‘बिप्लवको निसानामा भारतीय लगानीका उद्योगधन्दा’ – सुरक्षा विश्लेषण

बिप्लव समूहले फागुन १० गते चन्दा नदिएको झोकमा एक जनाको ज्यानै जाने गरी एनसेल मुख्यालयमा बम विष्फोट गराएको थियो । त्यसैगरी केही महिनाअघि सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनामा पनि बम पड्काएको थियो । दैलेखमा रहेको ९०० मेगावाटको माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनामा बम पडकाएर चन्दा माग्ने दाउ असफल भएपछि बिप्लव समूहले उद्योगमाथि नै निसाना बनाएको प्रहरीको दाबी छ ।

काठमाडौं । आउँदो चैतमा हुन लागेको लगानी सम्मेलनलाई प्रभावित पार्न नेकपा बिप्लव समूहले भारतीय लगानीमा खुलेका उद्योग धन्दामाथि निसाना बनाउन थालेको छ । सरकारले चैत १५ र १६ गते लगानी सम्मेलनको आयोजना गर्दै छ ।

भारतीय लगानीमा नेपालमा खुलेका उद्योग धन्दालाई मुख्य ‘टार्गेट’ बनाएर बिप्लव माओवादी अघि बढेको नेपाल प्रहरी स्रोतले बताएको छ । ‘खासगरी नेपालमा लगानी सम्मेलन हुन लागेको र त्यसलाई प्रभावित पार्न बहुराष्ट्रिय कम्पनीमाथि निसाना बनाएको छ,’ नेपाल प्रहरी उच्च स्रोतले क्यापिटल नेपाललाई भन्यो, ‘बिप्लवले युनिलिभर नेपाल, डाबर नेपाल, बोटलर्स नेपाल, बोटलर्स नेपाल तराई, सूर्य नेपाल, नेपाल एसबीआई बैङ्क, एभरेष्ट बैङ्क ,आरती स्टिप्सलगायत बहुराष्ट्रिय कम्पनीमाथि आक्रमणको योजना बनाएको छ ।’

भारतीय कम्पनीले साझेदारीमा नेपालमा ठूलो लगानी गरेका छन् । सयौंको सङ्ख्यामा रोजगारी प्रदान गरेका छन् । तर, बिप्लवले तिनै कम्पनीलाई निसाना बनाएर अघि बढेको प्रहरी स्रोत बताउँछ ।

बिप्लव समूहले फागुन १० गते चन्दा नदिएको झोकमा एक जनाको ज्यानै जाने गरी एनसेल मुख्यालयमा बम विष्फोट गराएको थियो । त्यसैगरी केही महिनाअघि सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनामा पनि बम पड्काएको थियो । दैलेखमा रहेको ९०० मेगावाटको माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनामा बम पडकाएर चन्दा माग्ने दाउ असफल भएपछि बिप्लव समूहले उद्योगमाथि नै निसाना बनाएको प्रहरीको दाबी छ ।

‘भारतीय लगानीमा खुलेका र निर्माणका चरणमा रहेका आयोजनामाथि उनीहरुको वक्रदृष्टि छ,’ प्रहरीका एक उच्च अधिकारीले भने, ‘त्यही भएर सरकारले सुरक्षा सतर्कता अपनाएको छ ।’

‘विप्लवले केही दिनदेखि बहुराष्ट्रिय कम्पनी र स्वदेशी उद्योगीमाथि निसाना बनाइरहेको छ,’ एक उद्योगीले भने, ‘यसरी लगानीकर्तालाई हतोत्साहित बनाउने काम कसैबाट पनि हुनुहुँदैन ।’

लगानी सम्मेलनको मुखमै यस्ता अप्रिय घटना हुँदा विश्व बजारमा नकारात्मक सन्देश जाने उनको भनाइ छ । ‘लगानीकर्तालाई त्रसित बनाउँदा देशमा लगानी भित्रिँदैन,’ ती उद्योगीले भने, ‘सरकारले यस्ता कार्य गर्नेलाई तत्काल नियन्त्रणमा लिनुपर्छ ।’

स्रोतका अनुसार बिप्लव समूह भारतीय लगानीमा बनेका आयोजनालाई लक्ष्य गर्दै बिस्फोट गराउने र भारतीय लगानीमा खुलेका अन्य उद्योगबाट चन्दा असुल्ने रणनीतिमा रहेको सबै सुरक्षा निकाएको विश्लेषण गृहमा पुगेको छ ।

बिप्लव समूहबाट पीडित उद्योग तथा व्यक्तिले चन्दा आतङ्कबारे प्रहरीमा खबर नगरे पनि उनीहरुको सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

बिप्लव समूहको गतिविधिलाई ध्यानमा राख्दै भारतीय लगानीमा बनेका आयोजना तथा विदेशी कम्पनीको सुरक्षामा ध्यान दिइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।

क्यापिटल नेपालसँग कुरा गर्दै प्रवक्ता सुवेदीले भने, ‘बिप्लव समूहको गतिविधिलाई ध्यानमा राखी देशका दूरदराजमा निमार्णाधीन आयोजनाको सुरक्षा सतर्कता अपनाइएको छ ।’

‘कतिपय परियोजनाले स्थानीयस्तरमा सुरक्षा माग गरेका हुन्छन्, त्यो कुरा जिल्लास्तरबाटै पूरा हुने गरेको छ, केही केन्द्रीयस्तरमा पनि गुनासा आउने गरेका छन्, हामी गम्भीर छौं,’ उनले भने ।