फेसबुकले यसअघि खुलासा भएको भन्दा धेरै स्मार्टफोन प्रयोगकर्ताहरुको संवेदनशील र स्वास्थ्यसम्बन्धी तथ्याङ्कमा पहुँच पुर्याइरहेको खबर आएपछि ती गभर्नरले अनुसन्धानका लागि आदेश दिएका हुन् ।
एजेन्सी । न्युयोर्कका गभर्नर एन्ड्र्यु क्युमोले फेसबुकमाथि अनुसन्धान गर्न शुक्रबार राज्यका दुई ओटा संस्थालाई आदेश दिएका छन् । फेसबुकले यसअघि खुलासा भएको भन्दा धेरै स्मार्टफोन प्रयोगकर्ताहरुको संवेदनशील र स्वास्थ्यसम्बन्धी तथ्याङ्कमा पहुँच पुर्याइरहेको खबर आएपछि ती गभर्नरले अनुसन्धानका लागि आदेश दिएका हुन् ।
प्रयोगकर्ताका स्मार्टफोनमा अन्य एप्सहरुबाट फेसबुकले केही सेकेन्डको समयमा नै व्याक्तिगत सूचनाहरु सङ्कलन गरिरहेको आफ्नो परीक्षणले देखाएको अमेरिकी अखबार वालस्ट्रिट जर्नलमा खबर छ । यस्तो खुलासा भएलगत्तै न्युयोर्कले राज्य विभाग र वित्तीय सेवा विभागलाई त्यसको अनुसन्धान गर्न आदेश दिएको हो ।
वालस्ट्रिट जर्नलको रिपोर्टअनुसार विभिन्न एप्सहरुले फेसबुकसँग प्रयोगकर्ताहरुको तौल, रक्तचाप र ओभुल्युसन स्टाटससम्बन्धी विभिन्न संवेदनशील तथ्याङ्कहरु सेयर गरेको छ । प्रयोगकर्ताको फेसबुक अकाउन्ट नहुँदा पनि फेसबुक कम्पनीले कतिपय अवस्थामा त्यस्ता तथ्याङ्कसम्म पहुँच पुर्याउन सक्ने खबर छ ।
गभर्नर क्युमोले त्यस्तो अभ्यासलाई ‘गोपनीयताको आक्रामक दुरुपयोग’ भनी व्याख्या गरेका छन् । फेसबुकले यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।