बमकाण्ड अनुसन्धानमा एनसेलकै असहयोग

एनसेल गेटमा भएको बम बाटोमा फालेपछि विस्पोट भएको थियो । जसमा परी एक जनाको मृत्यु भयो भने दुई जना घाइते भए । तर घटनामा जुटेको प्रहरीलाई एनसेल कर्मचारीले बम बाटोमै भएको भनेर केही समय अलमल्याउन खोजेपछि त्यो कुरा पछि खुल्यो, बम एनसेलकै गेटअघि राखिएको हो । सुरक्षा गार्डले सावधानी नअपनाएका कारण विस्फोट भएको प्रहरीले जनाएको छ ।

काठमाडौं । गत शुक्रबार ललितपुरस्थित एनसेल मुख्यालयमा भएको बम काण्डको अनुसन्धानमा प्रहरीलाई एनसेल आफैंले सूचना दिन आनाकानी गरेको प्रहरीले जनाएको छ ।

नख्खुस्थित एनसेल मुख्यालयअगाडि भएको बम विस्फोटको घटनाको सूचना एनसेल आफैंले दिन नचाहेको अनुसन्धान गरिरहेका एक प्रहरीले क्यापिटल नेपाललाई बताए । घटनामा एक जनाको मृत्यु र दुई जना घाइते भएका थिए । मानवीय क्षति नै भएपछि प्रहरीले विशेष अनुसन्धान थाले पनि अनुसन्धानमा जुटेको प्रहरीलाई एनसेलले नै असयोग गरेको तथ्य खुलेको हो ।

चन्दा नदिएपछि एनसेललाई तर्साउन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एनसेल मुख्यालयको गेटमा बम राख्यो, त्यसलाई एनसेलका सुरक्षा गार्डले सडकमा फालेका थिए ।

एनसेल गेटमा भएको बम बाटोमा फालेपछि विस्पोट भएको थियो । जसमा परी एक जनाको मृत्यु भयो भने दुई जना घाइते भए । तर घटनामा जुटेको प्रहरीलाई एनसेल कर्मचारीले बम बाटोमै भएको भनेर केही समय अलमल्याउन खोजेपछि त्यो कुरा पछि खुल्यो, बम एनसेलकै गेटअघि राखिएको हो । सुरक्षा गार्डले सावधानी नअपनाएका कारण विस्फोट भएको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार घटनको अनुसन्धानमा जुटेको प्रहरीलाई एनसेलका अधिकारीले बम कार्यालयभित्र नभएको भन्दै उम्किन खोजेका थिए । तर सीसीटीभीको फुटेजमा नै सुरक्षा गार्डले बम बाटोमा मिल्काएको देखिएपछि प्रहरीले सुरक्षा गार्डसँग पनि अनुसन्धान थालेको थियो ।

विप्लव नेतृत्वको पार्टीले एनसेललाई पत्र काटेर पटकपटक चन्दा दिन ताकेदा गर्दा एनसेलले प्रहरीलाई खबर नगरेका कारण पनि बम विस्फोटको घटना भएको प्रहरीको विश्लेषण छ ।

चन्दा नदिँदा विप्लव समूहले तोडफोड र बम विस्फोट गराउन सक्ने अनुमान प्रहरीले अनुमान थियो । तर एनसेलले जानकारी नदिँदा बढी क्षति भएको प्रहरीको निष्कर्ष छ । एनसेल मुख्यालय बमकाण्डपछिको अनुसन्धानले एनसेलका दुई गम्भीर गल्ती देखाएको छ ।
पहिलो, विगतमा पनि विप्लव समूहले चन्दा मागेको विषय प्रहरीलाई जानकारी नदिनु । र दोस्रो, बम देखेपछि पनि एनसेलका सुरक्षा गार्डले प्रहरीलाई खबर नगरी सडकमा फाल्नु ।

यसपछि पनि एनसेलले घटनाको अनुसन्धानमा खटिएका सुरक्षा अधिकारीलाई सहज तरिकाले सूचना दिन आनाकानी गर्नु अर्काे गल्ती भएको प्रहरीले जनाएको छ ।

गम्भीर रुपमा अनुसन्धान हुँदै छ, छिट्टै प्रतिफल पाइन्छ : डीआईजी थापा

नख्खु बमकाण्डबारे गम्भीर रुपमा अनुसन्धान भइरहेको र घटनाका दोषीलाई छिट्टै कानुनी दायरामा ल्याइने महानगरीय प्रहरी आयुक्त डीआईजी शैलेश थापा क्षेत्रीको भनाइ छ । ‘घटना कसले गराएको हो, भन्नैपरेन, मिडियामार्फत आफैं घटना गराएको भन्दै जिम्मा लिने काम भएको छ, घटनाको पेरिफेरीमा रहेर अनुसन्धान अघि बढाइएकाले छिट्टै त्यसको प्रतिफल हात लाग्छ,’ डीआईजी थापा क्षेत्रीले भने ।

याे पनि पढ्नुहाेस्ः

डेढ अर्ब नदिएपछि बिप्लव माओवादीले गर्यो एनसेलमाथि आक्रमण