चार वर्षदेखि चोर्न पल्किएको पोद्दार समूह, जसले उपत्यकाका दर्जनौं सटर फोड्यो

पोद्दार समूहका नाइके पारसले चोरेरै काठमाडौंमा जग्गा जोडेको सूचनासमेत आएको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पोद्दार समूहका चार जना फरार छन्, उनीहरुको खोजी जारी छ, काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले भने, ‘प्रहरीले पहिलो पटक यस्तो समूह पक्राउ गरेको हो ।’

काठमाडौं । घर बनाउने कामका लागि करिब ५ वर्षअघि नेपाल आएका भारत मोतिहारीका ३२ वर्षीय पारसप्रसादले केही समय नेपालमा बनाउँदै गरेको घरका धारा बनाउने तथा बाथरुम बनाउने काम सुरु गरे ।

पासरलाई घर बनाउँदा प्रयोग हुने हार्डवेयर सामानबारे राम्रो ज्ञान भयो । त्यसपछि उनले काठमाडौंमै काम गर्ने भारतीयको एउटा समूह बनाए । चोरी गर्नकै लागि समूह बनाए । त्यसको नाम पनि राखे– पोद्दार व्यापारी समूह ।

पारसले एक जना नेपाली र बाँकी सबै भारतीयको समूह बनाए । त्यसपछि चोरी गर्न थाले । चार वर्ष भइसक्यो उनले चोर्न थालेको । प्रहरीका अनुसार पारससँग ७ जनाको समूह छ, जसमा ६ जना भारतीय नागरिक छन्, भने एक जना नेपाली छन् ।

पारस समूहका सन्तोष पोदार र रामेछाप खनियापानीका ओमराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पोद्दार समूहले ४ वर्षयता काठमाडौं ललितपुर र भक्तपुरका हार्डवेयर पसलबाट सामान चोरी गरिरहेको छ ।

समूहले चोरी गरेको सामान राख्न पुरानो बानेश्वरमा एक घरमा फ्ल्याट नै भाडामा लिएर सामान जम्मा गर्ने गरेको थियो । पोद्दार समूहले चोरी गरेर जम्मा गरेको ७० लाख रुपैयाँभन्दा बढीको सामान प्रहरीले बरामद गरेको छ । त्यसैगरी प्रहरीले पोद्दार समूहको साथबाट ७० हजार नगद रुपैयाँ, एउटा भ्यान, एउटा ट्याक्सी र एउटा मोटरसाइकल बरामद गरेको छ ।

यसरी प्रहरी फन्दामा पर्यो समूह

फागुन २१ गते काठमाडौंको धुम्बाराहीस्थित कणप्रसाद चौलागाईंले सञ्चालन गरेको रिजन इन्टरप्राइजेज हार्डवेयर पसलमा चोरी भयो । चोरी भएको भोलिपल्ट चौलागाईं महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा उजुरी गर्न पुगे । उनको उजुरीपछि प्रहरीले अनुसन्धान थाल्यो ।

अनुसन्धानकै क्रममा प्रहरीले सीसीटीभी फुटेज हेर्न थाल्यो । त्यही क्रममा ट्याक्सीमा आएका चोरले चोरी गरेको प्रहरीलाई आशङ्का गर्यो । र प्रहरीले सो समयमा त्यो क्षेत्रमा चल्ने सबै ट्याक्सीको विवरण लिएर अनुसन्धान थाल्यो । त्यसमा पोद्दार समूहले चलाउँदै आएको ट्याक्सी फेलापर्यो र केरकार गर्दै जाँदा पक्राउ परेका ३ जनको पत्तो पायो ।

सुरुमा पक्राउ परेका पोद्दार समूहका ३ सदस्यले आफूलाई कुनै जानकारी नभएको भन्दै प्रहरीलाई भुलाउन खोजे । तर पनि प्रहरी उनीहरुको गोदमसम्म पुगिछाड्यो । पोद्दार समूहले चोरी गर्नकै लागि एउटा ट्याक्सी एउटा भ्यान र एक मोटरसाइकल खरिद गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ । पोद्दार समूहका ७ जनामा ४ फरार छन्, उनीहरुको प्रहरीले खोजी जारी राखेको बताएको छ ।

यसरी गर्थे चोरी

पोद्दार समूहका नाइके, पारसप्रसादलगाएत केही व्यक्ति बिहानै मोटरसाइकलमा निस्कन्थे । चिया खाँदै हार्डवेयर पसलको रेकी गर्थे । अनि साँझपख मात्र उनीहरुमध्ये ४ जना ट्याक्सी र तीन जना भ्यानमार्फत बिहान रेकी गरेका पसलतिर पुग्थे ।

दुई जनाले यसो बाहिरतिर हेर्ने र बाँकीले ताला काटेर पसलमा भएका महँगा हार्डवेयर सामान छानेर भ्यानमा राख्थे अनि सटर तानेर निस्कन्थे । उनीहरुले यसैगरी चोरी गर्ने थालेको चार वर्ष भयो । प्रहरीका अनुसार त्यसरी चोरी गरेका सामान उनीहरु पुरानो बानेश्वरमा भएको आफ्नो गोदाममा लगेर राख्थे ।

प्रहरीका अनुसार पोदार समूहको पहिलो रोजाइ हार्डवेयर पसल हो भने पाएमा उनीहरु सुनचाँदी पसलमा पनि चोरी गर्थ्यो । उनीहरुले चोरी गरेका सामान प्रायःजसो बनाउँदै गरेका घर र घरका धारा तथा बाथरुम बनाउनेहरुलाई सस्तोमा बेच्थे ।

प्रहरीका अनुसार एउटै धाराको २० हजार रुपैयाँ पर्नेलाई उनीहरु ७ सयमा किलोका दरले बेच्थे । आफ्नो समूहले भारतबाट सीधै सामान ल्याएर सस्तोमा दिने भन्दै उनीहरु काठमाडौंमा चोरी भएका सामान भक्तपुरमा बेच्थे भने त्यहाँ चोरी भएका सामान काठमाडौंमा बेच्थे ।

पोद्दार समूहका नाइके पारसले चोरेरै काठमाडौंमा जग्गा जोडेको सूचनासमेत आएको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पोद्दार समूहका चार जना फरार छन्, उनीहरुको खोजी जारी छ, काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले भने, ‘प्रहरीले पहिलो पटक यस्तो समूह पक्राउ गरेको हो ।’

यसअघि काठमाडौंमा सयौं चोर पक्राउ परे पनि पोद्दार समूह जोगिँदै आएको उनले बताए ।