रनरको बहुप्रतीक्षित २०० सीसीको हक मोटरबाइक नेपाली बजारमा

यो मोटरसाइकल अफरोडमा चलाउन अत्यन्तै भरपर्दो र सजिलो रहेको कम्पनीले जनाएको छ ।

काठमाडौं । बङ्गलादेशको मोटरबाइक उत्पादक कम्पनी रनर अटोमोबाइल्सको नेपालका लागि आधिकारिक विक्रेता रमन मोटर्सले रनर हक २०० सीसीको डर्ट मोटरसाइकल भित्र्याएको छ ।

१ सय ९८ दशमलव ३ सीसी इन्जिन रहेको मोटरसाइकलले ७५०० आरपीएममा १२.७ हर्स पावर र ५५०० आरपीएममा १४.५ एनएमको टर्क दिने कम्पनीको भनाइ छ । यो मोटरसाइकल अफरोडमा चलाउन अत्यन्तै भरपर्दो र सजिलो रहेको कम्पनीले जनाएको छ ।

नेपाली भूभाग सुहाउँदो डर्ट मोटरसाइकल विगत तीन महिनादेखि नेपालका विभिन्न क्षेत्रका अपठ्यारोे र समथल भूभागमा परीक्षण गर्दा उत्कृष्ट नतिजा पाइएको कम्पनीको दाबी छ । रमन मोटर्सका देशैभर रहेका २२ ओटा डिलरमार्फत एकैसाथ बिक्री गर्ने योजनाका साथ सर्भिस सेन्टर र स्पेयर पार्ट्सको सम्पूर्ण तयारी पूरा भएको रमन मोटर्सका जनरल म्यानेजर विनोद थापाले बताए ।

रमन मोटर्सका बिजनेस डेभलपमेन्ट हेड सन्तोष न्यौपानेले हाई ग्राउन्ड क्लियरेन्स हुनुका साथै आरामदायी सिट भएको हक मोटरसाइकल पहाडी तथा कठिन बाटोमा पनि सहजै कन्ट्रोल गर्न सकिने बताएका छन् । हाल २०० सीसीको रनर हक रातो रङ्गमा उपलब्ध भए पनि निकट भविष्यमा अन्य रङ्गमा पनि उपलब्ध हुने कम्पनीको भनाइ छ ।

रमन मोटर्सले यो मोटरसाइकल ३ लाख ९९ हजार रुपैयाँ पर्ने जानकारी दिएको छ । नेपालमा रनर कम्पनीका विभिन्न २०० सीसीसम्मका बाइक बिक्री वितरण गर्दै आएको छ । रनर बङ्गलादेशको प्रतिष्ठित मोटरसाइकल कम्पनी हो ।