‘सम्भावनै सम्भावनाको क्षेत्र औषधि उद्योग’

उपराष्ट्रपति नन्दबहादुर पुनले गुणस्तरीय औषधि उत्पादनका क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । देउराली जनता फर्मास्युटिकल्स प्रालिको २७ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

पुनले औषधि उत्पादन र प्रभावकारी वितरण गर्न स्वदेशी औषधि उद्योगले खेलेको भूमिको प्रशंसा गरे । उनले नेपाली औषधिजन्य तथा कच्चा पदार्थ प्रशोधन गरेर औषधि उत्पादन गरी आयात प्रतिस्थापन गर्न सकिने धारणा व्यक्त गरे ।

नेपालले अझै पनि ५६ प्रतिशत औषधि विदेशबाट आयात गर्दै आएको छ । यदि स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न सने नयाँ उद्योग स्थापना हुने आयात प्रतिस्थापन गर्न बाटो खुल्ने उनको भनाइ छ ।

‘अहिले ५६ प्रतिशत औषधि विदेशबाट आयात हुन्छ । ४४ प्रतिशत मात्र स्वदेशी उत्पादन छ ।’ पुनले भने, ‘देशलाई औषधिमा आत्मनिर्भर बनाउन लगानी बढाउनुपर्छ ।’  त्यस्तै नेकपा एमालेका महासचिव इश्वर पोखरेलले देशको विकास गरी समृद्धिको दिशातर्फ लैजान ठोस कार्यक्रम र नीति आवश्यक रहेको बताए । सरकार, राजनीतिक दल र व्यवसायी एक–आपसमा मिलेर अघि बढ्नुपर्ने बताए ।

आगामी १० बर्षभित्र गरिवी निवारण गर्न नयाँ बन्ने सरकारले लगानी योग्य नीति ल्याउनुपर्ने देउराली फर्मास्युटिकल्स प्रालिका कार्यकारी निर्देशक हरिभक्त शर्माले बताए । देउराली जनता जस्ता कम्तीमा ५ हजार औषधि उद्योगहरु खोल्न सके स्वास्थ्यका क्षेत्रमा ठूलो सुधार हुने धारणा राखे । उनले सरकारी आयातमुखी नीतिलाई निरुत्साहित गरेर उत्पादनमुखी नीति अवलम्बन गर्नुपर्ने बताए ।
देउराली फर्मास्युटिकल्स प्रालिले अत्याधुनिक उपकरणबाट ३ सय २० प्रकारका औषधि उत्पादन गर्दै आएको छ । वि.सं २०४७ सालबाट उत्पादन सुरु गरेको कम्पनीले ४ सय ५० व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।