अमेरिकासँग सैनिक प्रविधि निर्माणको सम्झौता खारेज गर्न माइक्रोसफ्ट कम्पनीलाई दबाब

कर्मचारीहरुले सो सम्झौताको खारेजीसँगै कम्पनीले आफ्नो उत्पादनहरुको स्वीकार्य प्रयोजनबारेको नीतिलाई स्पष्ट रूपमा ल्याउनुपर्ने र ती नीतिलाई कार्यन्वयन गर्नका लागि एउटा स्वतन्त्र बोर्ड पनि खडा गर्नुपर्ने माग राखेका छन् ।

एजेन्सी । माइक्रोसफ्टका कर्मचारीको समूहले कम्पनीका सीईओसँग सैन्य प्रविधिमा काम नगर्न आग्रह गरेका छन् । कर्मचारीहरुले कम्पनीलाई होलोलेन्स संवर्धित रियालिटी हेडसेटको भर्जन निर्माण गर्ने अमेरिकी सेनासँगको ४८ करोड डलरको सम्झौतालाई परित्याग गर्न भनेका छन् । कम्पनीका कर्मचारीहरुले विगत केही समयदेखि कम्पनीले निर्माण गरिरहेको सामग्रीहरुको प्रयोजनमाथि शृङ्खलाबद्ध रुपमा विरोध जनाइरहेका छन् ।

कम्पनीभरि सर्कुलेट भइरहेको एउटा पत्रमा शुक्रबार कर्मचारीहरुले लेखेका थिए, ‘अमेरिकी सेनालाई हतियार प्रविधि उपलब्ध गराउन तयार माइक्रोसफ्टको गतिविधिबाट हामीले खतरा महसुस गरेका छौं, हामीले बनाएका उपकरणबाट माइक्रसफ्टले एउटा मुलुकको घातकतालाई वृद्धि गर्ने काममा सहयोग गर्दै छ । हतियार विकास गर्ने काममा हामी सहयोग गर्न सक्दैनौं र हाम्रो काम कसरी प्रयोग हुन्छ भनेर हामीले उनीहरुबाट जवाफको माग गरेका छौं ।’ शुक्रबार अपराह्नसम्म सो पत्रमा सयभन्दा धेरै कर्मचारीले हस्ताक्षर गरिसकेका छन् ।

सो पत्रले माइक्रोसफ्ट कम्पनीका प्रमुख कार्यकारी अधिकारी सीईओ सत्या नाडेला र कम्पनीका अध्यक्ष तथा प्रमुख कानुनी अधिकारी ब्राड स्मिथलाई सम्बोधन गरेको छ । माइक्रोसफ्टले होलोलेन्सको दोस्रो भर्जनको परिचयन गराउने योजना बनाएको केही दिनअघि ती विरोधहरु भएका हुन् । टाउकोमा लगाउनुपर्ने उक्त होलोलेन्स उपकरणले डिजिटल दृश्यलाई भौतिक संसारमा प्रोजेक्ट गर्ने काम गर्छ । माइक्रोसफ्टले होलोलेन्सलाई सामान्यतय आर्किटेक्चर र इन्जिनियरिङको क्षेत्रमा उत्पादकमूलक उपकरणका रुपमा व्याख्या गर्दै आएको छ । माइक्रोसफ्ट कम्पनीले यसअघि पनि अमेरिकी र इजरायली सेनासँग ट्रेनिङ एप्लिकेसनमाथि काम गरिसकेको छ । तर पत्रमा उल्लेख भएअनुसार कम्पनीले कहिल्यै पनि आफ्नो सीमा पार गरी हतियार विकासको कार्यमा नजाने बताएको थियो ।

कर्मचारीहरुले सो सम्झौताको खारेजीसँगै कम्पनीले आफ्नो उत्पादनहरुको स्वीकार्य प्रयोजनबारेको नीतिलाई स्पष्ट रूपमा ल्याउनुपर्ने र ती नीतिलाई कार्यन्वयन गर्नका लागि एउटा स्वतन्त्र बोर्ड पनि खडा गर्नुपर्ने माग राखेका छन् ।