पोखरा । १०९ औँ अन्तराष्ट्रि«य श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा पोखरा चेम्बर अफ कमर्सले विभिन्न क्षेत्रका ७ जना महिलालाई सम्मान गरेको छ ।
सम्मानित महिलाहरुमा पर्यटन क्षेत्रबाट इन्दिरा बराल, शिक्षा क्षेत्रबाट उमा लामिछाने, सहकारीबाट कमला देवी गिरी, उद्यमशिलतातर्फ राजकुमारी पन्थी, संचारतर्फ नरमाया रसाइली, कलाकारीतातर्फ मिलन शेरचन र यातायातबाट ट्याक्सी चालक विष्णु कुँवर छन्।
उनीहरुलाई गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरी चुमानले दोसल्ला र सम्मान पत्रले सम्मान गरे । सम्मान कार्यक्रममा बोल्दै चुमानले महिला पुरुष भनेर विभाजित मानसिकताबाट नभई सभ्य र समतामुलक समाजकालागि सबै जुट्नु पर्ने बताए । उनले लैङ्गिक विभेदको अन्त्य गर्न सके सभ्य समाजको निर्माण हुनेसमेत बताए । ‘पछिल्लो समय हरेक क्षेत्रमा महिलाको गर्विलो उपस्थिती रहेको छ, सामाजिक, आर्थिक, सांस्कृतिक एवं राजनैतिक सशक्तिकरणबाट अघि बढ्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रभा कोइराला र पुष्पा केसीले महिलाको श्रमलाई अर्थमा रुपान्तरण गर्नुपर्ने बताए । विहान देखि बेलुका सम्म काममा खटिने गृहिणी महिलाको श्रमको मूल्यांकन नहुँदा उनीहरु माथि विभेद भएको उनीहरुले बताए ।
व्यवसायीहरुको संस्था चेम्बर अफ कमर्सले सामाजिक क्षेत्रमा उत्तरदायित्व बहन गर्दै लैङ्गिक समानताकालागि एकतावद्ध भएर हिंसा विरुद्धको अभियानमा सधै सहकार्य गर्ने चेम्बरका अध्यक्ष किसान सुनारले बताए ।
सोही कार्यक्रमको अवसरमा गीता तिवारीको संयोजकत्वमा १३ सदस्यीय चेम्बर अफ कर्मस महिला समिति गठन समेत गरिएको छ ।