बैतडीको जिल्ला अस्पताल प्रविधिमैत्री बन्दै

बिरामीको नाम लेखाउने रसिददेखि स्वास्थ्य जाँचको प्रतिवेदन पनि कम्प्युटर प्रणालीबाटै तयार गर्न थालिएको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले बताए ।

बैतडी । जिल्ला अस्पताल बैतडी प्रविधीमैत्री बन्दै गएको छ । अस्पतालमा अहिले धेरै काम आधुनिक प्रविधिबाटै हुने गरेको छ । बिरामीको नाम लेखाउने रसिददेखि स्वास्थ्य जाँचको प्रतिवेदन पनि कम्प्युटर प्रणालीबाटै तयार गर्न थालिएको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले बताए ।

आधुनिक प्रविधिको प्रयोगले अस्पतालको सेवा छिटोछरितो र सहज भएको उनको भनाई छ । अस्पतालका काम कम्प्युटर प्रणालीबाट गरिँदा हातले लेखेर बिरामीलाई सेवा दिनुपर्ने अवस्था अन्त्य भएको उनले बताए । यो कार्यले सेवाग्राही र कर्मचारी दुवैलाई सजिलो भएको र आर्थिक पारदर्शिता पनि भएको छ ।

अस्पतालमा भिडियो एक्सरेका लागि पनि अहिलेको भन्दा गुणस्तरीय नयाँ उपकरण आएको तर जडान गर्न मात्र बाँकी छ भने विद्युतीय हाजिरी र इन्टरकम फोन पनि जडान गरिएको छ । अस्पताल प्रविधिमैत्री बन्दा सेवाग्राहीलाई सेवा लिन र कर्मचारीलाई सेवा दिन सजिलो भएको अस्पतालका मेडिकल अधिकृत डा.वसन्तराज जोशीले बताए ।रासस