स्वदेशी डेरी उद्योगलाइ धराशायी बनाउने गरी विदेशी ल्याउनु जरुरी छैनः कृषिमन्त्री खनाल

‘अमुल भारतमै पनि सहकारी मोडेलेको ठूलो नेटवर्क हो । उसँग त्यो प्रविधि छ ।’ उनले भने, ‘तर, हाम्रा दुध उत्पादक किसान र भर्खरै आत्मनिर्भर हुन खोजेका डेरी सेक्टरलाई समस्या पर्ने गरी अमुल अहिले नै ल्याउनुपर्छ भन्ने जरुरी छैन ।’

काठमाडौं । दुध किसान र डेरी उद्योगलाई धराशायी हुने गरी विदेशी लगानी (एफडीआई) ल्याउन आवश्यक नभएको कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले बताएका छन् । क्यापिटल नेपालसंग कुरा गर्दे भर्खरै आत्मनिर्भर हुन खोजेको डेरी उद्योगलाई समस्या पर्ने गरी बहुराष्टिय कम्पनी अहिले नै भित्राउन जरुरी नभएको मन्त्री खनालले बताएका हुन ।

कृषिजन्य उत्पादनका क्षेत्रमा अहिले नै विदेशी लगानी चाहिएको हो भन्ने क्यापिटल नेपालको प्रश्नमा मन्त्री खनालले यसअघि कृषिजन्य उत्पादनका क्षेत्रमा प्रतिवन्ध लगाइए पनि अहिलेको विधेयकमा के कति कारण हटाइएको हो त्यसबारे उद्योग मन्त्रालयसँग छलफल गरी समावेश गरेरै लैजानुपर्छ भन्ने पक्षमा आफु रहेको मन्त्री खनालले स्पष्टपारे ।

‘कृषिजन्य उत्पादनका क्षेत्र र खासगरी माछा, मौरीपालन र डेरी क्षेत्रमा विदेशी लगानी प्रतिवन्ध गरिएको थियो ।’ उनले भने, ‘तर, अहिले ती उत्पादनका क्षेत्रहरु हटाइएछ । त्यो के कति कारण हटाइएको हो त्यो उद्योग मन्त्रालयसँग छलफल गरेर त्यस्लाई समावेश गरेर लैजानुपर्छ ।’

मन्त्री खनालले सरकारको योजनामा सहयोग गर्न आउनेलाई सदैव खुल्ला गरिए पनि नियम र सीमा बाहिर गएर कसैले पनि लगानी गर्न नपाउने बताए ।

भारतीय अमुल कम्पनी नेपालमा आउन लागेको बिषयमा मन्त्री खनालले तत्कालै विदेशी कम्पनी जरुरी नभएको बताए । ‘अमुल भारतमै पनि सहकारी मोडेलेको ठूलो नेटवर्क हो । उसँग त्यो प्रविधि छ ।’ उनले भने, ‘तर, हाम्रा दुध उत्पादक किसान र भर्खरै आत्मनिर्भर हुन खोजेका डेरी सेक्टरलाई समस्या पर्ने गरी अमुल अहिले नै ल्याउनुपर्छ भन्ने जरुरी छैन ।’

यता, डेरी, माछा र मत्स्यपालन जस्ता कृषि उत्पादनका क्षेत्रमा विदेशी लगानी खुल्ला गर्ने संसदमा दर्ता भएको विधेयकको डेरी व्यवसायीले विरोध गर्दै आएका छन् । नेपाल डेरी एशोसिएसन, डेरी उद्योग संघ र सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले पनि डेरी उद्योगमा विदेशी लगानी स्वीकार्य नहुने भन्दै सरकारको विरोध गरेका छन् ।

यसअघि नै पत्रकार सम्मेलन गरी डेरी व्यवसायीले कृषि उत्पादनका क्षेत्रमा विदेशी लगानी खुल्ला गर्न खोजिएपछि सांकेतिक विरोध सुरु गरेका छन् । कृषि उत्पादन क्षेत्र डेरी, मत्स्यपालन र मौरीपालनका क्षेत्रमा विदेशी लगानी खुल्ला गर्दा स्वदेशी लगानी तथा उद्योग धराशायी हुने डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले बताए । विदेशी लगानी खुल्ला गर्ने वित्तिकै डेरी क्षेत्रको ३० अर्ब लगानी र बार्षिक १२ अर्ब रुपैयाँ विदेसिने उनले बताए । उनले अहिलेकै अवस्थामा विधेयकमा कृषि उत्पादनका क्षेत्रमा विदेशी लगानी प्रतिवन्ध गर्नुपर्ने बताए ।

त्यस्तैगरी, संघका निवर्तमान अध्यक्ष समित केडियाले डेरी क्षेत्रमा वैदेशिक लगानी आएमा सहरबाट गाउँका किसानसम्म पुग्ने दैनिक ३ अर्ब ५० करोड रुपैयाँ आम्दानी धराशायी बन्ने र समग्र कृषिक्षेत्रको अर्थतन्त्रमा असर पुग्ने बताए ।

विभिन्न सर्तसहित अमुल भित्र्याउने र विस्तारै किसानको अपुग भयो भन्दै विदेशबाटै सस्तो धुलो दुध ल्याएर प्रशोधन गर्ने र स्वदेशी डेरी क्षेत्रका लगानी ध्वस्त पार्ने खेल रचिएको डेरी व्यवसायीको आरोप छ ।

तत्काल विधेयकमाथि पुनर्विचार नगरिए शान्तिपूर्ण आन्दोलनमा जान सकिने संघका अध्यक्ष अरनिको राजभण्डारीले बताए ।