तीनदिने फ्लोरा एक्स्पाे सुरु, कृषि राज्यमन्त्री चौधरीद्धारा उद्घाटन

एक्सपोको उदघाट्न गर्दै राज्यमन्त्री चौधरीले स्वदेशी पुष्प खेती र व्यवसायले हजारौं सर्वसाधारणलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै धेरै हदसम्म गरिबी निबारणमा पनि उल्लेखनीय भूमिका खेलेको जानकारी दिइन् ।

काठमाडौं ।  राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि तीनदिने २२ औं फ्लोरा एक्सपो सुरु भएको छ । प्रदेश नम्बर ३ सरकारअन्तर्गतको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि ज्ञान केन्द्र ललितपुरको सहकार्यमा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले आयोजना गरेको उक्त एक्सपो( महोत्सव) को उदघाट्न संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका राज्यमन्त्री रामकुमार चौधरी(रोजिना) ले गरेकी थिइन् ।

एक्सपोको उदघाट्न गर्दै राज्यमन्त्री चौधरीले स्वदेशी पुष्प खेती र व्यवसायले हजारौं सर्वसाधारणलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै धेरै हदसम्म गरिबी निबारणमा पनि उल्लेखनीय भूमिका खेलेको जानकारी दिइन् ।

राज्यमन्त्री चौधरीले भनिन,‘अब पुष्प क्षेत्रले केही बिशेष अवसरमा आयात हुने पुष्पको दर पूर्ण रुपमा विस्थापित गरेर निर्यात पनि गर्नुपर्छ । यसका लागि राज्यले सकेसम्मको सहयोग उपलब्ध गराउन तयार छ । पुष्प उत्पादन गरेर बिक्री गर्नुका साथै पुष्पको औधोगिकीकरण गरी वैकल्पिक उत्पादन प्राकृतिक इत्र, रंग, मेकअपका सामग्री तथा आयुर्वेदमा आधारित औषधी पनि उत्पादन गर्नुपर्छ । यसले थप रोजगारीको अवसर सिर्जना गर्न सक्छ ।’

राज्यमन्त्री चौधरीले अपरिहार्य रुपमा कृषि तथा वन मन्त्रालय सहकार्य गरी पुष्प क्षेत्रको विकास र विस्तार गर्न आवश्यक रहेको जानकारी दिइन् । उनले पुष्प क्षेत्रको विकास र विस्तार भएपनि अनुसन्धानतर्फ भने अपेक्षित रुपमा काम हुन नसकेको स्वीकार गरिने । उनले भनिन,‘पुष्प क्षेत्रमा अब अनुसन्धान गर्न अत्यन्त आवश्यक छ, यसका लागि नेपाल कृषि अनुसन्धान परिषद(नार्क) लाई प्रत्येक प्रदेशमा उपस्थिति हुने गरी स्थानीय आवश्यकताको आधारमा बीउको विकास र अनुसन्धान गर्ने काम सुरु गर्न जिम्मा दिइएको छ ।’ मन्त्री चौधरीले किसानको वर्गीकरण गरी निकट समयमै युवा किसान रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको पनि जानकारी दिइन् ।

संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डा. युवकध्वज जिसीले पुष्प क्षेत्रलाई अहिले प्रादेशिक सरकारअन्तर्गत राखिएको जानकारी दिए । मुलुक संघीय प्रणालीमा गएपछि कृषिका विभिन्न क्षेत्रमा अहिले उत्पादन बृद्धिका लागि सुक्षम रुपमा काम गर्न लागिएको जानकारी गराउँदै सचिब जिसीले भारत वा अन्य मुलुकमा नेपालबाट निर्यात हुने पुष्पमा लाग्ने विभिन्न प्रकारका करसूचीबाट हटाउन अर्थ मन्त्रालयलाई सिफारिश गरिएको जानकारी दिए । मौलिक जातको नेपाली पुष्पको जगेर्ना गर्नुपर्ने जानकारी दिदैं सचिब जिसीले पुष्पमा मुलुकलाई आत्मनिर्भर बनाउन टिस्सु कल्चर र आधुनिक प्रविधिलाई परिचालन गर्नुपर्ने सुझाव दिए ।

उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपालमा वार्षिक दुई सय करोड रुपैयाँको पुष्पको कारोबार हुने गरेको जानकारी गराए । भ्यालेन्टाइन डे, तिहार र जाडो याममा हुने पुष्पको आयात दरलाई विस्थापन गर्न जग्गा, प्रविधि, बीउ र भण्डारणको अभाव रहेको भन्दै श्रेष्ठले खेर गइरहेको र बाँझो अवस्थामा रहेका २५ सयदेखि ३५ सय उचाईको जग्गा सहुलियत दरमा भाडामा राज्यले उपलब्ध गराउन सके यो क्षेत्रले वार्षिक १० अर्बभन्दा बढी मूल्यको कारोबार गर्न सक्ने सुझाव दिए । श्रेष्ठले पुष्प व्यवसायी तथा किसानलाई कम्तिमा १० हजार रोपनी जग्गा उपलब्ध गराउनुपर्ने औल्याए ।

प्रदेश नम्बर ३ सरकारअन्तर्गतको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिब निर्मल गदालले आफ्नो मन्त्रालयले पुष्प खेती र व्यवसायलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए । पुष्प क्षेत्रलाई प्रवद्र्धन गर्न प्रादेशिक मन्त्रालयले पुष्प प्रवद्र्धन नीति तयार पार्नुका साथै चालु आर्थिक बर्षमा कार्यक्रम र बजेटसमेत बिनियोजन गरिएको गदालले जानकारी दिए ।

फ्यानका अध्यक्ष कुमारकसजु श्रेष्ठले कृषिजन्य बस्तुको प्रदर्शनी गर्न प्रदर्शनी गृहको चर्को अभाव रहेको औल्याए । देशभरमै एक मात्र भृकुटीमण्डप मात्रै प्रदर्शनी गृहको रुपमा रहेको र उक्त प्रदर्शनी गृह पनि १२ महिना अग्रिम रुपमा बुक भएका कारण कृषिजन्य वस्तुको प्रदर्शनी तथा महोत्सव आयोजना गर्न निक्कै कठिनाई भइरहेको अध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठले भने,‘परम्परागत शैलीमा काम गरेर यो क्षेत्रको उन्नती हुँदैन्, नयाँ सोच लिएर अघि बढे मात्रै यो क्षेत्र पनि आत्मनिर्भर हुन सक्छ ।’

एक्सपोको अवसरमा फ्यानले कृषि क्षेत्रसँग सम्बन्धित पुष्प तथा पुष्पजन्य व्यवसायबारेमा छापा सञ्चार माध्यमबाट समाचार सम्प्रेषण गरी उल्लेखनीय योगदान पुरयाए वापत अन्नपूर्ण पोष्टका पत्रकार राजेश बर्मालाई सम्मान पत्र प्रदान गरी सम्मान गरेको थियो ।

त्यस्तै मेलामा सहभागि भएका बिभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु बीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा उतिर्ण भएका व्यवसायीलाई पनि सम्मानित गरिएको थियो । महालक्ष्मी फ्लावर डेकोर, ओम नर्सरी, रेड रोज नर्सरी, अजिमा नर्सरी, फ्रेस फ्लावर हाउस, लालिगुरास पुष्प कृषक केन्द्र, इचंगुनारायण नर्सरीलगायतलाई सम्मान गरिएको थियो ।