अर्थले बजेट नदिएपछि कृषिले मल खरिद नगर्दा यस वर्ष मल अभाव हुने

अर्थले बजेट नदिँदा नेपाल सरकारले भारत सरकार समक्ष(जीटुजी)मार्फत ल्याउने भनिएको ५० हजार मेट्रिक टन मल खरिदसमेत हुन नसक्ने देखिएको भण्डारीले बताए ।

काठमाडौं । यस वर्ष बर्षे बालीका लागि आवश्यक रासायनिक मलको अभाव हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अहिलेसम्म मल खरिद गर्न नसक्दा मल अभाव हुने करिब पक्का जस्तै भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बजेट नभएको र त्यस्का लागि अर्थमन्त्रालयमा बजेट माग गरे पनि अर्थले अहिलेसम्म रकम उपलव्ध नगराएपछि रासायनिक मल खरिद गर्न नसकेको बताएको छ ।

कृषि मन्त्रालयले मल खरिदका लागि ४ अर्ब रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरे पनि अर्थले बजेट उपलब्ध नगराएको भन्दै पन्छिएपछि किसानलाई भने मर्का पर्ने देखिएको छ । बजेट माग गरेको लामोसमय भए पनि अझै अर्थले रकम निकासा नगरेको मन्त्रालयका कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका प्रमुख नेत्र भण्डारीले क्यापिटल नेपाललाई जानकारी दिए ।

अर्थले बजेट नदिँदा नेपाल सरकारले भारत सरकार समक्ष(जीटुजी)मार्फत ल्याउने भनिएको ५० हजार मेट्रिक टन मल खरिदसमेत हुन नसक्ने देखिएको भण्डारीले बताए । ‘अर्थसँग ४ अर्ब बजेट माग गरेका छौं’ उनले भने, ‘अझै निकासा हुन सकेको छैन । बजेट निकास नभएकाले जीटुजीमार्फत ५० हजार मेट्रिकटन मल पनि ल्याउन सकिएको छैन् ।’

बजेट अभावकै कारण मल खरिदमा ढिलाई हुँदा यस वर्षको जेठ र असारका लागि मलको अभाव हुनसक्ने भण्डारीले बताए । ‘बजेट नहुँदा मल खरिद हुन सकेको छैन’ उनले भने, ‘यसबर्ष चैतेधान र अर्को बर्ष धानको व्यडका लागि जेठ र असारमासमेत मल अभाव हुने भयो ।’ मलको दिर्घकालीन व्यवस्थापनका लागि समझदारी(एमओयू), मुल्य समायोजन र मलमा कति अनुदान दिने भन्ने सर्त पूरा गर्न कृषि मन्त्रालय र अर्थमन्त्रालयबीच आन्तरिक छलफल भइरहेको मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए । उनले अर्थमन्त्रालयले निश्चित सर्त पूरा गरेपछि मात्रै बजेट निकासा गर्ने हुँदा केही ढिला भएको बताए ।

अबको २/३ महिनाभित्र मल खरिद प्रक्रियाका लागि अर्थसँग छलफल भइरहेको सुवेदीले बताए । उनले जीटुजीअन्र्तगत अल्पकालीन योजनामार्फत भएपनि २० हजार डीएपी र ३० हजार युरिया मल ल्याउने र किसानलाई मलको अभाव हुन नदिने बताए । सरकारले यसबर्ष रासायनिक मल खरिदका लागि ६ अर्ब रुपैयाँ छुट्याए पनि बजेट निकासा नहुँदा मल अभाव हुने देखिएको हो । हालसम्म साढे २ लाख मेट्रिकटन मल मात्रै खरिद भएको छ ।

अहिले मुलुकभर झन्डै ६ लाख टन रासायनिक मलको माग भए पनि विदेशबाट ३ लाख मेट्रिकटन मल पनि खरिद गर्न सकिएको छैन् । जसका कारण किसानले खेती लगाउन समयमै मल नपाउने पक्का जस्तै भएको छ ।