भारतीय ब्रान्ड बजाजका मोटरसाइकल नेपालमा नै उत्पादन

भारतीय मोटरसाइकल ब्रान्ड बजाजका मोटरसाइकल नेपालमा नै उत्पादन भैरहेको छ । नेपालका सडकमा बजार हिस्सा बढाउँदै लगेको बजाजका मोटरसाइकललाई नेपालमा नै आधिकारिक बिक्रेता रहेको गोल्छा अर्गनाइजेशनअन्तर्गतको हुलास अटो क्राफ्टले उत्पादन थालेको हो ।

एक बर्षअघिदेखि नवलपरासीको परासीमा कम्पनीले बजाजका मोटरसाइकलको एम्सेबल उद्योग लगाएर नेपालमा नै उत्पादन थालेको हो । लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई नेपालमा लगानी वातावरणका विषयमा जानकारी दिदैं अर्गनाइजेशनका कार्यकारी निर्देशक तथा उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बजाजका विभिन्न मोडल उत्पादन भैरहेको जानकारी दिए ।

‘हामीले परासीमा दैनिक ३ सय मोटरसाइकल एम्सेबल गरेर उत्पादन थालेका छौं र त्यहाँ एक हजारले रोजगारी पाइरहेका छन्,’ गोल्छाले भने । ‘नेपालमा सवारीसाधनको एसेम्बल प्लान्टका लागि सम्भावना व्यापक छ, यसमा लगानीकर्ता आश्वस्त हुनुस् ।’