एनसेलका विषयमा मलेसियाले पहिलोपटक भन्यो, ‘लगानी ग्यारेन्टी र दोहोरो कर सम्झौतामा छलफल हुनुपर्छ’

मलेसियाको परराष्ट्र मन्त्रालयका डेपुटी सेक्रेटरी जेनरल नुर्सिवान वीन जाइनल अविदिनले मलेसियास्थित नेपाली राजदूत उदयराज पाण्डेमार्फत एनसेलका विषयमा कुराकानी गरेका हुन् ।

काठमाडौ । सर्वाेच्च अदालतले मोबाइल सेवा प्रदायक एनसेल प्रालिसँग ७० अर्ब रुपैयाँ लाभकर उठाउन सरकारलाई परमादेश जारी गरेको एक महिनापछि मलेसियाले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

राजदूत भएर मलेसिया पुगेका उदयराज पाण्डेले पहिलो पटक मलेसिया सरकारको अधिकारीसँग नेपाली कामदार तथा नेपालमा हुन लागेको लगानी सम्मेलनका विषयमा कुराकानी गर्ने क्रममा मलेसियाको परराष्ट्र मन्त्रालयका डेपुटी सेक्रेटरी नुर्सिवान वीन जाइनल अविदिनले लगानीको वातावरणको कुरा गर्ने क्रममा एनसेलमाथि गरिएको बम प्रहार र करका विषयमा कुरा उठाएका थिए ।

सर्वोच्चले लाभ कर तिर्न एनसेलका नाममा परामदेश जारी गरेको एक महिनापछि मलेसियाले पहिलोपटक नेपाली अधिकारीसँग यस विषयमा कुरा गरेको हो । एनसेलमा मलेसियन कम्पनी आक्जियटाको ८० प्रतिशत स्वामित्व छ ।

मलेसियाको परराष्ट्र मन्त्रालयका डेपुटी सेक्रेटरी  अविदिनले मलेसियास्थित नेपाली राजदूत उदयराज पाण्डेमार्फत एनसेलका विषयमा कुराकानी गरेका हुन्  । पाण्डेले नेपाली कामदारको मुद्दालाई प्राथमिकताका साथ उठाउन खोजे पनि अविदिनले एनसेलका विषयमा बढी चासो राखेको स्रोतले बतायो ।

डेपुटी सेक्रेटरी जेनरलले राजदूत पाण्डेलाई नेपाल र मलेसियाबीच भएको दोहोरो कर सम्झौता र लगानी ग्यारेन्टीको सम्झौतामा थप छलफल गर्न आवश्यक रहेकोसमेत बताएको मलेसियास्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।