दुई वर्षका ४ हजार बाच्छाबाच्छी ल्याइँदै, उत्पादनको लाभ लिन डेढ वर्ष पाल्नुपर्ने

चीनमा हुर्केर दुई वर्ष पुगेका त्यस्ता बाच्छाबाच्छी तीन वर्ष पूरा भएपछि मात्रै गर्भधारण भई दूध दिने जनाइएको छ ।

काठमाडौं । प्रदेश ३ सरकारले चीनबाट दुई वर्षका ४ हजार गाईका बाच्छाबाच्छी ल्याउने प्रक्रिया अघि बढाएको छ । चीनमा हुर्केर दुई वर्ष पुगेका त्यस्ता बाच्छाबाच्छी तीन वर्ष पूरा भएपछि मात्रै गर्भधारण भई दूध दिने जनाइएको छ । जसका कारण चीनबाट ल्याएका बाच्छाबाच्छी झन्डै डेढ वर्ष पाल्नुपर्ने भएको हो ।

डेढ वर्ष पालेपछि मात्रै गाईले उत्पादन दिन थाल्ने र त्यसअनुसार नै घाँस तथा पोषणको व्यवस्था गर्नुपर्ने प्रदेश ३ का भूमि, कृषि तथा पशुपक्षी विकासमन्त्री दावा दोर्जे लामाले क्यापिटल नेपाललाई जानकारी दिए । ‘पहिलो चरणमा दुई वर्ष पुगका ४ हजार गाईका बाच्छाबाच्छी ल्याइने छ,’ उनले भने, ‘बाच्छाबाच्छी तीन वर्ष पूरा लागेपछि मात्रै गर्भधारण गर्छन् । त्यसपछि मात्रै दूध दिन थाल्छन् ।’ उनका अनुसार, एकदेखि डेढ वर्षसम्म बाच्छाबाच्छीको आहार र पोषणमा ध्यान दिनुपर्छ ।

प्रदेश ३ को भूमि, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र चाइनाको द साइन्स अफ टेक्नोलोजी कम्पनीसँग गाईका बाच्छाबाच्छी ल्याउनेबारे समझदारी (एमओयू) भइसकेको छ ।

विगत पाँच वर्षअघि दूधमा आत्मनिर्भर बन्ने योजनासहित चिनियाँ गाई ल्याउने योजना भएपनि सङ्घीयतामा गएपछि प्रदेश सरकारले पूरा गर्न लागेको शेर्पाले बताए ।

चिनियाँ क्याम्स डेरी कम्पनीले नेपालको डेरी क्षेत्रमा लगानी गर्न चाहेअनुसार अनुदानमा गाई ल्याइने योजना अघि बढेको प्रदेश सरकारले जनाएको छ । चिनियाँ कम्पनीले ग्रामीण गरिबी न्यूनीकरण गर्ने उद्देश्यसहित नेपालको कृषि क्षेत्रमा लगानी गर्न अनुदानमा गाई ल्याउने भएको हो ।

प्रदेश ३ मा चार हजार गाई ल्याइने र त्यसका लागि २ नम्बर प्रदेशमा घाँसको व्यवस्था र गण्डकी प्रदेशमा ‘प्रजनन केन्द्र’ स्थापना हुनेछ ।

प्रदेश सरकारको दुग्ध विकास बोर्डमा विधेयक पास भएपछि चिनियाँ गाईबाट उत्पादित दूधको व्यवस्थापन र वितरण अघि बढ्ने छ । निजी–सार्वजनिक–साझेदारी मोडलमा दुग्ध विकास बोर्डले दुग्ध उत्पादन तथा वितरण गर्ने योजना बनाएको छ । गाई खरिद, गाईगोठ निर्माण, घाँस, प्रजनन र अन्य पूर्वाधारमा ३२ अर्ब रुपैयाँ खर्चिने प्रदेश सरकारको योजना छ ।

यता, देशभित्र गाई फार्म र त्यसका लागि आवश्यक पूर्वाधार नभएका बेला चीनबाट गाई ल्याउने बारेमा स्थानीय सरकार र स्वदेशी डेरी उद्योग कम्पनीले विरोध गर्दै आएका छन् । सीमित ठाउँ र वर्गलाई लक्ष्य गरी चीनबाट गाई ल्याउने प्रस्ताव स्वदेशी डेरी उद्योगीको हितमा नरहेको डेरी उद्योग सङ्घका अध्यक्ष अरनिको राजभण्डारीले बताए । ‘ग्रामीण गरिबी निवारणको नाम बेचेर सीमित ठाउँ र वर्गलाई लाभ दिन चीनबाट गाई ल्याउन लागिएको छ,’ उनले भने, ‘यहाँ भने गाईलाई सडकमा छोडिन्छ । पोषण, घाँस र पूर्वाधारको व्यवस्था नै गरिएको हुँदैन ।’

सीमित व्यक्ति र प्रदेश सरकारले कमिसनको खेलमा चिनियाँ गाई ल्याउन लागिएको कृषिविज्ञ डा. कृष्ण पौडेलले बताए । उनले घाँस, नश्लसुधार, मौसमी वातावरण तयार नगरी चिनियाँ गाई ल्याउनु कमिसनको खेल भएको बताएका छन् ।