हुवावेका उपकरणमा ठूलो समस्या पहिचान गरेको बेलायतको भनाइ

सरकारको हुवावे साइबर सुरक्षा मूल्याङ्कन केन्द्र (एचसीएसईसी)ले निकालेको वार्षिक खोजी प्रतिवेदनमा हुवावेको इन्जिनियरिङ प्रक्रियामा थप महत्त्वपूर्ण प्राविधिक समस्या पहिचान भएको उल्लेख छ ।

एजेन्सी । बेलायतले चिनियाँ टेलिकम कम्पनी हुवावेको इन्जिनियरिङ प्रक्रियामा ठूलो समस्या पहिचान गरेको बताएको छ । मंगलबार प्रकाशित बेलायती सरकारको प्रतिवेदनमा त्यसले देशको दूरसञ्चारमाथि नयाँ जोखिम निम्त्याउने उल्लेख छ ।

सरकारको हुवावे साइबर सुरक्षा मूल्याङ्कन केन्द्र (एचसीएसईसी)ले निकालेको वार्षिक खोजी प्रतिवेदनमा हुवावेको इन्जिनियरिङ प्रक्रियामा थप महत्त्वपूर्ण प्राविधिक समस्या पहिचान भएको उल्लेख छ ।

मोबाइल नेटवर्कको नयाँ पुस्ता ‘फाइभ जी’का लागि उपकरण बनाउन सबैभन्दा अगाडि रहेको हुवावे कम्पनीबाट अहिले केही पश्चिमा मुलुक त्रसित छन् । ती मुलुकले चीनले आफ्नो संवेदनशील सञ्चार र पूर्वाधारमा पहुँच पुर्याउन सक्ने आशङ्का गर्दै यसका सामग्रीलाई देशमा प्रतिबन्ध पनि लगाइसकेका छन् ।

हुवावेका प्रवक्ताले बिहीबार एएफपीसँग कुरा गर्दै कम्पनी यस विषयमा धेरै गम्भीर रहेको बताउँदै त्यस्तो कमजोरीको क्षमता सुधारका लागि काम गर्ने बताएका छन् ।

उक्त एचसीएसईसीले हुवावेका उपकरणमा देखिएका त्यस्ता समस्या चिनियाँ सरकारको हस्तक्षेपको परिणाम भएको आफूलाई विश्वास नलागेको बताएको छ । साथै सो केन्द्रले पछिल्लो वर्ष हुवावेमा पठाएको गुनासालाई कम्पनीले सम्बोधन गरेर कुनै उपचार नगरेको बताएको छ ।

एचसीएसईसी केन्द्र २०१० मा स्थापना भएको हो । यसको मूल उद्देश्य देशको संवेदनशील राष्ट्रिय पूर्वाधारमा हुवावेको संलग्नताबाट उत्पन्न खतरालाई कम गर्नु हो । बेलायत सरकारको मातहतमा रहेको सो केन्द्रमा बेलायती साइबर सुरक्षा एजेन्सीका अधिकारी, बेलायती दूरसञ्चर क्षेत्रका प्रतिनिधि र हुवावेकै शीर्ष कार्यकारी छन् ।