एउटा फरार अभियुक्त, जसले ठग्न अनेक तिकडम गरे

यादवले पहिले व्यक्तिको मनसाय बुझ्थे । र सोहीअनुससार आफ्नो परिचय दिन्थे । २०७२ साल यादवले ठग्ने हतियार बनाए— भूकम्पलाई । भूकम्पपीडित कोटामा क्यानडा पठाइदिने भन्दै उनले सयौंलाई ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफू गृह मन्त्रालयको सहसचिव भएको र क्यानडा सरकारले भूकम्पपीडितलाई भिसा दिने नेतृत्व नै आफूले लिएको भन्दै उनले धेरै युवा समूहबाट मनलाग्दी रकम उठाए ।

काठमाडौं । २ वर्ष जेल बसेर निस्किएका एक ठगले विभिन्न आवरणमा धेरैलाई ठगेको पाइएको छ । रौतहट गौर नगरपालिका–५ का सत्येन्द्रप्रसाद यादव वीर अस्पतालको पूर्वकर्मचारी हुन् । सामान्य तहका रेडियोग्राफर। तर उनले आफूलाई विभिन्न पेसामा रहेको देखाएर सयौं बेरोजगार युवायुवतीलाई घर न घाटको बनाएका छन् ।

वीरबाट रिटायर्ड भएपछि उनले ठगी धन्दा थाले । विभिन्न व्यक्तिलाई विभिन्न प्रलोभन देखाएर लुट्ने उनको दैनिकी बन्न थाल्यो । त्यसपछि उनी २०६९ सालमा पुक्राउ परे । ठगी मुद्दामा उनी दुई वर्ष जेल परे । र पछि २० लाख रुपैयाँ धरौटीमा छुटे । त्यसपछि यादवले पुनः पुरानै धन्दा थाले, ठगी । अहिले उनले ठगेका ३० जना युवायुवती प्रहरी गुहार्दै आएका छन् ।

उनीहरुबाट यादवले २ करोडभन्दा बढी ठगी गरेको खुलेको छ । धरौटीमा छुटेर पुरानै पेसामा लागेका यादवलाई जिल्ला अदालत काठमाडौंले चैत १ गते ४ वर्ष जेल सजायको फैसला सुनाएकोे छ । उनले आफूलाई कसैसँग गृह मन्त्रालयको सहसचिव भने त कसैलाई पूर्वन्यायाधीश पनि भन्न भ्याए । कतिपयलाई क्यानडा पठाइदिन्छु भनी लाखौं रुपैयाँ ठगे ।

यादवले कतिलाई सरकारी वकिल पनि भने । त्यति मात्र होइन, वीरको सामान्य कर्मचारी रहेका उनले आफूलाई वीर अस्पतालको डाक्टर भन्न पनि भ्याए । फरकफरक परिचय दिएर यादवले सयांै युवायुवतीलाई ठगी गरेको उजुरी परेपछि प्रहरीले यादवलाई पक्राउ गरेको छ ।

यस्तो थियो ठग्ने काइदा

यादवले पहिले व्यक्तिको मनसाय बुझ्थे । र सोहीअनुससार आफ्नो परिचय दिन्थे । २०७२ साल यादवले ठग्ने हतियार बनाए— भूकम्पलाई । भूकम्पपीडित कोटामा क्यानडा पठाइदिने भन्दै उनले सयौंलाई ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफू गृह मन्त्रालयको सहसचिव भएको र क्यानडा सरकारले भूकम्पपीडितलाई भिसा दिने नेतृत्व नै आफूले लिएको भन्दै उनले धेरै युवा समूहबाट मनलाग्दी रकम उठाए ।

यादवले आफ्नो भागमा ३०–५० जनाको कोटा रहेको भन्दै उनीहरुसँग रकम उठाएका थिए । पीडितलाई विश्वास दिलाउन उनले ‘मन्त्रीका छोराछोरी त गएका छन् । यो कुरा बाहिर लैजानुहुँदैन, भष्टाचार मुद्दा लाग्छ, त्यसैले गृहका हामी कर्मचारीले गाप्य रुपमै पठाउने गरेका छौं’ भन्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यादवले पछि परिवार पनि लैजान मिल्ने र उतैको स्थायी बसोवाससमेत पाउने प्रलोभन पनि देखाएका थिए ।

यादवले पीडितबाट कुनै पनि प्रमाण नरहने गरी रकम लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरी अधिकारीका अनुसार यादवले पीडित पक्षले पछि मुद्दा गर्दा प्रमाण नजुटाओस् भनेर कुनै पनि प्रमाण नराखी रकम लिने गरेका थिए ।

‘हल्ला गर्ने विषय होइन, मैले तपाईंहरुलाई सुटुक्क मिलाइदिन खोजेको हुँ, आईएमई तथा बैङ्क खातामार्फत कारोबार गर्दा कहीँकतैबाट हल्ला भयो भने मलाई भ्रष्टाचारको आरोप लाग्छ र काम हुँदैन’, उनी भन्थे, ‘तपाईंहरुको भिसा पनि रद्द हुन्छ, गइसकेको मान्छे पनि फिर्ता हुनुपर्छ, हातमै कारोबार गर्नुपर्छ ।’ यस्तो उपाय अपनाई यादवले पीडितबाट रकम लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उजरी परेका ३० जनाबाट यादवले २ करोडभन्दा बढी रकम उठाएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होवीेन्द्र बोगटीले जानकारी दिए ।

२५ दिनअघि महानगरीय अपराध महाशाखाले पक्राउ गरेका यादवलाई काठमाडौं परिसरले ठगी मुद्दामा अनुसन्धान अघि बढाएको छ ।