चैत्रको दोस्रो हप्ताबाट नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष आगामी चैत्र १४ देखि १८ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाका लागि स्टल बुकिङ खुला भइसकेको र यस वर्षको मेलाका लागि चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५, बङ्गलादेशबाट ४० वटा र मेलामा नेपाली हस्तकला र एनटीआईएस बस्तुहरूको ५० वटा स्टल बुकिङ भइसकेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह—आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको हो । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०१९ आठौं संस्करण हो ।
मेलाका वारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै महासंघका अध्यक्ष भवानी राणाले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न एक सशक्त माध्यम बन्दै गएको बताइन ।
अध्यक्ष राणाले यस पटक लगानी सम्मेलनमा आउने विदेशी प्रतिनिधि र सार्क क्षेत्रका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत मेला अवलोकनमा सहभागिता हुने र एनआइटीएफ मेलामा नेपालको औद्योगिक व्यावसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कूल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । मेलामा नेपाल सहित सार्क मुलुकहरू, चीन, थाइल्याण्ड, म्यानमार लगायतका देशहरूको सहभागिता रहने छ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापान लगायतका देशहरूबाट क्रेताहरू आउने अपेक्षा गरिएको छ ।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्टहरू रहने छन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तास“ग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको छ । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा, आदिका छुट्टाछुट्टै स्टलहरू रहने छन् ।
महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यावसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रूपमा हेरिएको बताए ।
महासंघको व्यापार मेला समितिका सभापति दिल सुन्दर श्रेष्ठले मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूस“ग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी बारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरि करिव १ लाख अवलोकनकर्ताहरूले अवलोकन गर्ने लक्ष्य राखिएको बताए ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक नविन शर्माले महासंघस“ग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला अन्तर्राष्ट्रिय मञ्चमा एक स्थापित मेला बन्दै गएको धारणा राखे ।
महासंघकै नेतृत्वमा यस वर्ष अघिल्लो वर्षहरूमा जस्तै मुलुकभित्र प्रादेशिक, जिल्लास्तर एवं बस्तुगत गरी करिव ३० देखि ४० वटा मेलाहरू विभिन्न भागमा आयोजना हुँदै आईरहेका छन् । केहि मेला सम्पन्न भै सकेका छन् भने केहि तयारी गर्दै रहेका छन् ।
महासंघले सफलतापूर्वक सम्पन्न गरेको अघिल्लो वर्षको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला—२०१८ मा एक लाखभन्दा बढी स्वदेशी एवं विदेशी आगन्तुकहरूले अवलोकन गरेका थिए भने स्वदेशी विदेशी गरी ३ सय ४० जना प्रर्दशनीकर्ताहरूबाट वस्तु तथा सेवाको प्रदर्शनी गरिएको थियो । मेलामा चीन, भारत, बंगलादेश, कोरिया, जापान, लगायतका देशबाट खरिदकर्ताहरू आएका थिए । मेलामा नेपाली निर्यात योग्य बस्तुहरूका साथै बहुराष्ट्रिय नेपाली कम्पनीहरूको समेत उल्लेख्य सहभागिता थियो ।