उक्त भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्त्वपूर्ण छलफल भयो । भेटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताइन् । उनले नेपालको पानी त्यसै खेर गैरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराइन् ।
काठमाडौं । खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच आज मङ्गलबार खानेपानी मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटघाट भयो ।
उक्त भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्त्वपूर्ण छलफल भयो । भेटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताइन् । उनले नेपालको पानी त्यसै खेर गैरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराइन् ।
मन्त्री मगरले भनिन्, ‘पानीको स्रोत सदुपयोग गरेर स्प्रिङ वाटर निर्यात गर्ने विषयमा मेरो ध्यान बढी केन्द्रित छ । कतार सरकारसँग सहकार्य गरेर अघि बढ्न पाए अझ राम्रो हुन्थ्यो । म एकदम उत्साहित छु ।’
स्प्रिङ वाटर निर्यात गर्ने विषयमा दुवै देशका प्रतिनिधिबीच थप छलफल गरेर अघि बढ्ने मन्त्री मगरले बताइन् । त्यस अवसरमा मन्त्री मगरले नेपाल र कतार सरकारबीच समझदारी गर्ने विषयमा प्रक्रिया अघि बढाउन खानेपानी विभागका महानिर्देशकलाई निर्देशन दिइन् । सोही भेटघाटमा सहभागी भएका विभागका महानिर्देशक सुनिलकुमार दासले स्प्रिङ वाटर निर्यात गर्ने विषयमा विभागले अब छिटै विस्तृत अध्ययन अगाडि बढाउने र दुवै देशबीच सम्झौताको मस्यौदा तयार पार्ने बताए ।
नेपालका लागि कतारका राजदूत अल हेलले नेपालको पानी सफा र स्वच्छ भएकाले कतारमा यसको बजार राम्रो हुने स्पष्ट पारे । नेपालको पानी पिउन कतार आतुर रहेको राजदूत हेलले बताए । उनले भने, ‘कतारलाई ग्यास र तेलको अभाव छैन, तर शुद्ध पिउने पानीको भने समस्या छ । भोलिका दिनमा पानीको समस्या आउने हामीलाई चिन्ता छ । त्यसैले नेपालको पानी कतार लैजाने विषयमा दुवै देशका सरकारबीच समझदारी गर्नु अति आवश्यक छ ।’
उनले अरु देशको भन्दा नेपालको पानी स्वच्छ र प्राकृतिक मिनरलयुक्त रहेको धारणा राखे । नेपालबाट पानी निर्यात गर्ने विषयमा थप छलफल गरिसकेपछि सहमतिमा हस्ताक्षर गर्न कतार सरकार तयार रहेको उनको भनाइ छ ।