सतहत्तरै जिल्लामा अनुगमन निरीक्षक नियुक्त तथा सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्दै वाणिज्य विभाग

विभागले नियमावली निर्माण गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको र त्यहाँबाट स्वीकृत भएर कानुन मन्त्रालयमा पुगिसेको महाप्रबन्धक गौचनले बताए । कानुन मन्त्रालयबाट मन्त्रिपरिषदमा पेस भएपछि पास हुने छ ।

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७७ ओटै जिल्लामा अनुगमन निरीक्षक नियुक्त गर्ने तयारी गरेको छ । बजार अनुगमन तथा निरीक्षणलाई प्रभावकारी बनाउन विभागले निरीक्षक नियुक्त गर्न आवश्यक नियमावली बनाइरहेको विभागका महाप्रबन्धक योगेन्द्र गौचनले जानकारी दिए ।

विभागले नियमावली निर्माण गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको र त्यहाँबाट स्वीकृत भएर कानुन मन्त्रालयमा पुगिसेको महाप्रबन्धक गौचनले बताए । कानुन मन्त्रालयबाट मन्त्रिपरिषदमा पेस भएपछि पास हुने छ ।

मन्त्रिपरिषदबाट नियमावली पास भएर आएलगत्तै सबै जिल्लामा अनुगमन निरीक्षक नियुक्त हुने छन् । हाल कर्मचारी अभावकै कारण प्रभावकारी रुपमा अनुगमन तथा निरीक्षण गर्न नसकिएको महाप्रबन्धक गौचनको भनाइ छ ।

विभागले मौलिक हकको ऐन आएसँगै कात्तिकदेखि फागुनसम्ममा एक सय ५ ओटा व्यावसायिक फर्मलाई जरिवाना गरेको छ । मौलिक हकमा उपभोक्तालाई ठगी गर्ने व्यावसायिक फर्मलाई ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना तिराउन सक्नेछन् । जसअन्तर्गत ती फर्महरुलाई २५ लाख रुपैयाँ जरिवाना तिराइएको विभागका निर्देशक रघुनाथ महतले जानकारी दिए । उनले अनुगमन निरीक्षकले अनुगमनकै क्रममा कारबाही वा जरिवाना गराउन सक्ने अधिकार प्राप्त भएको बताए ।

यस्तै ७ ओटै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्न लागिएको जनाइएको छ । उपभोक्ता नियमावली पास भएपछि अदालत स्थापनाको प्रक्रियालाई पनि अगाडि बढाउने तयारी विभागको छ । यस वर्ष दुई ओटा मुद्दा छिनोफानो भएको र एउटा मुद्दा अदालतमा पेस भएको जनाइएको छ । अदालतले हेर्नुपर्ने मुद्दा सरकारी वकिलमार्फत अदालतमा पेश गर्ने गरिएको र विभागले नै टुङ्गाउन सक्ने मुद्दा भने विभागमार्फत नै टुङ्गाउने गरिएको उल्लेख छ । हाल जिल्ला अदालतमार्फत उपभोक्ताको मुद्दा हेर्ने गरिएको छ ।

विभागले एक वर्षको अवधिमा एक हजार तीन सय ८१ ओटा फर्ममा अनुगमन गरेको छ । गत वर्ष चार हजार ९०० फर्ममा अनुगमन गरेको थियो । विभागले चैत्र १ गते विश्व उपभोक्ता अधिकार दिवस मनाउने तयारी गरिरहेको छ । ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार ः हामी सबैको सरोकार’ भन्ने मूल नारासहित मनाउन लागिएको सो दिवस उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम छ ।