अमेरिकन कम्पनीले किन्यो अग्निका तीन ग्राउन्डेड जहाज

अग्निसँग रहेका पाँचओटा जहाजमध्ये दुईओटा जहाज सिम्रिक एयरले लिएको थियो । तीनओटा जहाज पाँच वर्षदेखि विमानस्थलमा थन्किएर बसेका थिए ।

टाट पल्टेको एयरलाइन्स कम्पनी अग्निका तीनओटा ग्राउन्डेड जहाज लिलामी भएको छ । तीनओटा बैङ्कको ऋण नतिरेपछि बैङ्कले तीन जहाजलाई लिलामीमार्फत बिक्री गरेको हो ।

अमेरिकन कम्पनी एभरेस्ट एरो सोलुसनले अग्निका तीनओटा जेट स्ट्रिम ४१ जहाज १ लाख ९५ हजार डलरमा खरिद गरेको हो । प्रभु बैङ्क (तत्कालीन ग्रान्ड बैङ्क)को अगुवाइमा सनराइज बैङ्क र सिभिल बैङ्क (इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स)को सहवित्तीयकरणमा अग्नि एयरले ७१ करोड ऋण लिएको थियो । अग्निले २०६५, २०६६, २०६७ र २०६९ सालमा गरेर पटकपटक ऋण लिएको थियो ।

घरजग्गा व्यवसायी सुधीर बस्नेतको लगानीमा रहेको अग्नि एयर बस्नेतको घरजग्गाको कारोबार बिग्रेपछि समस्याग्रस्त भएको थियो । अग्नि समस्याग्रस्त हुँदा कम्पनीले बैङ्कको ऋण लामो समयसम्म तिर्न सकेन । त्यसपछि तीन बैङ्कले लिलामीका लागि सार्वजनिक सूचना जारी गरेका थिए । बैङ्कहरुले २०७४ कात्तिक १९ गते सूचना जारी गरेका थिए । सो सूचनाका आधारमा अमेरिकाको एभरेस्ट एरो सोलुसनले १ लाख ७० हजार डलर गोप्य सिलबन्दी पेस गरेकोमा तीन बैङ्क र खरिद गर्न चाहने कम्पनीबीच मूल्यमा सम्झौता भएपछि १ लाख ९५ हजार डलरमा खरिद गर्न सहमति भएको थियो । एभरेस्ट एरोले बोलपत्रमा भन्दा २५ हजार डलर बढी तिरेर माघ २ गते जहाज लिएको थियो ।
अग्निका तीन जहाज अमेरिकी कम्पनीलाई लिलामीमार्फत बिक्री गरेको प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । ‘लिलामीबाट पनि ऋण असुल हुँदैन अझै ४० करोडभन्दा बढी तिर्नुपर्ने हुन्छ, त्यसका लागि पुनः अर्काे प्रक्रियाबाट कानुनी उपचारमा जान्छौं,’ उनले भने ।

अग्निसँग रहेका पाँचओटा जहाजमध्ये दुईओटा जहाज सिम्रिक एयरले लिएको थियो । तीनओटा जहाज पाँच वर्षदेखि विमानस्थलमा थन्किएर बसेका थिए । बैङ्कले त्यही बेला पाँचओटै जहाज लिलामी गरेर ऋण असुल गर्न खोजे पनि पाटन अदालतले लिलामी नगर्न अन्तरिम आदेश जारी गरेको थियो । नियमित किस्ता बुझाएको र अरु बुझाउन समय बाँकी हुँदै बैङ्कहरुले लिलामीका लागि सूचना जारी गरेको भन्दै अग्नि एयर अदालत गएपछि अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।