जलविद्युत र सिमेन्टमा लगानी विस्तार गर्दै आईएमई ग्रुप, विदेशबाट २० अर्ब ल्याउने तयारी

दुबै परियोजना विकासमा २० अर्ब रुपैयाँ अर्थात १९ करोड ५० लाख अमेरिकी डलर लगानी प्रस्ताव गरिएको छ । दुबै आयोजनामा विदेशी साझेदारलाई ऋण र स्वपूँजी दुबै लगानी खुला गरिएको छ ।

काठमाडौं । नेपालको व्यवसायिक घरना आर्ईएमई ग्रुपले जलविद्युत र सिमेन्टमा लगानी विस्तार गर्न लागेको छ । ग्रुपले ५३.५ मेगावाटको मिडिल कालिगण्डकी जलविद्युत आयोजना निर्माण र आईएमई सिमेन्ट कारखाना सञ्चालनमा ल्याउने भएको हो ।

ग्रुपले दुबै परियोजनामा विदेशी लगानी जुटाउन शुक्रबारदेखि राजधानीमा आयोजना हुन लागेको लगानी सम्मेलनमा प्रस्तुत गर्ने भएको छ । दुबै परियोजना विकासमा २० अर्ब रुपैयाँ अर्थात १९ करोड ५० लाख अमेरिकी डलर लगानी प्रस्ताव गरिएको छ । दुबै आयोजनामा विदेशी साझेदारलाई ऋण र स्वपूँजी दुबै लगानी खुला गरिएको छ ।

मिडिल कालिगण्डकी आयोजना बनाउन झण्डै १० अर्ब रुपैयाँ अर्थात ९ करोड ५० लाख डलर र सिमेन्ट कारखाना स्थापना गर्न १० करोड डलर अर्थात साढे १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको हो । जलविद्युत आयोजना हाइड्रो सर्पोटमार्फत निर्माण हुने भएको छ । सिमेन्ट आईएमईमार्फत हुने छ ।

हेजिङ लागत समेत गरी १२ प्रतिशत ब्याजदरमा लगानीकर्ताले १८.५ प्रतिशत प्रतिफल पाउने छ । म्याग्दी जिल्लाको तातोपानी बजारमा रहने आयोजनाको विस्तृत इन्जिनियरिङ (डीपीआर) र वातावरणीय प्रभाव मूल्याँकन (इआईए) को काम सकिएको आयोजनाले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) र विद्युत उत्पादन अनुमतिपत्र लिने तयारी आयोजनाको छ । यस्तै जग्गा प्राप्तिको काम प्रक्रियामा रहेको छ । आयोजना सन् २०२३ मा सक्ने लक्ष्य तय गरिएको छ ।

यस्तै सिमेन्टको माग पुरा गर्न झण्डै साढे १० अर्ब रुपैयाँ लगानीमा क्लिकरसहित सिमेन्ट उत्पादन गर्ने उद्योगको तयारी छ । हेजिङ लागत समेत गरी ब्याजदर १२ प्रतिशत भएमा उद्योगले लगानीकर्तालाई २० प्रतिशतसम्म प्रतिफल दिने देखिएको छ । कारखाना नवलपरासीको मध्यविन्दु नगरपालिका र खानी मदनपुर निस्ती गाउँपालिका पाल्पामा रहने प्रस्ताव गरिएको छ ।

मुलुकमा पुर्वाधार निर्माण तिव्र गतिमा बढेको भन्दै दैनिक ४० हजार टन सिमेन्ट आवश्यक पर्ने आधारमा उद्योग स्थापानमा गर्न लागेको हो । सिमेन्टमा लगानी जुटाउन १ वर्ष र काराखाना निर्माणमा २ वर्ष लाग्ने देखिएको छ ।

आईएमई ग्रुपले साझेदारीमा ४२ मेगावाटको मिस्त्रीखोला, २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । ग्रुपले चन्द्रागरीमा केवलकार, बैंक तथा वित्त, बीमा, पर्यटन, लगायत क्षेत्रमा लगानी रहेको छ ।