तरकारी खेतीबाट व्यवसायी बनेका किसानलाई तरकारी जोन कार्यक्रमको साथ

आधुनिक प्रविधिको प्रयोग गर्दै व्यावसायिक तरकारी खेती गर्ने किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्थापना भएको पार्वतीपुरको तरकारी जोन कार्यक्रमले थप सहयोग गर्दै आएको छ ।

चितवन । २५ वर्षअघि खाडी मुलुकबाट फर्केर स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यले भरतपुर महानगरपालिका पार्वतीपुरका एक किसान तरकारी खेती गरी उद्यमी बन्न सफल भएका छन् ।

टमाटरलगायत व्यावसायिक तरकारी खेती गर्न सुरुमा २० लाख रुपैयाँ लगानी गरेका व्यवसायी अमर सुवेदीले अहिले वार्षिक ७ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका हुन् ।

खाडी देश मलेसियाबाट फर्केपछि आफन्तहरुले तरकारी खेतीमा गरेको सफलता देखेपछि आफूले पनि गरौं भन्ने सोच आएपछि तरकारी खेतीको व्यावसायिक उत्पादन गर्न थालेको सुवेदीको भनाइ छ ।

७ बिघा जग्गामा उनले विभिन्न बेमौसमी तरकारी खेती गर्दै आएका छन् । उनीजस्ता अन्य किसान पनि तरकारी खेती गर्दै व्यावसायिक बन्दै गएका छन् । आधुनिक प्रविधिको प्रयोग गर्दै व्यावसायिक तरकारी खेती गर्ने किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्थापना भएको पार्वतीपुरको तरकारी जोन कार्यक्रमले थप सहयोग गर्दै आएको छ ।

तरकारी जोन कार्यक्रममा अहिले ८३० जना किसान आबद्ध छन् । तरकारी जोन कार्यक्रम आएपछि व्यावसायिक र विपन्न वर्गका किसानले राहत महसुस गरेका छन् । तरकारी किसानलाई कृषिजन्य वस्तु उत्पादन, बजारीकरण, अनुदान सहयोग र आधुनिक प्रविधितर्फ व्यावसायिक बनाउन तरकारी जोन कार्यक्रम सफल भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ तरकारी जोन चितवन कार्यालयकी सूचना अधिकारी एवम् वरिष्ठ कृषिअधिकृत कमला न्यौपानेले बताइन् ।

कृषिमा नयाँ तथा आधुनिक थोपा सिँचाइ, नेट हाउस, नर्सरी, ट्याक्टरलगायत आधुनिक मेसीनहरु अनुदानमा दिन थालेपछि कृषकहरुको उत्साहजनक सहभागिता रहेको उनले बताइन् । घरमा खानका लागि मात्रै तरकारी उत्पादन गर्ने किसान अहिले आएर १० देखि ३० कठ्ठामा तरकारी खेती गरिरहेका छन् ।

हाल उक्त जोनमा आबद्ध ८३० जना किसानले ६६२ हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन गरेको देखाएको छ । खासगरी फर्सी, काँक्रा, गाँजर, लहरे तरकारी, टमाटर, गोभी, राजमालगायतका थुप्रै कृषि उपजहरु उत्पादन हुने गरेका छन् ।

यहाँ उत्पादन भएका तरकारी नारायणगढ, काठमाडौं, बुटवल, पोखरालगायत अन्य थुप्रै जिल्लामा जाने गरेको किसानले बताएका छन् ।

केही समयअघि चितवनका एक किसानले उत्पादन गरेको बन्दा नबिकेपछि बारीमा नष्ट गर्नुपरेको स्मरण गराउँदै वरिष्ठ कृषिअधिकृत न्यौपानेले यस विषयमा राज्यले गम्भीर भएर लाग्नुपर्ने बताइन् ।