्जिन प्रयोग भएका छन् । अन्य ग्रेडरको तेल खपत ९ देखि १० लिटरसम्म छ भने यसको तेल खपत ६ देखि ७ लिटर मात्र छ । यसको इन्जिन क्षमता ३५३२ सीसी छ । यसमा चार ओटा सिलिन्डर प्रयोग भएका छन् । यसको तौल ७.७ टन छ । यसको टर्क १३०० देखि १७०० आरपीएममा ३०६ न्युनटन मिटर छ ।