विप्लव समूहले गत असारमै भारतीय लगानीका आयोजनामाथि आक्रमणको निणय गरेको थियो

विप्लव समूहले भारतीय लगानीमा बुटवलमा बन्न लागेको भारतीय गोरखा पेन्सन क्याम्पमा आक्रमणको निर्णय गरेको खुलेको छ । त्यसैगरी गोरखा भर्तीलाई पनि खारेज गर्न विभिन्नखाले कार्यहरु गर्नेसमेत निणर्य भएको पाइएको छ ।

काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले भारतीय लगानीका उद्योगमाथि आक्रमण थाल्ने निणर्य गएको असारमै गरेको र सोहीअनुसार चरणबद्धरुपमा बम विस्टफाेट गराएको अनुसन्धानबाट खुलेको छ ।

गएको असारमा विप्लव समूहको माओवादी पार्टीको केन्द्रीय समितिको बैठकमा नै यस्तो निणर्य भएको पक्राउ परेका बिप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को साथबाट बरामद भएको दस्तावेजमा उल्लेख भएको पाइएको छ ।

असारमै विप्लव समूहले भारतीय लगानीमा बुटवलमा बन्न लागेको भारतीय गोरखा पेन्सन क्याम्पमा आक्रमणको निर्णय गरेको खुलेको छ । त्यसैगरी गोरखा भर्तीलाई पनि खारेज गर्न विभिन्नखाले कार्यहरु गर्नेसमेत निणर्य भएको पाइएको छ ।

त्यस्तै भारतीय लगानीमा निर्माणाधीन ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना र ९०० मेगावाटको अरुण तेस्रोमा आक्रमण गर्ने भनिएको थियो । सोही निणर्यअनुसार नै विप्लव समूहले अरुण तेस्रो र अपर कर्णालीमा बम विस्फाेट गराएको थियो । अरुण तेस्रोमा एक महिनाअघि विप्लव समूहले बम हानेका थियो ।

यसरी हुन्छ अर्थ सङ्कलन

असारमै बसेको पार्टी केन्द्रीय समितिको बैठकले भारतीय आयोजनामा बम हान्ने र नेपाली व्यापारी तथा उद्योगबाट चन्दा असुल्ने नियर्ण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

स्रोतका अनुसार विप्लव समूहले नेपालका ठूला ठेकेदार, व्पायापारी, र वैदेशिक रोजगार व्यवसायीबाट रकम उठाउने निणर्यअनुसार पार्टीले भित्रभित्रै ताकेता गरेको छ ।

चन्दा नदिएको झोकमा गत फागुनमा एनसेल मुख्यालयमा बम बिस्टफाेट गरेको विप्लव समूहले गएको साता मात्र चन्दा नदिएकै कारण वैदेशिक राेजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुगङको घरमा बम बिस्फाेट गराएको थियो ।

विप्लव समूहले नेपालका ठूला ठेकेदार कम्पनी पप्पु कन्टक्सन, कालिका लगायतसँग पनि मोटो रकम चन्दा माग गर्ने पार्टीको केन्द्रीय समितिले निर्णय गरेको थियो ।

विप्लव समूहको प्रत्येक ब्यूरोलाई साढे २ करोड रुपैयाँभन्दा बढी चन्दा उठाएर पार्टी हेडक्वार्टरलाई बुझाउने भनेर बैठकले नियर्णसमेत गरेको स्रोतले जानकारी दियो । विप्लव समूहका केही गोप्य सूचना गृह मन्त्रालयमा पुगेको स्रोतको दाबी छ ।

गत मङ्गलबार सरकारले विप्लव समूहका सम्पूर्ण गतिविधिमा प्रतिबन्ध लगाएपछि उसको विगतका योजनालाई ख्याल गरी त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाएको प्रहरीले जानकारी दिएको छ ।

‘विप्लव समूहको गतिविधि हुन नदिने सरकारले निणर्य गरेको छ, सरकारले नगर भनेको कुरा गर्नु अपराध हो,’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने, ‘त्यसो गरेको भेटिएमा कानुनी कारवाही हुन्छ ।’

‘हिजो घटना विशेषलाई लिएर अनुसन्धान हुन्थ्यो भने आज उसकf सबै कुरामा निगरानी छ,’ प्रवक्ता सुवेदीले भने । विप्लव समूहको निसानामा रहेका उद्योग कलकारखानामा सुरक्षा व्यवस्था मिलाइएको पनि एसएसपी सुवेदीले भने ।

‘सुरक्षामा कुनै कमि छैन, जिल्लास्तरमा रहेका उद्योग कलकारखानाको आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छौ,’ उनले भने ।