चैत ८ देखि १० गतेसम्म फ्लोरा एक्स्पो

मेलामा ८४ ओटा स्टल रहनेछन् । मेला आयोजनाका लागि ४० लाख रुपैयाँ खर्च हुने लक्ष्य छ ।

काठमाडौं । चैत ८ देखि १० गतेसम्म २२औं फ्लोरा एक्स्पो हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा पुष्प तथा पुष्पजन्य वस्तुको प्रवद्र्धन, विस्तार, नयाँ प्रविधि अनुसन्धानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार तथा जनचेतना जगाउने उद्देश्यले मेला आयोजना गर्न लागिएको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मुख्य नारासहित फ्लोरिकल्चर एसोसिएसन नेपाल र प्रदेश ३ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत मेला आयोजना हुने भएको हो ।

पुष्प व्यवसायमा नयाँनयाँ प्रविधि र उपलब्धिसहितका जानकारी, मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बीउबिजन, ग्रिनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि, आधुनिक खेती प्रविधि र जैविक विषादीको प्रदर्शनी तथा बिक्री कक्ष पनि प्रदर्शनीमा रहनेछन् ।

मेलामा ८४ ओटा स्टल रहनेछन् । मेला आयोजनाका लागि ४० लाख रुपैयाँ खर्च हुने लक्ष्य छ । त्यस्तै, ६० लाख रुपैयाँको कारोबार हुने अपेक्षा रहेको फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । तीनदिने मेलामा करिब ५० हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा छ । मेलामा सहभागी पुष्प व्यवसायीबीच प्रतिस्पर्धा गराई विभिन्न विधामा पुुरस्कृत गर्ने आयोजकले जनाएको छ ।