विदेशी साझेदारीमा लक्की ग्रुपले ३९२ मेगावाटका ४ जलविद्युत आयोजना बनाउने, ६३ अर्ब लगानी गर्ने

ग्रुपले २६० मेगावाटको नलामखोला, ५० मेगावाटको तर्पखोला, ४६ मेगावाटको अपर वलेफी र ३६ मेगावाटको अपर वलेफी ए जलविद्युत आयोजना बनाउने तयारी गरेको हो । ४ ओटा आयोजना बनाउन ६३ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने संभाव्यता अध्ययनले देखाएको छ ।

काठमाडौं । व्यवसायिक प्रतिष्ठान लक्की ग्रुप जलस्रोतमा प्रवेश गरेको छ । ग्रुपले विदेशीसंगको साझेदारीमा ३९२ मेगावाट क्षमताको ४ जलविद्युत आयोजना बनाउने तयारी गरेको छ । ग्रुपले लगानीलाई विविधिकरण र विस्तार गर्न विदेशीसंगको साझेदारीमा ग्रुपले जलविद्युतमा लगानी बढाउन लागेको हो ।

ग्रुपले २६० मेगावाटको नलामखोला, ५० मेगावाटको तर्पखोला, ४६ मेगावाटको अपर वलेफी र ३६ मेगावाटको अपर वलेफी ए जलविद्युत आयोजना बनाउने तयारी गरेको हो । ४ ओटा आयोजना बनाउन ६३ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने संभाव्यता अध्ययनले देखाएको छ । ३६ मेगावाटको अपर वलेफी ए निर्माणधिन छ ।

विदेशी साझेदारीमा बनाउन ग्रुपले शुक्रबारदेखि राजधानीमा हुने लगानी सम्मेलनमा ४ वटै आयोजना प्रस्तुत गर्ने भएको छ । ग्रुपले विदेशीलाई ७० प्रतिशत भन्दा बढी स्वपुँजी (इक्विटी) र ऋण दुबै लगानीका लागि खुला गरेको छ ।

ग्रुपले प्रस्ताव गरेको नलामखोला आयोजना सन् २०२४ मा सम्पन्न गर्ने लक्ष्य राखेको छ । संभाव्यता अध्ययन भइरहेको आयोजना बनाउन झण्डै ४० अर्ब रुपैयाँ अर्थात ३५ करोड डलर लाग्ने अनुमान गरिएको छ ।

हेजिङ फण्डसहित कर्जाको ब्याजदर १२ प्रतिशत भएमा प्रतिफल १७ प्रतिशत हुने देखिएको छ । ऋण लगानी र स्वपुँजी (इक्विटी) लगानी दुबै खुला गरेको ग्रुपले जनाएको छ ।

यस्तै ७० प्रतिशतसम्म लगानी गर्न दिने तयारी ग्रुपको छ । आयोजनाको संभाव्यता अध्ययन जारी रहेको छ । लगानीको व्यवस्थापन, विद्युत खरिदबिक्री सम्झौता (पीपीए) सम्पन्न गरेर आगामी वर्ष सकेर २०२१ देखि निर्माण थाल्ने छ । आयोजना २०२४ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
यस्तै तर्पखोला आयोजना पनि विदेशी साझेदारीमा बनाउने लक्कीको तयारी छ । आयोजनाको संभाव्यता अध्ययन जारी रहेको छ । आयोजना बनाउन झण्डै ८ अर्ब रुपैयाँ अर्थात ७ करोड ७० लाख डलर लाग्ने देखिएको छ । प्रतिफल १७ प्रतिशत हुने देखिएको आयोजनाको सन् २०२० देखि भौतिक निर्माण सुरु गरी सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य छ ।

अपर वलेफी आयोजना बनाउन साढे ७ अर्ब रुपैयाँ अर्थात ७ करोड २५ लाख डलर लाग्ने देखिएको छ । वेलेफीको प्रतिफल १५.६ प्रतिशत छ । आगामी वर्षबाट निर्माण सुरु गरी २०२२ मार्चमा सक्ने लक्ष्य छ ।

अपर बलेफी ए हाल निर्माणधिन अवस्थामा छ । आगामी सन् २०२०को मार्चसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । लक्कीले शिवम सिमेन्ट, नुपलास्ट इन्डष्ट्रिज, लुम्बिनी विद्युत उद्योग र गणपति वनस्पत्ति उद्योग सञ्चालन गरिरहेको छ ।