ऊनीजन्य हस्तकलाको बजार राम्रो

महिला उद्यमी सङ्घ नेपाल, कास्की, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक सङ्घ र व्यापार तथा निकासी प्रवर्नधको संयुक्त आयोजनमा सञ्चालित १५ दिने ऊनीजन्य फेल्ट वस्तु उत्पादनसम्बन्धी तालिमको निरीक्षण गर्दै उनले वडा वडामा उद्यमीको एकाइ गठन गरेर आफूले पाएको रकमबाट महिला उद्यमशीलतामा प्रवर्नध गर्ने बताइन् । 

चिप्लेढुङ्गा । गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले आफ्नो भत्ता एवं सुविधालाई स्वरोजगार तथा उद्यमी महिलाको सिर्जनशील तालिमका लागि खर्च गरिने बताएकी छन् ।

महिला उद्यमी सङ्घ नेपाल, कास्की, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक सङ्घ र व्यापार तथा निकासी प्रवर्नधको संयुक्त आयोजनमा सञ्चालित १५ दिने ऊनीजन्य फेल्ट वस्तु उत्पादनसम्बन्धी तालिमको निरीक्षण गर्दै उनले वडा वडामा उद्यमीको एकाइ गठन गरेर आफूले पाएको रकमबाट महिला उद्यमशीलतामा प्रवर्नध गर्ने बताइन् ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले स्वरोजगार कार्यक्रम सुरु गरेकाले आफ्नो रुचि र क्षमतानुसारको तालिम लिएर आत्मनिर्भर हुन सहभागीलाई उनले आग्रह गरिन् । उद्यमी सङ्घका संस्थापक अध्यक्ष गुरुङले महिलामाथि हिंसा को कारण परनिर्भरता भएकाले आर्थिक सशक्तीकरणका लागि उद्यमशील बन्न अनुरोध गरिन् ।

सङ्घका अध्यक्ष काशी गुरुङले ऊनीजन्य पदार्थलाई रङ र साबुनको घोलमार्फत विभिन्न आकारमा ढालेर आकर्षक वस्तु तयार गरिने जानकारी दिए । विदेश निर्यात हुने हस्तकलाको सामग्रीभित्र पर्ने फेल्ट तथा ऊनीजन्य हस्तकलाका सामग्री आकर्षक भएकाले देशभित्र र बाहिर राम्रो बजार भएको बताइएको छ ।

तालिमका प्रशिक्षक पूजा कार्कीले कच्चा पदार्थ भेंडाको ऊन भए पनि नेपाली ऊन गुणस्तरीय हुन नसक्दा विदेशबाट आयातीत हुने बताइन् । “हामी कहाँको ऊन अलि जर्रो हुन्छ, सामान तयार गर्दा फिनिसिङमा समेत समस्या देखिन्छ । केमिकलबाट ऊनलाई नरम बनाएपछि मात्रै वस्तु उत्पादन गर्ने मिल्छ”, उनले भनिन्,“ उत्पादित सामानको बजारीकरणका लागि जोड दिने हो भने एक हजार रूपैयाँको लगानीबाट दश हजार आम्दानी गर्न सकिन्छ ।”

बेलायत, स्वीट्जरल्याण्ड, संयुक्त अरब इमिरेट्सलगायत मुलुकबाट कच्चा पदार्थ आयात हुने गरेको कार्कीले बताइन् । ऊनीजन्य पदार्थबाट निर्मित वस्तु बढी निर्यात हुने देशमा जर्मनी, डेनमार्क, जापान, अमेरिकालगायत मुलुक छन् । निर्यातित सामानमा झोला, जुत्ता, टोपी (ह्याट), फूलको झुप्पा, चरा, झुमर लगायत छन् । कास्की जिल्लामै पहिलो पल्ट सञ्चालित उक्त तालिममा १४२ महिलाको सहभागिता छ । रासस