विमान किन्न निगमलाई जुट्यो २४ अर्ब

नेपाल वायुसेवा निगमलाई नयाँ विमान खरिद गर्न रकम जुटेको छ । नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषले दुई ठूला वाइडबडी जहाज खरिदका लागि ऋण दिने सम्झौता गरेका हुन् । सम्झौताअनुसार दुई संस्थाले निगमलाई १२÷१२ अर्ब रुपैयाँ ऋण दिनेछन् ।

वाइडबडी विमान खरिद गर्न नेपाल सरकार जमानी बस्ने निर्णयसँगै अर्थ मन्त्रालयले सञ्चय कोष र नागरिक लगानी कोषलाई निगमलाई ऋण दिने प्रक्रिया अघि बढाउन परिपत्र गरेको थियो । निगमले एयरबस ३३०–२०० सिरिजका दुई थान वाइडबडी जहाज खरिद गर्न लागेको हो । विमान खरिद गर्न रकमको जोहो भएको र आगामी १२ महिनापछि दुईओटा विमान नेपाल भित्रिने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए । सरकारको जमानतमा कोषले ९ प्रतिशत ब्याजदरमा १२ अर्ब रुपैयाँ ऋण दिने सम्झौता गरेको हो । जहाज खरिदका लागि प्रदान गर्ने रकमको ब्याजदर पहिलो व्यावसायिक उडान नभएसम्म परिवर्तन नहुनेसमेत सहमति भएको छ ।

ऋण भुक्तानी अवधि १५ वर्ष छ । निगमले २० करोड ८० लाख १६ हजार डलर (२२ अर्ब ६३ करोड रुपैयाँ)मा दुईओटा जहाज किन्न लागेको हो । दुई सय ८० सिट क्षमताका नयाँ जहाजले दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, बेलायतलगायत गन्तव्यमा उडान भर्ने कंसाकारले जानकारी दिए ।