भारत पाकिस्तान तनावपछि नेपालमा सुरक्षा सतकर्ता बढाइयो

भारतसँगको खुला सिमाना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले कडाइ गरेको छ । ‘दुई देशको अवस्थालाई बुझेर हामीले सुरक्षा व्यवस्था कडा बनाएका छौं’, नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने, ‘हाम्रो भूमि प्रयोग नहोस् भन्नेमा हामी गम्भीर छौं, त्यहीअनुसार सुरक्षा व्यवस्था मजबुत पारेका छौं ।

काठमाडाैं। फेबु्रअरी १४ मा भारतको काश्मीर क्षेत्र पुलवामामा आतङ्कवादी संगठन जैस ए– मोहम्मद समुले भारतीय सेनामाथिको आक्रमण र त्यसको बदलामा भारतले मङ्गलबार पाकिस्तानी क्षेत्र बालाकोटमा गरेको बमबारीपछि दुई देशको तनाव झनै बढेको छ ।

आवश्यक परेमा युद्ध लड्न तयारी रहेको भन्दै दुवै देशका अधिकारीले प्रतिक्रिया जनाउन थालेपछि त्यसको प्रभाव नेपालमा पर्न थालेको छ । सोही कुरालाई मध्यनजर राख्दै प्रहरीले सम्भावित क्षेत्रको सुरक्षा व्यवस्था मजबुत पारेको छ ।

भारतसँगको खुला सिमाना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले कडाइ गरेको छ । ‘दुई देशको अवस्थालाई बुझेर हामीले सुरक्षा व्यवस्था कडा बनाएका छौं’, नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने, ‘हाम्रो भूमि प्रयोग नहोस् भन्नेमा हामी गम्भीर छौं, त्यहीअनुसार सुरक्षा व्यवस्था मजबुत पारेका छौं ।

उनका अनुसार प्रहरीले विमानस्थल र भारतसँग सिमाना जोडिएका जिल्लामा विशेष सुरक्षा परिचालन गरी निगरानी बढाएको छ । कुनै पनि घुसपैठ नहोस् भन्न प्रहरीले विमानस्थल तथा भारतसँग खुला सिमाना जोडिएका क्षेत्रमा आवतजावत गर्ने पाकिस्तानी नागरिकको विशेष निगरानी थालेको छ ।

मङ्गलबार भारतीय सेनाको बमबारीमा चार पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । भारतीय पक्षले भने आतङ्ककारीको तालिम केन्द्रमा बम खसालेको र ३ सयभन्दा बढी मारिएको दाबी गर्दै आएको छ ।

सन १९९९ को डिसेम्बर २४ मा काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको उडान नम्बर ८१४ भारतीय विमान भारतीय सीमाक्षेत्रमा प्रवेश गर्नासाथ पौने ६ बजे हाइज्याक भयो । उल मुजाहिद्दिनका पाँच जना अपहरणकारीले सो जहाजलाई लाहोर लैजान खोजेका थिए । भारतीय कारागारमा थुनामा रहेका मौलाना मसुद अजहरलगायत आफ्ना सङ्गठनका सदस्यको रिहाइको माग उनीहरुले गरेका थिए ।

भारतको केही नलागेपछि मौलाना मसुदलाई कन्दहार जेलबाट रिहाइ गरियो । उनै मौलानाले सन् २०००मा जैस ए– मोहम्द समूह नाम आतङ्कवादी सङ्गठन खोलेपछि त्यो सङ्गठनले भारतमा पटकपटक हमला गरिरह्यो ।

नेपालको बाटो हुँदै आतङ्कवादीले दुर्घटना गराउन सक्ने भन्दै भारत सरकारले नेपालको विमानस्थलदेखि सुरक्षा निकायका सबै संयन्त्रमा सूचनाको पहुँच बनाएको जानकारहरु बताउँछन् ।

नेपाल प्रहरीको विशेष ब्युरोसँग भारतीय पक्ष नजिक रहेर आतङ्कवाद नियन्त्रणसम्बन्धी विभिन्न कार्य गर्दै आएको हुन्छ । स्रोत भन्छ, ‘भारतीय पक्षको चाहनामै सो ब्युरो स्थापना भएको हो ।’

पाकिस्तानी लडाकु विमान भारतीय सीमा क्षेत्रमा घुसे

भारत–पाकिस्तानबीच द्वन्द्व चर्किएका बेला पाकिस्तानी लडाकु विमानहरू भारत छिरेका छन् । पाकिस्तानी सेनाका विमान बुधबार बिहानै भारतीय क्षेत्रमा प्रवेश गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मङ्गलबार भारतले पाकिस्तान प्रवेश गरेर बमबारी गरेपछि पाकिस्तानले पनि जवाफ फर्काएको भारतीय मिडियाको दाबी छ । भारतीय मिडियाका अनुसार पाकिस्तानी एफ–१६ लडाकू विमान भारतीय नाउसेरा क्षेत्रको आकाशमा बुधबार बिहान देखापरेको थियो । पाकिस्तानी विमान देखेपछि भारतीय सेनाले प्रतिकार गर्न खोज्दा भागेको बताइएको छ ।

तर पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले पाकिस्तानी वायुसेना भारतमा प्रवेश नगरेको प्रतिक्रिया दिएका छन् ।

पाकिस्तानले भारतीय वायुसेनाका दुई जहाज खसाल्यो

भारतीय वायु सेनाका दुई जहाजलाई पाकिस्तानी वायु सेनाले ध्वस्त पारेको छ । प्रेस ट्रस्ट अफ इन्डिया पिटिआईका अनुसार भारतीय सिमा क्षेत्रमा प्रवेश गरेका पाकिस्तानी वायु सेवाका विमानले भारतीय सेनाको विमान खसाएको बताइएको छ ।

त्यसैगरी पाकिस्तानी सैनिक प्रवक्ता मेजर जनरल असिफ गफुरले पाकिस्तानी वायुसेनाले भारतीय वायु सेनाका दुई जहाज खसालेको स्वीकार गरेका छन् । पाकिस्तान नियन्त्रित काश्मीरमा खसेको जहाजबाट एक पाइलटलाई पाकिस्तानी सैनिकले नियन्त्रणमा लिएको बताइएको छ ।