रिलायन्स फाइनान्सको शेयर कारोबार रोक्का

काठमाडौं । रिलायन्स फाइनान्सको सम्पूर्ण शेयर कारोबार दोस्रो बजारमा रोक्का भएको छ ।
धितोपत्र कारोबारमा फरक पार्ने सूचना तत्काल नदिएको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बुधबारदेखि रिललायन्स फाइनान्सको कारोबार दोस्रो बजारमा रोक्का गरेको हो ।

कम्पनीहरुले दोस्रो बजारमा प्रभाव पार्ने कुनै पनि सूचना निर्णय हुने बित्तिकै नेप्सेलाई दिनु पर्ने हुन्छ । तर, फाइनान्सले गत फागुन २६ गते आइतबार बसेको सञ्चालक समिति बैठकले गरेको बोनस र नगद लाभांश दिने निर्णयको जनकारी बुधवार मात्रै नेप्सेलाई गराएको थियो ।

नेप्सेले सूचना ढिलो पठाउनुको कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नसमेत फाइनान्सलाई निर्देशन दिएको छ ।
नेप्सेले समयमै स्पष्टीकरण नदिए सूचीकरण बिनियमावली,२०७५ को विनियम १६(१) ख अनुसार कारबाही गर्ने चेतावनी समेत रिलायन्स फाइनान्सलाई दिएको छ ।