माछापालनबाट करोडपति बनेका मुखिया भन्छन् : अमेरिकाको सपना नेपालमै पूरा भएको छ

अहिले मुखियाले काजल मत्स्य प्रजनन फार्म खोलेर विभिन्न ८ प्रजातिका माछा पालन गर्दै आएका छन् । महोत्तरी जिल्ला पुर्ख्याैली घर भएका मुखियाले एउटा पोखरीबाट सुरु गरेको माछापालन व्यवसाय अहिले ९० ओटा पोखरीमा फैलिएको छ ।

काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ, २५ रुपैयाँ लगानीमा माछा पालनबाट करोडपति ! तर, धनुषा दूधमतीका एक किसान माछापालनबाटै मनग्गे आम्दानी गर्न सफल भएका छन् ।

श्रीरेश्वर नगरपालिका ५ दूधमतीका माछापालक किसान रामसोभित मुखियाले २०४० सालमा २५ रुपयाँको भुरा किनेर व्यावसायिक माछापालन सुरु गरेपछि उनको जीवन फेरिएको छ । बाउबाजेको दुई धुर जमिन र छाप्रोबाहेक केही नभएका उनले त्यसबेला जसोतसो २५ रुपैयाँ बचाएर माछाका भुरा किनेर व्यवसाय सुरु गरे ।

उनी १५ वर्षको उमेर छँदा गाउँमा अरुले माछा पालेर राम्रो आम्दानी गरेको चाल पाएपछि उनले पनि यही व्यवसाय सुरु गरे । २५ रुपैयाँमा पाँच सय माछाका भुरा किनेर सानो पोखरीमा पाल्न सुरु गरे । त्यसको ६ महिनापछि २४ सयमा माछा बेचेको उनी बताउँछन् । त्यसपछि विस्तारै रकम जुटाउँदै माछाका भुरासँगै तीन ओटा पोखरीबाट क्रमशः बढाउँदै लगे ।

अहिले मुखियाले काजल मत्स्य प्रजनन फार्म खोलेर विभिन्न ८ प्रजातिका माछा पालन गर्दै आएका छन् । महोत्तरी जिल्ला पुर्ख्याैली घर भएका मुखियाले एउटा पोखरीबाट सुरु गरेको माछापालन व्यवसाय अहिले ९० ओटा पोखरीमा फैलिएको छ ।

उनले भने, ‘हाम्रो परिवार गरिब थियो । मैले माछापालन गर्दा बुवाको जमिन घडेरीका लागि ५ धुर मात्र थियो । अहिले १२ बिघा जमिन जोड्न सफल भएको छु ।’

अहिले उनले ८० बिघा जमिन भाडामा लिई धनुषाको महेन्द्रनगर, औराहीलगायत विभिन्न ठाउँमा माछा पालन गरेका छन् ।

‘अहिले त मेरो घरमा सफारी गाडी छ, १२ बिघा जमिन आफैले जोडेको छु । छोराछोरी काठमाडौंका रामै्र स्कुल र कलेजमा पढिरहेका छन्,’ उनले भने ।

कृषि विकास बैङ्कबाट ५ प्रतिशत ब्याजमा दुई करोड रुपैयाँ ऋण लिई व्यवसाय विस्तार गरेका छन् । माछा पोखरीका लागि १० वर्षको सम्झौता गरी वार्षिक प्रतिबिघा ७५ हजार रुपैयाँ भाडा तिरिरहेको मुखियाले जानकारी दिए ।

अरुले माछाबाटै राम्रो आम्दानी गरेको देखेपछि आफू पनि उत्साहित भएर सबै कुरा त्यागेर माछापालनमा लागेको मुखिया बताउँछन् । ‘अरुले माछाखेती गरेको देखेपछि मैले पनि जनकपुर गई भुरा ल्याउन नाम लेखाएँ, उनले भने, ‘मेरो माछाको बजार स्थानीय र काठमाडौं हो । काठमाडौंमा जिउँदो माछा पनि पठाउँछु ।

दैनिक ५ सय किलो माछा बिक्री गर्छन् मुखिया । उनका माछा किलोको २०० देखि ३०० रुपैयाँमा बिक्री भइरहेको छ । बजारको अभाव छ कि छैन भन्ने क्यापिटल नेपालको प्रश्नमा मुखियाले बजारको समस्या नभएको बताए । ‘माछा निकाल्ने मलाहलाई १० प्रतिशत दिन्छौं,’ उनले भने, ‘एक लाखबराबर १० हजार रुपैयाँ मलाहलाई दिनुपर्छ ।’

मुखियाले अहिले १५ जनालाई रोजगारीसमेत दिएका छन् । मुखियाको काजल मत्स्य प्रजनन फार्मले वार्षिक ३ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्छ ।

मुखियाले माछाका लागि दाना भारतबाट ल्याउने गरेका छन् । विदेशबाट ल्याइने माछा र दाना स्वदेशमै व्यवस्थापन हुन सके अर्बौं रुपैयाँ बिदेसिनबाट रोकिने मुखियाको तर्क छ । सामान्य लेखपढ गर्न नजाने पनि व्यवसायप्रति मुखियाले देखाएको मेहनत सबै किसानका लागि अनुकरणीय छ ।

पछिल्लो समय युवा जाँगर बिदेसिन बाध्य भएको स्मरण गर्दै मुखियाले भने, ‘म मेहनत गरेर अहिले यो अवस्थामा आउन सकें भने म जस्ता अरु किसानले पनि गर्न सके उनीहरुको आयस्तर बढ्ने छ । खाडी जानु पर्दैन । हामीहरुको अमेरिकी सपना नेपालमै पूरा हुनेछ ।’