मानव तस्करले मालवी पुर्याएका ४ युवतीको उद्धार, नेपाल ल्याउने तयारी

उद्धार गरिएका चारैजनालाई मालवी प्रहरीले सेफ हाउसमा राखेको छ । उनीहरुलाई नेपाल ल्याउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ । गृह र परराष्ट्र मन्त्रालय हुँदै उनीहरुलाई नेपाल ल्याउन प्रहरीले आवश्यक काम थालेको प्रवक्ता सुवेदीले बताए ।

काठमाडौं । मानव तस्करीले अवैध बाटो हुँदै मावली पुर्याएका चार नेपाली युवतीलाई इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले उद्धार गरेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाको सहकार्यमा एनसीबी मालवीको टोलीले गत साता उनीहरुलाई मालवीको राजधानी लिलोङ्गेबाट उद्धार गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।

उद्धार गरिएकाहरु मानव तस्करीको सञ्जालमार्फत भारतीय बाटो हुँदै मालवी पुगेका थिए । मानव तस्करले भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई लगेर एक महिना राखी उनीहरुलाई मालवी पुर्याएका थिए ।

प्रहरीका अनुसार मानव तस्कर समूहले २०१८ सेप्टेम्बर १३ मा काभ्रेकी सीता खनाल, प्युठानकी वसन्ता पुष्पा जैशीलाई मालवी पुर्याएको थियो । त्यसैगरी सिन्धुलीकी सीता थिङलाई सन् २०१८ को डिसेम्बर २ मा मालवी पुर्याएको प्रवक्ता सुवेदीले जानकारी दिए । उद्धार गरिएकी उर्मिला तामाङलाई पनि तस्करी समूहले त्यसरी नै त्यहाँ पुर्याएको थियो ।

उद्धार गरिएका चारैजनालाई मालवी प्रहरीले सेफ हाउसमा राखेको छ । उनीहरुलाई नेपाल ल्याउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ । गृह र परराष्ट्र मन्त्रालय हुँदै उनीहरुलाई नेपाल ल्याउन प्रहरीले आवश्यक काम थालेको प्रवक्ता सुवेदीले बताए ।

सक्रिय हुँदै इन्टरपोल

पछिल्लो समय नेपाल प्रहरीको इन्टरपोल शाखा सक्रिय हुन थालेको छ । इन्टरपोल नेपालकै सक्रियतामा गत साता मालवीमा मानव तस्करीमार्फत पुगेका नेपाली युवतीलाई उद्धार गरिएको हो ।

गएको साता मात्र भारतबाट उद्धार गरी नेपाल ल्याइएका १६९ नेपाली युवायुवतीको उद्धारमा पनि भारतीय प्रहरीसँग इन्टरपोल नेपालले सहकार्य गरेको थियो ।

‘अपराध गरी देश छाड्नेलाई मात्र होइन, विदेशमा पुगेर आपतविपद्मा परेकाहरुलाई उद्धार गर्छौं,’ इन्टरपोल शाखा नेपालका प्रमुख एसएसपी उमेशराज जोशीले भने ।