चितवनमा नमुना बन्दै अन्नपूर्ण दुग्ध सहकारी, दैनिक ६ हजार लिटर दूध आपूर्ति

सहकारीले सबै खर्च कटाएर दूध सङ्कलनमार्फत १ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ । गरिब र निमुखा किसानका लागि सहकारीले प्रतिलिटर दूधको बिक्री मूल्यबाट १ रुपैयाँ कटाएर सहकारीले १ रुपैयाँ थप गरी २ रुपैयाँ बचत गरी कोष खडा गरेको छ ।

चितवन । भरतपुर महानगरपालिकामा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी नमुना बन्दै गएको छ । विसं २०४२ सालमा स्थापना भएको उक्त सहकारी दूध सङ्कलन गरी उच्च प्रविधिको प्रयोग गर्दै दुग्धजन्य पदार्थका उत्पादन आफै प्रशोधन गरी गुणस्तरीय दूध उत्पादन गरिरहेको छ ।

अहिले दैनिक ६ हजार लिटर दूध सङ्कलन हुने उक्त सहकारीमा झन्डै ५०० किसान आबद्ध छन् । परम्परागत र निर्वाहमुखी किसानहरुले व्यावसायिक रुपमा उत्पादन गरेको दूध सहकारीमार्फत सङ्कलन गरी विभिन्न दुग्धजन्य पदार्थहरु प्रशोधन गरी बजारीकरण गर्दै आएको छ । चितवनमा अहिले १४२ ओटा दुग्ध उत्पादक सहकारीले पनि अहिले अन्नपूर्ण सहकारीको जस्तै अभ्यास गर्न खोजेको संस्थाका अध्यक्ष भगीरथ तिमल्सिनाले जानकारी दिए ।

अहिले सहकारीले आधुनिक प्रविधिको प्रयोगसँगै आम दुग्ध जन्य किसानलाई व्यावसायिक बनाउँदै लगेको छ । किसानका पशुहरुको बिमा, उन्नत दाना बीउ र ऋण तथा अनुदान पनि सहकारीमार्फत गरिएको र किसानलाई व्यावसायिक बनाउन थप कार्यक्रम अघि बढाइएको अध्यक्ष तिमल्सिनाले बताए ।

उन्नत जात तथा नश्लका झन्डै ८० ओटा गाई सहकारीले आफ्नै व्यवस्थापनमा पालेर दूध उत्पादन गर्दै आएको छ । आम किसानलाई व्यावसायिक बनाउन बिना धितोमा ८ प्रतिशतका दरले कर्जा पनि सहकारीले उपलव्ध गराउँदै आएको छ । अहिले उक्त दुग्ध सहकारीबाट ४ करोड रुपैयाँ कारोबार हुँदै आएको छ ।

यसअघि सहकारीमार्फत सङ्कलन भएको दूध विभिन्न डेरी उद्योगीलाई बिक्री गर्दै आए पनि २०७१ सालबाट भने सहकारीले आफै प्रशोधन केन्द्र राखेर दुग्धजन्य पदार्थ जस्तै पनीर, दही, बटर, घिउ र खुवा लगायतका वस्तुहरु उत्पादन गर्दै आएको छ ।

सहकारीले सबै खर्च कटाएर दूध सङ्कलनमार्फत १ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ । गरिब र निमुखा किसानका लागि सहकारीले प्रतिलिटर दुधको बिक्री मूल्यबाट १ रुपैयाँ कटाएर सहकारीले १ रुपैयाँ थप गरी २ रुपैयाँ बचत गरी कोष खडा गरेको छ । कुनै कारण दूध उत्पादक किसान नसक्ने र पेशाबाट पलायन हुनुपर्ने अवस्थामा पनि उक्त कोषले केही राहत महसुस हुने देखेर यस्तो योजना बनाइएको तिमल्सिनाले बताए ।

घाँसमा आधारित पशुपालन गर्ने किसानका लागि पनि सहकारीले निश्चित सहुलियत दिने गरेको छ । प्रतिकठ्ठा जमिनमा उन्नत जातका घाँस लगाउने किसानलाई वार्षिक ५०० रुपैयाँ सहुलित रकम सहकारीले दिँदै आएको छ ।

करिब १ किलोमिटरकै आसपासमा किसान रहेकाले दूध दुहेपछि १ घण्टाभित्र सहकारीको चिस्यान केन्द्रसम्म आइपुग्छ । सहकारीमा उच्च प्रविधियुक्त प्रशोधन मेसिन र मिल्क एनालाइजर मेसिन छन् । ३ हजार २०० लिटर र ५ हजार ५०० लिटर क्षमताका दुइ ओटा ट्याङ्करमा दूध सङ्कलन हुन्छ ।

दूधबाट उत्पादित वस्तुहरुको बजारीकरणका लागि नारायणगढमा आफ्नै बिक्री कक्ष छ भने विभिन्न जिल्ला र स्थानमा गरी २०० बिक्री केन्द्र छन् ।