बधशाला निर्माणका लागि कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको संयोजकत्वमा एक समिति गठन गरिएकोे छ । सो समितिमा मासु व्यवसायी, किसान, पशु सेवा केन्द्र, विभिन्न स्थानीय तहलगायतको सहभागिता छ ।
राँझा । बाँकेको कोहलपुरमा निजीक्षेत्रसँगको साझेदारीमा अत्याधुनिक पशु बधशाला निर्माण हुनेभएको छ । प्रदेश सरकार, स्थानीय तह, किसान र सहकारी संस्थाको सक्रियतामा सो बधशाला बन्ने भएको हो ।
२० करोड रूपैयाँको लागतमा निर्माण गरिने उक्त बधशालाका लागि प्रदेश सरकारले एक करोड ९७ लाख ५० हजार रूपैयाँ विनियोजन गरिसकेको र सो रकमको आधा हिस्सा स्थानीय तहले व्यहोर्नुपर्ने छ । बधशाला निर्माणका लागि कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको संयोजकत्वमा एक समिति गठन गरिएकोे छ । सो समितिमा मासु व्यवसायी, किसान, पशु सेवा केन्द्र, विभिन्न स्थानीय तहलगायतको सहभागिता छ ।
‘‘खसी उत्पादन गर्ने किसान र निजी क्षेत्रसमेत वधशालाको हिस्सेदार बन्नेछन्’’ नगरप्रमुख रावतले भने, ‘‘बधशाला निर्माणपछि यसको व्यवस्थापन दिगो राख्न यो नमुना उपयुक्त हुनेछ । सरकारले अन्य स्थानमा बनाएका बधशाला अव्यवस्थित र अलपत्र परेकामा यसबाट पाठ सिकेर कोहलपुरमा सबैको सहभागिता हुने व्यवस्था गरिएको उल्लेख गर्दै उनले भने, ‘‘यसका लागि आवश्यक तयारीसमेत गरिसकेका छौँ, यो नमुनाअनुसार सरकारसँगै मासु व्यवसायी, उत्पादक किसान र उपभोक्तालाई समेत समावेश गराइनेछ ।’’
बधशाला निर्माणका लागि उक्त नगरपालिकाले वडा नम्बर १२ मा एक बिघा ३ कठ्ठा जग्गा समेत छुट्याइसकेको छ । बधशाला निर्माणका लागि प्राविधिक सहयोग हेफर इन्टरनेसनल नामक संस्थाले गरिरहेको छ । हेफरका बजार विकास विज्ञ प्रकाश केसीले ‘फोर पी’ मोडलमा जाँदा प्रत्यक्षरुपमा उत्पादक, किसान र उपभोक्तालाई समेत सहभागी गराउन सकिने बताए । उनका अनुसार खसी मात्र काट्न मिल्ने बधशाला बनाउन २० करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ । उत्पादकहरूसमेत यसको हिस्सेदार बन्दा बधशाला व्यवस्थित हुने र यसबाट आउने लाभको उपभोग पनि सबै हिस्सेदारले गर्न पाउने भएकाले यसको व्यवस्थापनमा सहज हुने उनको भनाइ थियो । बधशालामा दैनिक पाँचसय खसी काट्न मिल्नेछ । बधशालामा कम लगानीका लागि मासु उत्पादक किसान, निजी क्षेत्र र सरकारले समेत रकमको जोहो गर्न थालेका छन् ।
बधशालाको डीपीआर भइसकेको छ । वधशाला बन्ने भएपछि मासु व्यवसायी पनि उत्साहित भएको कोहलपुर मासु व्यवसायी समितिका अध्यक्ष रामकृष्ण रानाले बताए । उनका अनुसार कोहलपुरमा थुप्रै मासु पसल भएपनि तिनमा एकरूपता छैन । मनोमानी व्यवसाय गर्नेलाई पनि वधशाला निर्माणले नियन्त्रण गर्ने उनको भनाइ थियो ।
सहरोन्मुख कोहलपुरमा करिब दुईसय साना, मझौला र ठूला मासु पसल रहेपनि बधशाला अभावमा यहाँका मासु व्यवसायीले अव्यवस्थित रूपमा खसी, राँगा, बङ्गुर बध गर्दै आएकाले मासुको स्वच्छता र व्यवसायीको समस्यालाई ध्यान दिएर स्वच्छ मासु आपूर्तिका लागि सहज व्यवस्था गराउन बधशाला निर्माण गर्न लागिएको नगरपालिकाका सदस्य भीमबहादुर नेपालीले जानकारी दिए ।
‘‘बधशाला निर्माण तथा सञ्चालनका लागि जिल्लाका स्थानीय सरकारका प्रमुख पदाधिकारी तथा संघ संस्थाका प्रतिनिधिसँग विभिन्न चरणमा छलफलसमेत गरिसकिएको छ’’ उनले भने, ‘‘सबैले सहयोग गर्ने प्रतिबद्वता जनाएका छन्, बधशाला निर्माणका लागि प्रदेश सरकारले विनियोजन गरेको रकमको आधा बाँकेका स्थानीय तहहरुले उपलब्ध गराउनेछन ।’’ –भेषराज बस्नेत/रासस