पेट्रोलियम पदार्थको मूल्य बढेसँगै हवाइ भाडामा वृद्धि

नेपाल वायु सेवा सञ्चालक सङ्घले आन्तरिकतर्फको हवाइ भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएकाले हवाइ भाडा वृद्धि गरिएको सङ्घका अध्यक्ष पबित्रकुमार कार्कीले जानकारी दिए । नयाँ भाडादर सोमबारबाट कार्यान्वयनमा आउने सङ्घले जनाएको छ ।

‘तेलको मूल्यमा ४ रुपैयाँ वृद्धि भएपछि स्वत हवाइ भाडा वृद्धि हुन्छ,’ उनले भने, ‘हालसम्म ८ रुपैयाँ मूल्य बढेपछि मन्त्रालय तथा नागरिक उड्डयान प्राधिकरणको स्वीकृति लिइसकेकाे छ ।’

सङ्घका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमलेश वर्माले एयरलाइन्स व्यवसायी र क्यानका महानिर्देशकले मूल्य बढाउन सहमति जनाएकाे बताए ।

उनका अनुसार माउन्टेन फ्लाइट प्रतियात्रु ११ हजार २ सय ९५, काठमाडाैंबाट पोखराका लागि ४ हजार ८ सय ५५, भैरहवा ६ हजार २ सय २०, विराटनगर  ७ हजार ४ सय ८०, भद्रपुर  ८ हजार ९ सय ९०, भरतपुर  ३ हजार ५ सय ९०, नेपालगन्ज ९ हजार ५ सय ६०, जनकपुर ४ हजार १ सय १५ र तुम्लिङटार ५ हजार ८ सय ६५ रुपैयाँ लाग्नेछ ।