बजार अनुगमनमा निस्कने बेला ट्वाईलेटमा गएर ब्यापारीलाई खबर गर्ने प्रवृत्ति छः उद्योग मन्त्री यादव

उनले बजार अनुगमनमा सहमति भएर बजारमा निस्कने बेला सौचालयमा गएर खबर गर्ने प्रवृत्ति सबै पक्षमा रहेको बताए । जस्का कारण प्रभावकारी रुपमा बजार अनुगमन र निरिक्षण गर्न नसकेको उनको भनाइ छ ।

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले आम उपभोक्ताले बजारमा सरकार छ भन्ने अनुभव नै गर्न नपाएको बताएका छन् । विश्व उपभोक्ता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले आफ्नो मन्त्रालयले चाहे जस्तो काम गर्न नसकेकै कारण उपभोक्ताले सरकार भएको अनुभव गर्न नपाएको बताए ।

कम्युनिस्ट पार्टिको दुई तिहाइको सरकार हुँदा पनि उपभोक्ताले राहतको महसुस् गर्न नपाउनु गम्भीर भएको भन्दै आफ्नो तर्फबाट चाहेरपनि प्रभावकारी काम गर्न नपाएको गुनासो पोखे । तर, कस्को र के कारणले काम गर्न नपाएको भन्ने विषयमा उनले खुलाउन चाहेनन् । अहिले ब्यापारी, उद्योगी, उपभोक्तावादी र मन्त्रालयबीच विश्वास टुटेको बताए । उनले बजार अनुगमनमा सहमति भएर बजारमा निस्कने बेला सौचालयमा गएर खबर गर्ने प्रवृत्ति सबै पक्षमा रहेको बताए । जस्का कारण प्रभावकारी रुपमा बजार अनुगमन र निरिक्षण गर्न नसकेको उनको भनाइ छ ।

उनले सरकारले मन्त्री परिवर्तन गर्ने हल्ला चलेसँगै कर्मचारीहरुले टेर्न छोडेकोसमेत बताए । ‘पछिल्ला केही दिनहरुमा मन्त्री मण्डल परिवर्तनका कुराले कर्मचारीले टेर्न छोडेका छन् ।’ मन्त्री यादवले भने, ‘झन मेरो त १ नम्बरमै नाम छ, किन मेरो कुरा मान्नु ’। मन्त्री यादवले आफू मन्त्रीमा नरहेपनि जनप्रतिनिधिको रुपमा उपभोक्ताको पक्षमा वकालत गरिरहने बताउँदै सबै उपभोक्तावादी संस्थाहरुलाई महासंघको रुपमा विस्तार गर्न आग्रह गरे । महासंघको रुपमा एक भएर काम गर्न सके उपभोक्ताको विषयमा धेरै विषय उठाउन सहज हुने उनको सुझाब रहेको छ । उनले आफ्नो पद रहेपनि नरहेपनि लगानी सम्मेलन पछि बृहत भेला राख्ने बताए ।

यसैबीच उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सबै स्थानीय तहमा उपभोक्ता सूचना केन्द्र स्थापना गर्न माग गरेका छन् । आम उपभोक्ताले सहज रुपमा उजुरी दिन सहज होस् भन्ने उद्धेश्यले केन्द्रीकृत अधिकारलाई विकेन्द्रकृत गर्न सरकारलाई सुझाव दिएका हुन् ।

अहिले उपभोक्ताहरुले उजुरी दिन वाणिज्य विभागमै धाउनु पर्ने अवस्था रहेको र सबै उपभोक्तालाई यस विषयमा जानकारी नभएको कारण स्थानीय तहमा सूचना केन्द्र राख्नु पर्ने उनको भनाइ छ ।