विश्वकै तीव्र गतिको इलेक्ट्रिक कार पिनइन्फारिना बाटिस्टा सार्वजनिक

तीव्र गति मात्र यस कारको प्रमुख विशेषता होइन । पिनइन्फारिना बाटिस्टाको प्रमुख विशेषता भनेको यसको सम्पूर्ण कुरा विद्युतीय छ ।

एजेन्सी । इटालीले विश्वकै सबैभन्दा तीव्र गतिको कार डिजाइन गरेको छ । मङ्गलबार जेनेभा मोटर सोमा अनावरण गरिएको यस कारको नाम पिनइन्फारिना बाटिस्टा हो । तीव्र गति मात्र यस कारको प्रमुख विशेषता होइन । पिनइन्फारिना बाटिस्टाको प्रमुख विशेषता भनेको यसको सम्पूर्ण कुरा विद्युतीय छ ।

कारका डिजाइनकर्ता पिनइन्फारिनाले यो कारले दुई सेकेन्डमा प्रतिघण्टा ६२ माइलको गति लिने, १२ सेकेन्डभन्दा कम समयमा १८६ माइल प्रतिघण्टाको माइलेज दिने छ । यसको सबैभन्दा उच्च गति भनेको २५० माइल प्रतिघण्टा रहेको बताइएको छ । एक पटक फुल चार्जमा यसले २८० माइलको यात्रा पूरा गर्नसक्छ । यसको ब्रेक हर्सपावर (बीएचपी) १९०० बराबरको छ ।

जेनेभामा आयोजित अटो डिस्प्लेमा बाटिस्टा मात्र हाइपर इलेक्ट्रिक कार थिएन । ब्याट्री प्रविधिबाट सम्भव हुनसक्ने सम्पूर्ण सीमालाई रिमाकका दुई ओटा कार र टेस्लाको रोडस्टारले पनि पूरा गरिसकेका छन् ।

भारतीय साझेदार कार निर्माण कम्पनी महिन्द्रा ग्रुपले पनि पिनइन्फारिनाको प्रमुख सेयरहिस्सा खरिद गरेको छ । महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्राले आफूले पिनइन्फारिनालाई उल्टो दिशामा लान चाहेका र इलेक्ट्रिक कार पनि लक्जरी, एक्सक्लुसिभ र कलेक्टेबल हुन्छ भन्ने प्रमाणित गर्न चाहेको बताएका छन् ।