हुवावे कम्पनीका कार्यकारी क्याथरिन चेनले अमेरिकी मिडियाहरुलाई खुला पत्र लेख्दै कम्पनीमा एकपटक आएर अध्ययन गरी अमेरिकी सरकारले उत्पन्न गराएको असमझदारीलाई मेटाउन आग्रह गरेका छन् ।
एजेन्सी । अमेरिकी सरकारले बनाएको चिनियाँ कम्पनी हुवावेको नकारात्मक छिविमाथि विश्वास नगर्न हुवावे कम्पनीले अमेरिकी जनतासँग अपील गरेको छ । उसले यस्तो कार्य निकै असामान्य तरिकाले गरेको छ । अमेरिकी अखबार वालस्ट्रिट जर्नलको पूरा पानामा ‘तपाईंले सुनेको सबै कुरामा विश्वास नगर्नुहोस्’ भनेर विज्ञापन प्रकाशित गर्दै अमेरिकी जनतामाझ अपील गरेको छ ।
हुवावे कम्पनीका कार्यकारी क्याथरिन चेनले अमेरिकी मिडियाहरुलाई खुला पत्र लेख्दै कम्पनीमा एकपटक आएर अध्ययन गरी अमेरिकी सरकारले उत्पन्न गराएको असमझदारीलाई मेटाउन आग्रह गरेका छन् ।
अमेरिकाले उसका साझेदारहरुलाई राष्ट्रिय सुरक्षाका लागि हुवावेका सम्पूर्ण उपकरणलाई प्रयोग गर्न बन्द गर्न दबाब दिँदै आएको छ । केही देशले भने हुवावे कम्पनीलाई सुरक्षा चुनौतीको कारण देखाउँदै अमेरिकाको निर्देशन अनुरुप हुवावेलाई बहिष्कार गरिसकेका छन् ।
साइबर सुरक्षाको क्षेत्रमा लेख्ने एकजना वालस्ट्रिट जर्नलका संवाददाताले ट्वीटरमा पोस्ट गरेको सो विज्ञापनमा अमेरिकी मिडियाका सदस्यलाई हुवावे कम्पनीले आफ्नो कम्पनीमा निरीक्षण गर्न र कर्मचारीसँग भेट्न आउन आह्वान गरेको छ । विज्ञापनमा भनिएको छ, ‘सुनेका सबै कुरामा विश्वास नगर्नुहोस् । आउनुहोस् र हामीलाई हेर्नुहोस् । हामी तपाईहरुलाई भेट्ने प्रतीक्षामा छौं ।’
हुवावेले पश्चिमा मुलुकसमक्ष आफ्नो छवि परिवर्तन गर्ने प्रयास गरेको यो पहिलो पटक होइन । हालै मात्र उसले न्युजिल्यान्डसँग पनि दुई प्रमुख पत्रिका र बिलबोर्डमा विज्ञापन प्रकाशित गरेको थियो । यो चिनियाँ टेलिकम जाइन्ट हुवावे अहिले अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीको विषयमा तीव्र विवादको केन्द्रमा छ । धेरै देशले यसका उत्पादन सामग्रीहरुमाथि सुरक्षा चिन्ता जनाउँदै आएका छन् ।
अस्ट्रेलिया, न्युजिल्यान्ड र अमेरिकाले हुवावेलाई ५जी मोबाइल ब्रोडब्यान्ड नेटवर्कका उसका उपकरण उपलब्ध गराउन प्रतिबन्ध लगाएको छ ।